एमाले पोखरा महानगर कमिटी अधिवेशन

नेतृत्व सर्वसम्मत

सञ्जय रानाभाट २०७८ कार्तिक ११ गते २०:०१


पोखरा ।

Advertisement

नेकपा एमाले पोखरा महानगर कमिटीमा पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चुनिएका छन् । युवा नेता दिलीप न्यौपाने अध्यक्ष निर्वाचित भए । अरु ४ उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिएपछि न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।


न्यौपाने लामो समय विद्यार्थी राजनीतिमा थिए । अनरोस्ववियु कास्कीको अध्यक्ष भइसकेका न्यौपाने महानगर कमिटी पूर्वसचिव पनि हुन् । नेताहरु पृथ्वीसुब्बा गुरुङ, खगराज अधिकारी, जगत विश्वकर्मा, भीम कार्कीलगायतले युवालाई नेतृत्वमा ल्याउन सहमति जुटाउन पहल गरेका थिए । नेताहरुका आग्रहमा अरु उम्मेदवार पनि सहमत भएर मनोनयन फिर्ता लिएपछि न्यौपाने अध्यक्षमा सर्वसम्मत निर्वाचित हुन सफल भए ।


अध्यक्षमा न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडैल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिएका थिए । मोहन गुरुङ उपाध्यक्ष निर्वाचित भए । गुरुङ साविक लेखनाथ नगर कमिटीको अध्यक्ष थिए । अहिलेको महानगरपालिका अधिवेशन आयोजक कमिटीको साताअघि गठन हुँदा उनलाई सचिवको जिम्मेवारी दिइएको थियो । उपाध्यक्षमा उमा परियार, बैनबहादुर गुरुङ, राजकुमारी भुजेल र सुस्मिता केसी भट्टराईको पनि उम्मेदवारी परेको थियो । उनीहरु सबैले मनोनयन फिर्ता लिएपछि मोहन सर्वसम्मत भएका हुन् ।


पोखरा १६ का वडाध्यक्ष जीवन आचार्य सचिव भएका छन् । अर्का उम्मेदवार गोकर्ण अधिकारीले मनोनयन फिर्ता लिएपछि आचार्य सर्वसम्मत भए । एमाले महानगर कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव १/१ हुने व्यवस्था छ । उपसचिव २ जना हुन्छन् । उपसचिव पदका लागि भने १६ जनाको उम्मेदवारी परेको थियो । बाँकी १४ जनाले मनोनयन फिर्ता गरेपछि उपसचिवमा रामचन्द्र थापा र हरिमाया गुरुङ सर्वसम्मत निर्वाचित भए । थापा साविक कास्की ४ का सचिव थिए ।

Advertisement


उपसचिवमा सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले पनि उम्मेदवारी दिएका थिए ।


बिहीबार साँझसम्म सदस्यमा पनि सर्वसम्मति भएको छ । त्यसमध्ये महानगर कमिटीमा भौगोलिक तर्फबाट सदस्यहरु २६ जना निर्विरोध चयन भएका छन् । वडा नम्बर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, ३ बाट शशिधर पराजुली, ४ बाट इन्द्रकुमारी अधिकारी, ६ बाट विष्णुबहादुर भट्टराई, ७ बाट पुरुषोत्तम रेग्मी, ८ बाट ईश्वरप्रसाद सुवेदी, ९ बाट प्रकाश शर्मा, ११ बाट नारायणप्रसाद बास्तोला, १२ बाट वीरबहादुर थापा, १३ बाट कृष्णकुमारी गुरुङ, १५ बाट तोरणबहादुर बानियाँ, १६ बाट जगन्नाथ तिमिल्सिना, १७ बाट चिरञ्जीवी पोखरेल, १८ बाट तिलबहादुर जिसी, १९ बाट नवीन भण्डारी, २० बाट मोहनबहादुर केसी, २२ बाट खेमराज बराल, २३ बाट चेतबहादुर क्षेत्री, २४ बाट मनोहरि त्रिपाठी, २५ बाट वेदनाथ पौडेल, २७ बाट गणेशराज धमला, २८ बाट दिनेशबाबु खड्का, २१ बाट प्रमोदकुमार पौडेल, ३० बाट प्रेमराज बसौला, ३२ बाट विष्णुप्रसाद तिवारी र ३३ बाट चन्द्रप्रसाद पौडेल चयन भएका छन् । भौगोलिक तर्फ ३३ वडाका ४६ जनाको उम्वेदवारी परेको थियो । प्रत्येक वडाका १ जना सदस्य चयन हुने व्यवस्था विधानमा छ ।


जनजाति महिला सदस्यमा पनि सर्वसम्मत भएको छ । शान्ति शेरचन, चन्द्रा जिसी, सेतीमाया गुरुङ, पवित्रादेवी गुरुङ र शान्ति गुरुङ सर्वसम्मत भए । जनजाति पुरुष सदस्यमा कमल श्रेष्ठ, सफल लामा, मानबहादुर मगर र नगेन्द्रबहादुर कुमाल सर्वसम्मत भएका छन् ।


दलित खुलाबाट चन्द्रकिशोर गौतम, भीमबहादुर नेपाली, मेखबहादुर विक र रोहित नेपाली सदस्य भएका छन् । अल्पसंख्यक महिला सदस्य लज्जावती दुरा चुनिइन् । महिला अपांग सदस्यमा अन्जना केसी निर्वाचित भइन् । सम्झना थापा क्षेत्री महिला श्रमिक सदस्य भएकी छन् । नेकपा (एमाले)ले कास्कीका ३ पालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गरिसकेको छ । मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, अन्नपूर्णको अध्यक्षमा विवेक देवकोटा र रुपा गाउँपालिका कमिटी अध्यक्षमा सवाबक्स मियाँ निर्विरोध चयन भइसकेका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया