
पोखरा ।
बिरौटामा फूल खेती गर्दै आएका डिलबहादुर गुरुङका व्यस्त दिनहरु सुरु भइसके । किन कि तिहारले छोइसक्यो । उनको बगैंचा रंगीचंगी फूलहरुले धपक्क बलेको छ । तिनै फूल टिप्न र बजार पठाउन उनलाई अबका केही दिन भ्याइनभ्याई हुन्छ ।
हिजोआजैदेखि उनको बगैंचामा फूल किन्न आउनेहरुको धुइरो छ । फूलको खेती र व्यवसाय त बाह्रैमास चल्छ । तिहारको बेला भएकाले मखमली र सयपत्री फूलको मौसम र व्यापार जो छ ।
तिहारलाई लक्ष्य गरी उनले सयपत्री र मखमली लगाएका थिए । भाडाको जग्गामा उनले फूलखेती गरेका छन् । उनको नर्सरीमा ३ हजार माला पुग्ने मखमली फूल छ । सयपत्री पनि त्यस्तैत्यस्तै ।
फूल टिप्न र बेच्न उनको परिवारलाई अहिले चटारो छ । बिहानउठेदेखि रातिसम्म फूलमा मलजल हाल्ने, गोडमेल गर्ने उनको दैनिकी हुन्छ । कहिले काहिँ त उनी रातिराति चर्ट बालेर काम गर्छन् । यस काममा उनलाई श्रीमती र छोराछोरीको पनि साथ छ ।
७ रोपनीमा डिलबहादुरले फूलखेती गरेका छन् । अरु बेला मौसम अनुसारका फूल फुलाउँछन् । बेर्ना पनि उमार्छन् र बेच्छन् । यो वर्षमात्रै ४० हजार मखमली फूलका बेर्ना बेचिसकेको उनले सुनाए । तिहार लक्ष्य गरेर फूलखेती गर्नेहरुले नै ती बेर्ना लगेका हुन् । नेपाली मौलिक पर्व तिहारमा दिदीभाइ र दाजुबैनीका गलालाई शोभायमान बनाउने धेरैजसो माला भने भारतबाट भित्रने गरेको छ । तर डिलबहादुरहरुले गच्छेले भ्याएसम्म आयात घटाएका छन् ।
‘तिहारमै भारतबाट करोडैंको फूल भित्रन्छ । नेपालमै उत्पादन गर्न सके लगानी बाहिर जान्न,’ डिलबहादुर भन्छन् । यस वर्ष भने पोखराको ८० प्रतिशत आवश्यकता स्थानीय फूलले धान्ने गुरुङ बताउँछन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीका अध्यक्षसमेत रहेका गुरुङ कास्कीका ४० वटा फूल व्यवसायी रहेको बताउँछन् ।
‘केही समयअघि फूललाई व्यावसायिक खेती बनाउने कम थिए,’ उनले भने । कास्कीमा दसैं तिहारमा मात्र ३ करोडको फूलको व्यापार हुने उनी सुनाउँछन् । ‘पोखरामा तिहारे फूल प्रशस्त छ । तर अझै व्यवसाय बढ्नुपर्छ । व्यवसाय बढे प्रतिस्पर्धा बढ्थ्यो । यसपछि फूलको मूल्यपछि घट्थ्यो,’ उनले भने ।
फूलखेतीमा आम्दानीमात्र नभएर जोखिम पनि बढिरहेको उनी बताउँछन् । ‘मौसमले साथ दिए राम्रो हुन्छ । नदिए जोखिम पनि छ । अनुकुल मिले आम्दानी राम्रो हुन्छ, नत्र जोखिम,’ उनले भने, ‘मौसम अनुसार फूलखेती गर्नुपर्छ । चाडपर्वलाई मध्यनजर गर्नुपर्छ । उपभोक्ताको माग बुझ्नुपर्छ ।’
सरकारले समयमै बिउ उपलब्ध गर्न पहल गरिदिए फूलखेती फस्टाउने डिलबहादुर बताउँछन् । बिउ ढिला भए मौसमी फूलको व्यापारमा धक्का लाग्छ । जस्तो कि मखमली र सयपत्री फूल तिहारै उपलब्ध गराउनुपर्छ । ‘क्यालेन्डर हेरेर बेर्ना उमार्ने र बिक्री गर्ने गर्नुपर्छ । यस्तो नगरे नोक्सानमा परिन्छ,’ उनले भने ।
फूल सबै चाडपर्व र कर्मकाण्डहरु साथै आवश्यक हुने भएर यसको खेतीमा उनी लामो समयदेखि लोभिएका हुन् । ‘फूल व्यवसाय गर्न सके किन्न बारीमै व्यापारीको लाइन लाग्छ । उपभोक्ता बारीमै आउँछन् । बजार गइरहनुपर्ने पर्दैन,’ डिलबहादुर भन्छन्, ‘पोखरा जस्तो सहरमा त झनै फूल नभई हुँदैन । यस कारण पनि फूल व्यवसाय चल्छ ।’
एक घरमा एउटा गमलामा फूल लगाउन सके तिहारका लागि फूल बाहिरबाट ल्याउनै नपर्ने उनी बताउँछन् । बाँझो खेतलाई प्रयोग गरेर व्यावसायिक फूल खेती गर्नसक्नुपर्ने पनि उनको भनाइ छ । ‘भारतबाट आयात हुने फूल र माला रोकेर उत्पादन बढाउनतिर लाग्नुपर्छ,’ उनी भन्छन् ।
फूलखेतीमा लाग्नुअघि डिलबहादुरले जीवनमा धेरै काँडासँग जुधे । रोजगारीका लागि विदेश धाउनुप¥यो । ३ वर्ष उनले मलेसियामा बिताए । विदेशिनुको बाध्यता उनले बुझेका छन् । छोराछोरीलाई विदेश नपठाउने प्रण गरेका छन् । देशविदेशमा समस्याका काँडासँग जुधेपछि नै उनले फूलखेती रोजेका हुन् ।
राम्रो पढे, मेहेनत गरे नेपालमै गर्न सकिने उनी बताउँछन् । भन्छन्, ‘नेपाल जस्तो स्वर्ग अरु देश छैन । नेपालको पनि पोखरा जस्तो कुनै ठाउँ छैन । पोखराले मलाई लोभ्यायो त्यस कारण पोखरा बस्ने निधो गरेँ ।’
विदेशबाट फर्किएर उनले पोखरामा नर्सरी स्थापना गरे । परिवारसँगै बसेर मेहेनत गर्न पाउँदा उनलाई सन्तोष लाग्छ । ७ रोपनीको नर्सरीमा सयपत्री, गोदावरी, सुपारे मखमली, धुपी मनिप्लान्ट हुर्किरहेका छन् । विशेष त उनले बिउ लगाएर बेर्ना उमारेर बेच्छन् । पोखरा आसपासका मान्छेहरु बारीमै पुग्छन्, फूल हेर्न र बिरुवा लिन । फूल फुल्दा उनलाई पैसा फल्छ, राम्रो आम्दानी गरेरै परिवार धानेका छन् । वार्षिक ३ लाख भाडा तिरेर वार्षिक ५÷६ लाखसम्म नेपालमै आम्दानी गरिरहेका छन् ।
गोरखामा जन्मे हुर्केका डिलबहादुरले फूल खेती सुरु गरेदेखि १६ वर्षको अन्तरालमा ३÷४ ठाउँमा नर्सरी सारिसके । जग्गा भाडामा लिनुपर्ने हुँदा सरिरहनुपर्ने झन्झट उनको छ । अहिले पोखरा बिरौटामा रहेको नर्सरी ८ वर्षका लागि हो । यसपछि पनि उनी सरेर जानुपर्ने हन्छ । यस कारण पनि उनले राज्यले बाँझो खेतबारी सहुलियत मूल्यमा आफूजस्ता व्यवसायीलाई मिलाइदिनुपर्ने बताउँछन् । भन्छन्, ‘ठाउँ सार्दा १÷२ वर्ष मिलाउँदै जान्छ । नाफा आउने बेला छोड्नुपर्छ । राम्रो गर्छु भन्नेलाई राज्यले वातावरण मिलाइदिनुपर्छ ।’
नेपाल सरकारले पनि फूलको बिउबिजन समयमा उपलब्ध गराउन नसकेको उनले बताए । ‘६ महिनाअघि अर्डर दिएको फूलको बिउ अझै आएको छैन । बिउ ढिला हुँदा फूल नफूल्ने समस्या आउँछ,’ उनले भने, ‘यस्तो गर्दा बिक्री पनि हुँदैन । उपभोक्ता मारमा पर्छन् ।’
…
मालाको ९० रुपैयाँ
तिहार आएसँगै फूलको व्यापार उकालो लागेको छ । पोखराको सभागृहमा बागमती फूल पसल सञ्चालन गर्दै आइरहेका श्याम थापा पछिल्लो समय फूल व्यापार बढेको बताउँछन् । तिहारमा फूलको माग अत्यधिक रहेको उनले सुनाए । दैनिक ४० हजारदेखि २ लाख रुपैयाँसम्मको व्यापार हुने थापाले बताए । ‘पसलमा फूल किन्न र बुझ्न आउने मान्छे बढेका छन् । तिहारसँगै बजारमा फूलको व्यापार बढ्दै गएको छ,’ उनले भने ।
भारत र नेपालका चितवन र काठमाडौं धादिङ आसपासका जिल्लाबाट फूल ल्याएर बेच्ने गरेको उनी सुनाउँछन् । तिहारमा मखमली फूलको व्यवसाय बढी हुने उनी बताउँछन् । उनले भने, ‘बजारमा मखमली फूलको व्यापार सुरु भएको छ । कतिपय ठाउँबाट अग्रिम बुकिङसमेत भइसकेको छ ।’
‘यो वर्ष तिहारमा मखमली फूलको एउटा मालाको ५० देखि ९० रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘फूलको क्वालिटी अनुसार मूल्य पर्छ ।’ स्थानीय स्तरमा उत्पादन कम भएकाले मूल्य बढी पर्न जाने उनले बताए ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया