साढे २ करोड डोज खोप आउँदै

समाधान संवाददाता २०७८ कार्तिक ४ गते १३:०७

काठमाडौं ।
विभिन्न चरणमा गरी कोभिड १९ विरुद्धको २ करोड ६१ लाख डोज खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले साढे २ करोडभन्दा बढी डोज खोप नेपाल आउन लागेको जानकारी दिएका हुन् ।


कोभ्याक्स सुविधा अन्तर्गत खरिद गरेर, चीन सरकारबाट थप अनुदानमा र सरकारले सोझै खरिद गरेर करिब २ करोड ६१ लाख ५८ हजार ७ सय ६० डोज खोप विभिन्न चरणमा ल्याउन लागिएको उनले बताए । ‘थप केही खोप प्राप्त हुने क्रममा छन् । कोभ्याक्स सुविधा अन्तर्गत खरिद गरेर, चीन सरकारबाट थप अनुदानमा र सरकारले सोझै खरिद गरेर करिब २ करोड ६१ लाख ५८ हजार ७ सय ६० डोज खोप विभिन्न चरणमा आउँदै गरेको अवस्था छ,’ उनले भने ।


कोरोना भाइरसविरुद्धको खोप लक्षित जनस‌ंख्याभन्दा बढी नेपालीले पाइसकेका छन् । नेपाल सरकारले असोज मसान्तसम्म लक्षित जनसंख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो ।

Advertisement


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसंख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको उल्लेख गरेको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा सरकारले खोपको व्यवस्था पनि गरेको हो । मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले असोज मसान्तभित्र लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको जानकारी दिए ।
मन्त्रालयको तथ्यांकमा लक्षित वर्गमध्ये ४२.२ प्रतिशतलाई पहिलो मात्रा र ३३.५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य थियो । पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप लगाउने मन्त्रालयको योजना छ ।


महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७१० मात्रा खोप नेपाल आइसकेको छ । उनले बालबालिकालाई लगाउने फाइजर एक लाख ६२० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी गरिएको जानकारी दिए । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना ४० लाख र ६० लाख फाइजर खोप ल्याएर लगाउने तयारी गरेको छ । चीनबाट भेरोसेल खोप यही अक्टोबरमा १६ लाख मात्रा र पुससम्ममा ५९ लाख ३६ हजार ४०० मात्रा ल्याउने तयारी पनि थालेको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया