चिलिङ भ्याटले आम्दानी बढ्यो

सञ्जय रानाभाट २०७८ कार्तिक २ गते १९:४८

पोखरा ।
कास्की ७ रुपा गाउँपालिका घर भएका रामचन्द्र सुवेदी २०३८ सालदेखि किसानी पेसामा छन् । उनले कृषि पेसाबाटै छोराछोरीलाई जागिरे बनाइसकेका छन् । ६० वर्ष लागेका सुवेदीले घरमा अझै २ गाई, १ भैंसी, ७ बाख्रा पालेका छन् । गाउँमै ०३८ सालमै चिलिङ भ्याटसँग जोडिएदेखि उनले कृषि पेसा छोडेका छैनन् । त्याे बेलादेखि नै उनले दूध बेच्दै आएका छन् ।


पालिकामा सुजल फुड र वडाको सहयोगमा चिलिङ भ्याट जोडिएपछि उनले व्यवस्थापकको रुपमा काम गरेका छन् । उनले त्यहाँ काममात्र पाएका छैनन्, उनको घरबाट उत्पादित दूधले पनि बजार पाएको छ । लामो समयदेखि घरमा उत्पादन भएको दूधले बजार पाएको थिएन । २०३७ सालमा जडान भएको दूध संकलन गर्ने चिलिङ भ्याट २०४६ सालपछि भने बन्द भयो । त्यसपछि चिलिङ भ्याट बन्द हुने र सञ्चालन हुने क्रम चलिरहेको थियो । भन्छन्, ‘चिलिङ भ्याट जोड्ने बिग्रने भइह्यो तर मैले भने गाईभौंसी पाल्न छोडेको थिइनँ ।’ त्यसयता गाउँमा चिलिङ भ्याट थिएन ।


अहिले भने सुजल फुड र गाउँपालिकाको सहयोगमा असोज दोस्रो सातादेखि गाउँमा चिलिङ भ्याट पुन सञ्चालन आएको छ । गाउँमा उत्पादन भएको दूध बिक्री हुन थालेको छ । उनले अहिले दैनिक ३ लिटर दूध गाउँपालिकाले खोलेको तालबेशी बहुउद्देश्यीय कृषक समूहको चिलिङ भ्याट केन्द्रमा लगेर दूध बेच्छन् । यसअघि उनले होटेलमा लगेर बेच्ने र नबिकेका बेला घरमै मोही खाने, दही निकाल्ने गर्थे । पछिल्लो समय भने उनले दूध बेच्नै छोडिदिएका थिए । गाउँमा चिलिङ भ्याट जोडिएपछि प्रतिलिटर ७० रुपैयाँसम्म पाउने गरेको उनी सुनाउँछन् । भन्छन्, ‘दूधको क्वालिटी हेरेर मूल्य पाएको छु, धेरै खसी छु ।’

Advertisement


गाउँका अर्का किसान बलराम बराल पनि अब भैंसी थप्ने योजनामा छन् । गाउँमै चिलिङ भ्याट आएपछि उनले पनि दैनिक घरमा बढी भएको दूध ल्याएर बेच्न थालेका छन् । पेसाले उनी शिक्षक भए पनि कृषिमा पनि छन् । घरमा २ गाई, १ भैंसी पालेका छन् । अहिले गाउँमै दूध बिक्री हुन थालेपछि उनी खुसी छन् । गाउँमा बाटो नराम्रो भएपछि बजारसम्म दूध पु¥याउन अप्ठेरो हुन्थ्यो । बाटो बिग्रिएर पालिकाभित्र उत्पादित दूध बजारसम्म पु¥याउँदा फाट्ने समस्या पनि उत्तिकै हुने गरेको उनी सम्झन्छन् ।


रुपा गाउँपालिकाको वडा नम्बर ७ मा तालबेसी बजारमा दूध संकलन केन्द्र वडाको सहयोगमा सुरु भएको वडाध्यक्ष दयासागर सुवेदीले बताए । वडाले दूध राख्ने भाडा र दूध जोख्ने डिजिटल तराजु दिएको छ । भन्छन्, ‘गाउँमा ५ वटा फर्म दर्ता भइसके, अरु दर्ता हुने सुरमा छन् ।’ गाउँमा गाइभैंसी पाल्ने कृषकलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको उनको दाबी छ । ‘अब पालिकाका ठाउँ ठाउँमा ७ वटा चिलिङ भ्याट राख्ने योजना वडाको छ । कृषकलाई प्रोत्साहन गर्न भैंसी कृत्रिम गर्भाधानमा सहयोग गरेका छौं । मेडिकल खर्च वडाले दिन्छ,’ उनले भने ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया