मन नअघाउने अन्नपूर्ण

अन्नपूर्ण आधार शिविर ।
घाम झुल्केपछि सुनजस्ता देखिन्छन्हिमाल । बिस्तारै सुनको जलप हटाएर चाँदी झै टल्कन्छन् । त्यही हिमालको जरैमा छ सानो उपत्यका । उपत्यकामा अर्धकदको एउटा सुनौलो सालिक छ । अनि सालिक वरपर हिमाललाई पृष्ठभूमिमा राखेर सेल्फी खिचिरहेका हुन्छन् देशी÷विदेशी पर्यटक ।

हो, यो अन्नपूर्ण हिमालको फेदी अर्थात् अन्नपूर्ण आधार शिविर हो । हिउँ नै हिउँका पहाडले घेरिएको अनकन्टार ठाउँ अचेल पर्यटकको चहलपहलले गुल्जार छ । सुनौलो सालिक छेउ र वरिपरि देखिन्छन् पर्यटक । सालिक कुनै नेपाली नागरिकको होइन, फ्रान्सेलीको हो । मौरिस हर्जोग, जसले अन्नपूर्ण हिमालको पहिलोपटक आरोहण गरेका थिए, तिनैको सालिक केही वर्षअघिमात्रै यहाँ राखिएको हो ।
हर्जोगलेसन् १९५० मा अन्नपूर्ण हिमालको सफल अरोहण गर्दा सर्वाेच्च शिखर सगरमाथामा पनि कसैको पाइला परेको थिएन । ३ वर्षपछिमात्रै तेन्जिङ र हिलारी सगरमाथामा पुगेका हुन् । विश्वका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये सबैभन्दा पहिला मौरिसले नै अन्नपूर्णमा पाइला टेके, त्यसैले आरोहणका हिसाबमा यो जेठो हिमाल हो ।

अरोहणपछि हर्जाेगले ‘ला अन्नापूर्ना फर्मिय उइ मिल’ भन्ने पुस्तक लेखे । ४० भन्दा बढी भाषामा प्रकाशित भइसकेको यो पुस्तक सन् २००० सम्म १ करोड १० लाग प्रति बिक्री भएको मानिन्छ । यो पुस्तक यतिसम्म बिक्री भयो कि कुनै समय अमेरिकी बजारमा बाइबलभन्दा बढी यसैको खोजी हुन्थ्यो । सम्भवतः विश्वमा सबैभन्दा धेरै बिकेको नेपाल सम्बन्धी पुस्तक हो त्यो । पुस्तकमा नेपाल र अन्नपूर्णबारे लेखिएको थियो । जुन पुस्तक पढेर नेपाल घुम्न आउनेहरु बढेका थिए । हिमाल चढ्न आउनेहरु बढेका थिए ।

हर्जाेगले अन्नपूर्ण हिमाल आरोहण गर्नु नै नेपालको पर्यटन विकासमा महत्वपूर्ण घुम्ती भयो । हर्जोग कालीगण्डकी किनारै किनार भएर म्याग्दी पुगेका थिए । त्यतैबाट अन्नपूर्ण हिमाल अरोहण गरेका थिए । उनले अन्नपूर्ण बेस क्याम्प अर्थात् एबिसी साउथबाट आरोहण नगरेपनि यस क्षेत्रको पर्यटन विकासमा उनको महत्वपूर्ण योगदान भएको कारण सालिक निर्माण गरिएको हो ।

सुरुका दिनहरुमा यस क्षेत्रमा आरोही मात्र आउँथे । विस्तारै फिरेन्तेहरु देखिन थाले । तर उनीहरुको लागि व्यवस्थित होटल थिएन । अन्नपूर्ण आधार शिविरमै चित्राको गोठ बनाएर सेवा सत्कार गरेको स्थानीय पर्यटन व्यवसायी राजकुमार गुरुङले बताए । सन् १९८६ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि यस क्षेत्रको पर्यटन व्यवस्थित हुन थालेको गुरुङले बताए ।
अन्नपूर्ण बेस क्याम्पको सुन्दरता अवर्णनीय छ । गर्मीको उकुसमुकुस छल्न एबिसी पुग्नेहरुलाई हिमालमा ठोक्किएर फर्केको चिसो हावा हम्किन आउँछ । सहरको कोलाहालले दिक्क बनेकाहरुको मन यहाँको प्राकृतिक छटाले आनन्दित तुल्याउँछ ।प्राकृतिक सौन्दर्यले भरिपूर्ण विश्वप्रसिद्ध अन्नपूर्ण हिमालको आधार शिविर कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ११ मा पर्छ ।
लगभग ४२०० मिटर उचाइको अन्नपूर्ण बेस क्याम्प अत्यन्त सुन्दर छ । सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउँदा मन फुरुंग हुन्छ । यहाँबाट अन्नपूर्ण, धौलागिरी, मनास्लु, गंगापूर्णा जस्ता हिमाललाई नजिकैबाट दृश्यावलोकन गर्न सकिन्छ । चारैतिरबाट हिमालले घेरेको खोंच पुगेपछि जो कोही मोहित हुन्छ ।

पर्यटक लोभ्याउने अन्नपूर्ण बेस क्याम्पबाट देखिने सूर्योदयको दृश्य प्रमुख हो । यही दृश्य हेर्ने आकांक्षा बोकेर बर्सेनि हजारौं पर्यटकहरु ठाडो उकालो चढ्छन् । अन्नपूर्ण बेस क्याम्प पुगेपछि जो कोही उकालो चढ्दाको थकाइ भुल्छन् ।
पोखराबाट अन्नपूर्ण बेस क्याम्प पुग्न ३ देखि ४ दिन लाग्छ । विश्वका उत्कृष्ट पदमार्गहरूमा पर्ने अन्नपूर्ण आधार शिविर पदमार्गमा बर्सेनी लगभग ३० हजार विदेशी पर्यटकहिँड्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्यांक अनुसार सन् २०१७ मा ३०७२४, सन् २०१८ मा ३३६८३ र सन् २०१९ मा झन्डै ३२०० पर्यटकले यस पदमार्गमा हिडेका थिए । कोभिड– १९ ले सन् २०२० ठप्प भएपनि पछिल्लो एक महिनाको तथ्यांक अनुसार २७०० आन्तरिक र ३०० विदेशी पर्यटक घुम्न आएका छन् ।

पद मार्गमा थुम्का, गुराँस फुल्ने जंगल, जंगली जनवारसंगको साक्षत्कार, कोइलीको मधुरवाणी, धानका बाला झुल्ने बेंशी, गोधूलि साँझमा देखिने सुर्यास्तको आकृति हेरेर जो कोही यस्ता प्रकृतिको अनुपम शृंखलामा लोभिन्छन् । यहाँका प्राकृतिक सौदर्यसँग जति रमाए पनि मन अघाउँदैन । उकालीहरुले मन थकाउँदैन ।
बिहान ब्युँझिदा आँखैअघि ठोकिन आउने हिमशृंखला, लतालहरा, खोलाखहरे, चराको चिरबिर आवाजघन्टी बजाउँदै ओहोरदोहोर गरिरहेका खच्चडका हुल, क्लान्त लयमा हिँडिरहेका देशीविदेशी पर्यटक अनि पहाड फोरेर निस्केका झरना हेर्दै हिँड्नु यो पदमार्गको खास खासियत हो । हिउँदमा हिउँको च्यादर ओढ्दा एबिसी साँच्चै सुन्दर देखिन्छ । सेताम्मे हिउँ पर्दा स्वर्गकै टुक्रा जस्तो देखिन्छ ।

कसरी पुग्ने ?
पोखरा बागलुङ सडक खण्डको नयाँपुलदेखि सुरु हुने पदमार्ग झन्डै ६७ किमीको छ । नयाँपुलबाट झिनुको उकालो हुँदै पहिलो दिन छोम्रोङ गाउँ पुग्न सकिन्छ । छोम्रोङमा पदयात्रीको विवरण टिपाउन एक्यापले पर्यटन सूचना केन्द्र स्थापना गरेको छ। त्यस्तै पदयात्रीलाई मौसम सम्बन्धी जानकारी पनि दिइन्छ । लगभग २१ सय ७० मिटर उचाइमा रहेको छोम्रोङ गाउँमा आधुनिक होटल र रेस्टुरेन्ट छन् ।

छोम्रोङबाट चिरिच्याट्ट परेका ढुंगे बाटो पछ्याउँदै गए सिनुवा पुगिन्छ । सिनुवाभन्दा माथि बस्ती छैन, सीमित होटल छन् । सिनुवाबाट बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छे« बेस क्याम्प हुँदै अन्नपूर्ण आधार शिविर अर्थात अन्नपूर्ण बेस क्याम्प पुगिन्छ । छोम्रोङबाट झन्डै २ घण्टाको उकालो चढेपछि सिनुवा पुगिन्छ। सिनुवाबाट बम्बु पुग्न साढे एक घण्टा लाग्छ । बम्बुबाट साढे एक घण्टामा दोभान र दोभानबाट २ घण्टा हिँडेपछि हिमालय पुगिन्छ । धेरैजसो पदयात्रीहरु दोस्रो दिन हिमालयमा रात बिताउँछन् । दोभानबाट माथि माछामासु लैजान मनाही छ।
हिमालयबाट खोंचै खोंच मोदी खोलालाई पछ्याएपछि ३ घण्टामा देउराली अनि देउरालीबाट २ घण्टामा माछापुच्छ«े बेस क्याम्प पुगिन्छ । माछापुच्छ«े बेस क्याम्प र एबिसीको दुरी २ घण्टाको छ ।


तपाईको प्रतिक्रिया