अन्तरजातीय बिहेकाे दुखान्त, १४ दिनसम्म शव उठेन

माइतीले हत्या आरोप लगाउदै कास्की प्रहरीमा जाहेरी दिएका छन्

सञ्जय रानाभाट २०७८ कार्तिक ४ गते १२:३५

पोखरा ।

दसैंको पहिलो दिन असोज २१ गते बेलुका करिब ९ बजेको समय । पोखरा २७ लेखनाथ घर भएकी बिना विक आफ्नै कोठामा झुण्डिएको अवस्थमा फेला परिन् । ६ महिना अघिमात्र गाउँकै सन्तोष कुमालसँग उनको अन्तरजातीय विवाह भएको थियो । कुमाल १९ वर्षका हुन् भने बिना १७ वर्षकी । उनीहरुको विवाह सन्तोषको परिवारले स्वीकारेको थिएन । घरकै छुट्टै कोठामा सन्तोष र बिना खानेबस्ने गर्थे ।


बिना र कुमाल एउटै स्कुल पढेका हुन् । उनीहरु स्कुल पढ्दादेखि नै प्रेममा थिए । परिवार स्रोतका अनुसार सन्तोषले कक्षा ८ पढेका हुन्, बिनाले १२ पढिन् । २÷३ वर्षदेखिको प्रेमलाई उनीहरुले वैशाखमा वैवाहिक सम्बन्धमा बदलेका थिए । सन्तोषले बिनालाई विवाह गरेर घर लगे, श्रीमती बनाए । अर्कै जातको भनेर बिनालाई कुमाल परिवारले बुहारी स्वीकारेन । सन्तोष र बिनाको सम्बन्ध जोडिएको ६ महिनामै बिनाको जिन्दगीको डोरी चुँडियो ।

Advertisement


बिना झुन्डिएको अवस्थामा भेटिइन् । तर माइतीले बिना आफै मरेको नभई परिवारले मारेको आरोप लगाएका छन् । त्यही कारण उनको अन्तिम संस्कार हुन सकेको छैन । शव अझै पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमै छ । त्यस बिना दिनभर काम गरेर बेलुका श्रीमान् र आफूलाई खान बनाएर कोठामै बसेको बिनाका ससुरा कुमार कुमाल बताउँछन् । ‘बुहारीले खान बनाएर छोरालाई कुरिरहेकी थिइन् । बेलुकी करिब ९ बजिसकेको थियो । अब त छोरा कोठामा आए कि भनेर आमा हेर्न जाँदा सासुले बुहारी झुन्डिएको देखिन्,’ उनले भने ।


माइती पक्षले छोरीको आत्महत्या नभई हत्या भएकाले दोषीलाई कारबाही नभई शव नबुझ्ने बताइरहेका छन् । माइतीले छोरीको आत्महत्या नभई हत्या भएको भन्दै कुमाल परिवारमाथि कारबाही माग गर्दै कात्तिक ३ गते बुधबार कास्की प्रहरीमा जाहेरी दिएको छ । बिनाका श्रीमान् सन्तोष भने २३ असोजदेखि नै प्रहरी नियन्त्रणमा छन् ।

Advertisement


पोस्टमार्टम रिपोर्टले भने हत्या नभई आत्महत्या भएको देखाएको इलाका प्रहरी कार्यालय डाँडाकोनाक, लेखनाथका प्रमुख (प्रहरी नायब उपरीक्षक) डिएसपी महेन्द्र मरासिनीले बताए । घटनामा जातीय विभेदसमेत जोडिएकाले थप अनुसन्धान भइरहेको उनले बताए । जातीयताको आधारमा छोरीलाई हेला गर्ने यातना दिने गरिएको हुँदा कारबाही हुनुपर्ने मागसमेत विक परिवारले दिएको जाहेरीमा छ ।


बिनाकी आमा कुमारी विकले भने छोरीले आत्महत्या गर्नै नसक्ने बताएकी छन् । ‘छोरीले सानासाना कुरा पनि माइतमा सुनाउँथी, त्यस्तो गर्न सक्थिनन् । दिनभर घरको काम धन्दा गरेर बसेकी छोरीले कसरी बेलुका आत्महत्या गर्न सक्छे ?’ उनले भनिन् । छोरीले भोलिपल्टलाई पनि मासु पकाएर बसेको भन्दै आफूलाई भिडिओ च्याटमा देखाएको समेत कुमारी बताउँछिन् । ‘छोरीलाई ज्वाइँले माया नै गर्थें, हामीले देख्दा पनि सम्बन्ध ठिकै थियो । तर, ज्वाइँको परिवारले भने सानो जातको भनी घरमा नभित्र्याएको,’ कुमारीले भनिन्, ‘किन परिवारले यसरी अन्तरजातीय विवाह अस्वीकार ग¥यो भनी छलफल गर्ने तयारीमा थियौं, एक्कासि यस्तो घटना भयो ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया