तिहारमा आतसबाजी रोक्न कास्कीका नागरिक अगुवाहरुको माग

समाधान संवाददाता २०७८ कार्तिक ३ गते २०:३४


पोखरा
नागरिक अगुवाहरुले आउँदो तिहारमा आतसबाजी र पटाका पड्काउने काम रोक्न जिल्ला प्रशासन कास्कीसँग माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्यलाई बुधबार ६ बुँदे ज्ञापनपत्र बुझाउँदै उनीहरुले उक्त माग गरेका हुन् ।


नागरिक समाज कास्कीकी संयोजक इन्द्र्रकमल मानन्धर, वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारी र नागरिक समाज कास्कीका प्रवक्ता गोकुलबहादुर कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्र सिडिओ अर्याललाई बुझाइएको थियो ।


उनीहरुले कास्की जिल्ला २०७३ सालमै पटाका निषेधित क्षेत्र घोषणा गरिएको ज्ञापनपत्रमा स्मरण गराएका छन् । उनीहरुले विद्यालय, मन्दिर, अस्पताल, खेलमैदान एवं धार्मिकस्थलदेखि १०० मिटर भित्रको दुरीभित्र मदिराजन्य एवं सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध गर्न माग गरेका छन् । महानगरले मुख्य चोकहरुमा ‘नो–हर्न’ क्षेत्र घोषणा गरेको हुँदा त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न सिडिओसँग उनीहरुले माग गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया