व्यक्ति एक, व्यक्तित्व अनेक

दीपेन्द्र श्रेष्ठ २०७८ कार्तिक १७ गते ११:४०
स्व सूर्यबहादुर केसी


निधन पछि पनि लोकले सम्झने अवसर विरलैले पाउँछन् । त्यही दुर्लभ सम्मान पाउनेमध्येका एक पात्र हुनुहुन्छ सूर्यबहादुर केसी । उहाँलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘उहाँ बहुआयमिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । अर्थात् व्यक्ति एक, व्यक्तित्व अनेक ।’

धेरैले उहाँलाई राजनीतिज्ञको रुपमा चिने पनि उहाँको सामाजिक, धार्मिक, अध्यात्मिक, शिक्षासेवी, विकास प्रेमी र एक असल अभियन्ताको छवि थियो । समाजका हर वर्ग, समुदायका मानिससँग सम दूरी सम्बन्ध राख्न सफल केसी हरकोहीलाई चित्त बुझाउन सक्ने स्वभावका हुनुहुन्थ्यो । सहयोगको अपेक्षा राखी उहाँको घर, दैलोमा पुगेका जो कोहीलाई उहाँ निराश बनाउनु हुन्नथ्यो । त्यसैले पनि पोखरेली जन, समुदायमा उहाँ ‘दानवीर’ समाजसेवीका रुपमा परिचित हुनुभयो । भन्छन्, ‘समाजमा धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन हुँदैन तर स्वर्गीय केसीको सवालमा यो मान्यता अपवाद रह्यो । उहाँसँग धन पनि र मन थियो ।


पोखराका पहिलो कन्ट्राक्टर (निर्माण व्यवसायी) समाजसेवी कीर्तिबहादुर केसीका जेठा छोरा सूर्यबहादुर केसी युवास्थामै विस २०४१–४३ र २०४३–४६ सम्म तत्कालीन पोखरा नगर पञ्चायतको प्रधानपञ्च हुनुभयो । त्यो बेलाका हर्ताकर्ता उत्तम पुनलाई पराजित गरी प्रधानपञ्च हुनु नै केसीको दिग्विजय थियो । परिस्थितिले राजनीतिको गोरेटोमा आइपुगेका केसी जीवनपर्यन्त राजनीतिमा सक्रिय रहनुभयो । पञ्चायतकालमा ‘पञ्च’, बहुदलपछि राप्रपा हँुदै पछिल्लो समय नेपाली कांग्रेसमा प्रवेश गर्नु भएका केसी प्रधानपञ्च, संविधानसभा सदस्य र प्रतिनिधि सभा सदस्य सिन बन्नुभयो ।

Advertisement


नेपालकै पहिलो चाउचाउ हो ‘रारा’ । बेलायती सेनाका निवृत्त लाहुरे फणीन्द्रमान श्रेष्ठले यसलाई भित्र्याउनु भए पनि यसको प्रवद्र्धन र गुणस्तरीय निरन्तरतामा केसीको योगदान छ । उहाँ श्रेष्ठको व्यवसायिक टिमको महत्वपूर्ण साझेदार हुनुहुन्थ्यो भने गण्डकी नुडल्स प्रालिबाट सुरु भएको चाउचाउ यात्रापछि हिमश्री फुड्स प्रालिको रुपमा स्थापित, प्रतिष्ठित र लोकप्रिय रह्यो ।


उहाँको स्वामित्वको यो कम्पनीले आहा, रारा लगायतका चाउचाउ उत्पादन गरेर व्यवसायमात्रै गरेन, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिकाको पनि खोजी ग¥यो । त्यही सिलसिलाको एउटा गर्विलो प्रोडक्ट हो ‘आहा रारा गोल्ड कप’ । जसको १९ औं संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको छ । र, २० आंै संस्करण तयारी छ आयोजक सहारा क्लब ।

Advertisement


२०५८ सालमा सहारा क्लबको आयोजनामा पहिलो क्याराभान गोल्ड कप सम्पन्न भएपछि दोस्रो संस्करणको दीर्घकालीन मुख्य प्रायोजकको खोजिमा थियो आयोजक । सहारा क्लबले त्यस्तो बेला फुटबल टुर्नामेन्ट आयोजना सुरु गरेको थियो, जति बेला देशमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । नेपाल बन्द भइरहन्थ्यो, देशमा चरम आर्थिक, राजनीतिक संकट थियो । मुलुक संकटकाल लगाउने वातावरणको उन्मुखमा थियो । उद्योगधन्दा, कल कारखाना ठप्प थिए तर त्यही बेला प्रतिकूलतामा पनि अनुकलता खोज्नु पर्छ र फुटबलमार्फत् आश जगाउनु पर्छ भन्ने आँटले सुरु गरिएको थियो सहारा गोल्ड कप । त्यही युवा उत्साहमा ऊर्जा भर्दै हातेमालो गर्दै सहकार्य गर्न आइपुगेको थियो हिमश्री फुड्स आफ्नो नयाँ उत्पादन आहा तयारी चाउचाउको साथमा ।


सम्भवतः नेपाली खेलकुदकै इतिहासमा कुनै कम्पनीले एउटा खेल इभेन्ट १० वर्ष लामो अवधिको लागि सम्झौता गरेको त्यो पहिलो अवसर थियो । त्यो लामो, न्यानो र दारिलो समसाथले आयोजक सहारा क्लबलाई कति खुसी र स्फुर्ति प्रदान गरेको थियो हामी अनुमानसमेत गर्न सक्दैनौं । त्यही साथले आज आहा रारा गोल्ड कप राष्ट्रिय अन्तर्राष्टिय ब्रान्ड बन्न सफल भएको छ । देश विदेशमा फुटबलमार्फत पोखरा चिनाइरहेको छ र फुटबलमार्फत नवयुवालाई जोड्न सफल भइरहेको छ ।


२०६१/६२ सालताका उद्योग बन्द भयो, उत्पादन ठप्प भयो तर पनि प्रायोजन रोकिएन । १० वर्षे सम्झौता सकिएपछि पनि केसीले बिना आनाकानी अर्काे १० वर्षे सम्झौता नवीकरण गरेर सहारा क्लबको अभियानमा साथ दिनुभयो । सम्झौता नवीकरणका लागि अनुरोध गर्न गएका टिमका सदस्यहरु केसीले भन्नु भएको अहिले पनि सम्झन्छन्, ‘तपाईहरु ढुक्क रहनुस्, सहाराले टुर्नामेन्ट आयोजना गरिरहुन्जेल हिमश्री फुड्स मुख्य प्रायोजकको रुपमा साथ रहन्छ ।’ अहिले सहारा २० औं आहा रारा गोल्ड कपको तयारीमा छ र उहाँका सुपुत्र प्रकाश÷किरण÷रोशन सम्झौता थप गर्न सकारात्मक ढंगले लागिरहनु भएको छ । यस दृष्टान्तले स्व. सूर्यबहादुर केसीलाई नेपाली खेल जगत्ले सदैव खेल प्रवद्र्धनको रुपमा स्मरण गरिरहनेछ ।

भन्छन्, ‘समाजमा धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन हुँदैन तर स्वर्गीय केसीको सवालमा यो मान्यता अपवाद रह्यो । उहाँसँग धन पनि र मन थियो ।


विस २०१४ सालमा फेवातालको बाँध भत्किएपछि पुनर्निर्माणको धपेडी सुरु भयो । निर्माण सामग्री ओसार्न गोरुगाडाको आवश्यकता महसुस भयो र त्यही अभाव पूरा गर्न वि.सं. २०१५ सालको सुरुमै भैरहवाबाट प्लेन चढाएर पोखरामा बयलगाडा झारियो । सो बयलगाडा झार्ने निर्माण व्यवसायी हुनुहुन्थ्यो सूर्यबहादुर केसीका कीर्तिबहादुर । टायरवाला चक्का रहेको सो बयलगाडालाई तत्कालीन पोखरा व्यापार संघले नम्बर प्रदान गरेको थियो । ‘कुल्ली नम्बर १’ बुबाले सुरु गर्नु भएको निर्माण व्यवसाय, पेशालाई उहाँले आफ्नो जीवन कालमा पनि केसी कन्स्ट्रक्सनमार्फत निरन्तरता दिनुभयो र विकास अभियानलाई आफ्नो ठाउँबाट सघाउनु भयो ।


केसीको चाउचाउ व्यवसायका अलावा हाइड्रो, बैंक, हाउजिङ लगायतका व्यवसायमा पनि संलग्नता रह्यो । उसो त उहाँ एक असल सञ्चार उद्यमी पनि हुनुहुन्छ । उहाँ लगायत पोखराका प्रतिष्ठित उद्योगी, व्यवसायी मिलेर ६० को दशमा रेडियो बाराही सञ्चालनमा ल्याउनु भयो । सो मिडिया अहिले पनि पोखराको आकाशमा ध्वनि तरंग गुञ्जाइरहेछ । उहाँ पोखरामा एफएम प्रवेशको शुभारम्भमै हिमचुली एफएमको सञ्चालनमा पनि आवद्ध हुनुहुन्थ्यो । र, पछिल्लो पटक काठमाडौंबाट सञ्चालन हुने एक अनलाइन न्युज पोर्टलमा समेत केसी प्रवद्र्धकको रुपमा रहनुभएको उहाँका निकटवर्तीहरु बताउँछन् ।


मिडियाको शक्ति, मूल्य र मान्यतालाई नजिकबाट बुझेर आत्मसात् गर्दै केसी मिडियामैत्री हुनुहुन्थ्यो । स्वास्थ्यले साथ दिएका बेला उहाँ समय समयमा अग्रज पत्रकारलाई भेला गरेर समसामयिक विषयमा भलाकुसरी गर्न, आफ्ना कुरा सुनाउन रुचि राख्नु हुन्थ्यो । उहाँ समयसामयिक विषयमा आफ्नो कुरा प्रष्ट राख्न सक्ने एन्टिकरेन्ट विषयमा पनि निर्भिकता साथ प्रस्तुत हुने राजनीतिले कस्तो मोड लिदै छ बताउन चाहने र विकास योजनाबारे आफ्नो ‘रोड म्याप’ प्रस्तुत गर्न रुचाउने दूरदर्शी राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो ।


मिडियाप्रतिको उहाँको लगाव र मैत्रीपूर्ण झुकावकै कारण नेपाल पत्रकार महासंघ कास्कीको आग्रहलाई सहर्ष स्वीकार गरी उहाँले वार्षिक १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशिको ‘कीर्ति स्मृति पत्रकािरता वृत्ति सम्मान’ स्थापना गरिदिनु भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले सञ्चालन गर्ने यस पुरस्कारका लागि ११ लाख ११ हजार १ सय ११ रुपैयाँ अक्षयकोष पनि स्थापना गरिएको छ । सम्भवतः यो पुरस्कार मोफसलमा स्थापना गरिएका पुरस्कारमध्ये ठूलो राशिको हो । उहाँले पत्रकार महासंघलाई मात्र होइन, प्रेस युनियन कास्कीले सञ्चालन गर्ने गरी अन्य पुरस्कारको पनि स्थापना गर्न सघाउनु भएको छ ।


पोखरामा शायदै त्यस्तो महायज्ञ होला, जहाँ सूर्यबहादुर केसीको ‘दान’ नपरेको होस् । हर महायद्दमा सम्भव भएसम्म उहाँको भौतिक उपस्थितिको अपेक्षा हुन्थ्यो । कैयनले उहाँलाई व्यवसायी, हाइड्रोकर्मी, बैंक प्रवद्र्धन, राजनीतिज्ञको रुपमा चिने पनि उहाँ मूलतः समाजसेवी छवि भएका उद्यमी हुनुहुन्थ्यो । त्यस्ता व्यक्तित्वलाई हामीले भौतिक रुपमा गुमाएको पनि आज १ वर्ष भएको छ । यस घडीमा उहाँको आत्मको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली !

दीपेन्द्र श्रेष्ठ

२० वर्षदेखि पोखराको सञ्चार क्षेत्रमा क्रियाशील श्रेष्ठ एभरेस्ट एफएमका प्रमुख तथा एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक र नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया