एन्फा टेक्निकल सेन्टरमा लगानी गर्ने प्रतिवद्धता

समाधान संवाददाता २०७८ कार्तिक ६ गते ११:३४


पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ मा प्रस्ताव गरिएको एन्फा टेक्निकल सेन्टर निर्माणस्थल शुक्रबार अवलोकन गरेका छन् ।


कास्कीमात्रै होइन, गण्डकीकै र नेपालकै लागि गौरव हुने गरी पोखरा नजिकै अखिल नेपाल फुटबल संघले एन्फा टेक्निकल सेन्टरको अवधारणा अघि सारेको हो । फिफाको लगानीमा बन्ने उक्त सेन्टरको प्रारम्भिक पूर्वाधारका लागि गण्डकी प्रदेश सरकारले पनि लगानी गर्ने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले जनाएका छन् ।


उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश समृद्धिको मुल आधार पर्यटन भएको र पर्यटनभित्र खेलकुदका गतिविधिलाई समेट्न सकिने भनाइ राखे । पोखराबाट नजिकै अनि हिमालको काखमा प्रस्ताव गरिएको टेक्निकल सेन्टर निर्माण भएमा पोखरा, गण्डकीमात्र होइन, नेपालकै लागि गौरव गर्न लायक हुने विश्वास उनले व्यक्त गरे । फुटबल खेल अहिले हरेक परिवारको रुचिको विषयमा भएकाले पनि यसको प्रवद्र्धनका लागि लगानी गर्न मन सानो गर्न नपर्ने उनको भनाइ थियो ।

Advertisement


उनले भने, ‘यो सेन्टरले पोखरा र माछापुच्छ्रेलाई विश्वसामु चिनाउने छ ।’ मर्दी र इदी खोलाको बीचमा रहेको खुला ठाउँमा सेन्टर प्रस्ताव गरिएको प्रदेशको क्षमता अनुसार तटबन्धका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।


एन्फका प्रमुख कार्यकारी अधिकृत गोकुल थापाले ३ सय ४२ रोपनी जग्गा २० वर्षका लागि भोगचलन गर्नेगरी सम्झौता भइसकेकोको जानकारी गराए । डिपिआर तयार भइसकेर वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर मन्त्रालयमा बुझाइसकेको भन्दै अब छिटै शिलान्यास हुने उनले बताए । अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय रहने गरी संरचना बनाउने प्रस्ताव पारित भएको छ ।

Advertisement


‘ड्रिम प्रोजेक्ट’ को रुपमा निर्माण गर्ने भनिएको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा ट्रेनिङ सञ्चालन गर्ने लक्ष्य राखिएको छ । ८० बालबालिकालाई अभ्यासका लागि पनि राख्ने योजना छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरेर सेन्टरलाई ४ चरणमा सक्ने तयारी छ । फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट उक्त सेन्टर बनाउने योजना एन्फाको छ । पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ प्रयोग गरिने प्रमुख कार्यकारी अधिकृत थापाले बताए ।


प्रस्तावित ठाउँ इदी र मर्दी खोलाको दोभानमा छ । हिउँदमा सानो हुने तर बर्खामा उर्लेर आउने मर्दी खोलाले कटान गर्ने भएकाले तटबन्धनको काम भने पहिले नै गर्नुपर्ने हुन्छ । यसमा फिफाले लगानी गर्दैन । तटबन्धका लागि गाउँपालिका र निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५०÷५० लाख रुपैयाँ गरी १ करोड रुपैयाँमा काम भइसकेको पालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी गराए । उनका अनुसार तटबन्धका लागि साढे ४ करोड रुपैयाँ आवश्यक पर्छ ।


गण्डकी प्रदेश खेलकुद परिषद अध्यक्ष तेजबहादुर गुरुङले नेपालकै लागि गौरवको यो योजना सफल पार्न सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले विभिन्न अड्चन बेहोर्दै परियोजना अहिलेको अवस्थामा आइपुगेको जनाए ।


एन्फा कास्की अध्यक्ष मिलन गुरुङले यो परियोजनालाई कमजोर बनाउन चारैतिरबाट आक्रमण भइरहे पनि आफूहरु निरन्तर लागिरहेकाले यो अवस्थामा आइपुगेको भनाइ राखे । कार्यक्रममा एन्फा कास्की सचिव रमेश कार्की, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द्र ढुंगानाले परियोजनाको महत्वका बारेमा बोलेका थिए ।


स्थलगत अनुगमनमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, प्रमुख सचिव डा. दामोदर रेग्मी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्य, प्रदेश खेलकुद पषिदका पदाधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधि सहभागी थिए ।

तपाईको प्रतिक्रिया