नगरी काम पुग्दैन खान, साँझ र बिहान

अनिष भट्टराई २०७८ कार्तिक ३ गते ११:४३


पोखरा ।
मालेपाटनका सन्तोष सुनार (१५)गत शनिबार पोखरास्थित लेकसाइड फुटट्र्याकमा भेटिए । हातमा हरियो रंगको थर्मस, केही प्लास्टिकका गिलास पनि । दाहिने हर चल्न गाह्रो भए पनि उनी बिदाका बेला सधैं यसरी नै लेकसाइड पुग्छन् । फुटट्र्याकमा ओहोरदोहोर गरिरहन्छन् । आएका मान्छेलाई चिया बेच्छन्, उठेको पैसा लगेर आमालाई दिन्छन् ।

बाराही माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्ने सन्तोष असोज १० देखि लगातार लेकसाइड आइरहेको बताउँछन् । विद्यालय बिदा नहुँदा भने उनी यसरी आउन पाउँदैनन्, पढ्न जानुपर्छ । पढाइ हुने दिन आउन चाहे पनि आमाले दिन्नन् ।
सन्तोषकी आमा गंगा (३३) पनि लेकसाइडमै भेटिन्छिन् । आमा ठेलामा चटपटे बेच्छिन् । छोरा घरिघरि आमानिर पुग्छन् । सन्तोषले आमा गंगालाई सघाउँछन्, केहीबेर भलाकुसारी गर्छन् । अनि फेरि लाग्छन्, आआफ्नै काममा ।


सन्तोष घरका जेठा छोरा हुन् । घरको आर्थिक अवस्था उति साह्रो राम्रो नभएपछि सानै उमेरमा संघर्ष गर्न बाध्य छन् । उनका बुबा ज्यालामजदुरी गर्छन् । भाइ सानै छन्, ८ वर्षका । बुबाआमाले काम गरिरहेपनि आर्थिक अवस्था मजबुत नबन्दा सन्तोष हातखुट्टा चल्न गाह्रो भए पनि बिदाका दिन काममै आउँछन् ।


शनिबार बेलुका भेटिएका उनले सो दिन ४ सय रुपैयाँमात्र कमाएको बताए । अघिल्लो दिन ६ सय रुपैयाँ हात पारेका थिए । उनले पैसा कमाएपनि आफूलाई केही किन्न मन नलाग्ने सुनाउँछन् । ‘घरमा गाह्रो छ, मैले आफैंले खर्च कसरी गर्नु ? ममीलाई अलिअलि सहयोग हुन्छ नि मैले खर्च नगरे,’ उनी परिपक्व सुनिए ।


जीवनको घामपानीसँगै भोगेका छन् । ३ जनाले नै काम नछाड्दासमेत यो परिवारलाई अभावले छाडेको दिन छैन । चिया बेचेर थर्मस राख्न आमाको ठेलानिर पुगे सन्तोष । ‘आज चिया खाने नै भेटिएनन् धेरै, चटपट खान्थे कि सोध्न जाम ?,’ सन्तोष आमासँग सोध्छन् । फुटट्र्याकमा राखिएका ठाँटीका मान्छेलाई सन्तोष चटपट खाने ? भन्दै सोध्न जान्छन् ।

छोरालाई काममा लगाउनु, गंगाको चाहना होइन, बाध्यता हो । सन्तोष यसरी आमासँगै हिँडेर काम गरिदिँदा गंगालाई थोरै भए पनि राहत पुग्छ । ‘जन्मँदै अलिकति खोट छ यसको, दाहिने हातखुट्टा चलाउन गाह्रो छ, अब नल्याए पनि घरमा झनै सास्ती छ,’ गंगा सुनाउँछिन् ।


गंगा अभाव–अभावकैबीच जन्मिइन्, हुर्किइन् । सिन्धुली फिक्कलकी गंगाको सानै उमेरमा बिहे गरेर पठाइयो । कारण, घरको गरिबी । १३ वर्षको हुँदा बिहे गरेकी गंगाले १४ वर्षमै बच्चा पाइन् । सानै उमेरमा बच्चा पाउँदा छोराको हालत केही खराब भएको अड्कल गंगाले काटिन् । ‘घरमा पहिलेबाट नै यस्तै (गरिबी) हो, सानैमा बिहे गरेर पठाइदिए, सानैमा बच्चा पाएँ, अहिले उसको हालत यस्तो छ,’ गंगाले सुनाइन् ।

गंगाको पनि दिन अहिले लेकसाइडमै बित्छ । बिहानै चिया बेच्न आइपुग्छिन्, ६ बजे तालछेउमा । दिउँसो ११ बजेसम्म चिया बेचेपछि मालेपाटनको डेरामा पुग्छिन् । खाना खाएर फेरि तालछेउ नै आउँछिन्, चटपटको ठेला लिएर । बेलुकी ८ बजेसम्म यसरी काम गरेपछि मात्र गंगा डेरा पुग्छिन् । दिनभर काम गरेर आए पनि गंगाको काम अझै सकिँदैन । कोठामा काम गर्नैपर्छ । खाना बनाएर पति, छोराहरुलाई खुवाउने, खाने र भाडा माझ्ने काम पनि सकाएपछि मात्र गंगाको दिन सकिन्छ । ‘यो काम अरुका लागि गरेपो दुख हुनु, घरकै लागि गरेकी हुँ, दुख लाग्दैन,’ गंगाले भनिन् ।


बडो दुखले हुर्काएको छोरा भएकाले पनि गंगाले सन्तोषलाई कुनै बन्धनमा बाँध्न चाहेकी छैनन् । खुला रुपले हिँड्न, डुल्न दिने र कहिल्यै कुनै कुरा गर्नुपर्छ भनेर दबाब नदिएको गंगाले दाबी गरिन् । गंगाले सन्तोषलाई जीवनमा के बनाउने भन्ने पनि सोचेकी छैनन् । सन्तोष आफैं जे बन्छन्, उही बन्न दिने गंगाको सोच छ । ‘यो गर, त्यो नगर भन्दा उसलाई झनै तनाव हुन सक्छ, जीवनमा हुर्कंदै जाँदा जे बन्छ, बनोस् । नराम्रो बाटोमा नलागे पुग्छ,’ गंगाले सुनाइन् । सन्तोषले जीवनमा आफू के बन्छु भन्ने अहिलेसम्म निधो गर्न सकेका छैनन् । उनको लक्ष्य के हो ? नादान जवाफ दिए, ‘पढ्छु अनि ठूलो मान्छे बन्छु । बाटोमा कति धेरै राम्रो गाडी चल्छन्, त्यस्तै गाडी चलाएर हिँड्न पनि मन छ ।’

अनिष भट्टराई

भट्टराई समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया