कोरोनाको पहिलो खाने औषधिलाई बेलायतले दियो स्वीकृति

समाधान संवाददाता २०७८ कार्तिक १९ गते १४:४६

कोरोना उपचारका संसारमै पहिलो पटक खाने चक्की औषधिलाई बेलायती औषधि नियामक निकायले स्वीकृत गरेको छ।

बिबिसीका अनुसार लक्षण देखिएका कोरोना संक्रमितका लागि बनाइएको उक्त गोटी औषधिको नाम मोल्नुपिराभिर हो। भर्खरै संक्रमित भएका गम्भीर बिरामीलाई यो औषधि दिनको दुईपटक दिइन्छ।

Advertisement

यो औषधि सुरूमा फ्लूको उपचारका लागि विकास गरिएको थियो। कोरोना संक्रमितका लागि गरिएको परीक्षणमा यसले बिरामीलाई अस्पताल भर्ना हुने जोखिम कम गरेको पाइएको छ। त्यस्तै आधाभन्दा बढी बिरामीको मृत्यु हुने जोखिम पनि कम गरेको बिबिसीले लेखेको छ।

बेलायतका स्वास्थ्य सचिव साजिद जाविदले यो उपचार पद्धति एकदमै प्रभावकारी देखिएको बताएका छन्।

Advertisement

आज हाम्रो देशकै लागि ऐतिहासिक दिन हो,ु साजिदका भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ुबेलायतले संसारमै पहिलोपटक खाने एन्टिभाइरल औषधिलाई स्वीकृति दिएको छ। यसलाई घरमै लगेर खान सकिन्छ।ु

मोल्नुपिराभिर अमेरिकी औषधि उत्पादक कम्पनी मर्क, सार्प, डोम र रिजब्याक बायोथेरापेटिक्सले विकास गरेको हो। यो कोभिड बिरामीका संसारकै पहिलो खाने चक्की औषधि हो।

बेलायतले पहिलो चरणमा चार लाख ८० हजार मात्रा किन्ने सहमति पनि गरिसकेको छ। प्रारम्भिक चरणमा यो औषधि कोभिडविरूद्धको खोप लगाएका र नलगाएका दुवै बिरामीलाई दिइनेछ। यसपछि उनीहरूमा औषधिले देखाएको प्रभावका आधारमा थप माग गर्ने कि नगर्ने भन्ने निधो गरिनेछ।

बिबिसीका अनुसार यो औषधि बिरामीमा लक्षण देखिएको पहिलो पाँच दिनभित्र दिँदा बढी प्रभावकारी हुनेछ।

यो औषधि बेलायतले कसरी चाँडो वितरण गर्नेछ भन्ने चाहिँ स्पष्ट छैन। तर केही वृद्धवृद्धा स्याहार केन्द्रमा वा कोरोना जोखिममा रहेकाहरूलाई दिने अनुमान गरिएको छ।

यो औषधिले हाम्रो शरीरको इन्जाइममा पुगेर काम गर्छ। भाइरसले यही इन्जाइममा आफ्नो संख्या बढाउने हो। औषधि खाएपछि यसले भाइरस फैलिने प्रक्रियामा बाधा पुर्‍याउँछ। यसबाट भाइरस धेरै फैलिन सक्दैन र कम संख्यामै रहिरहन्छ। भाइरस कम हुँदा त्यसले गाँज्ने सम्भावना कम हुने बिबिसीले जनाएको छ।

यो औषधि बनाउने कम्पनी मर्कले आगामी दिनमा परिवर्तन हुँदै जाने कोरोना भाइरसका विभिन्न स्वरूपलाई पनि यसले उत्तिकै काम गर्ने बताएको छ।

बेलायतको औषधि नियामकले यो चक्की ओखती सामान्य र मध्यम लक्षण देखिएका र सिकिस्त हुनसक्ने सभ्भावना भएका ९मोटोपन, वृद्ध उमेर, मधुमेह वा मुटु रोग लागेका० कोरोना बिरामीलाई खुवाउन अनुमति दिइएको बताएको छ।

मोल्नुपिराभिरको क्लिनिकल परीक्षण ७७५ जना बिरामीमा गरिएको थियो। उनीहरूलाई त्यो बेला भर्खरै कोरोना लागेको थियो। यो परीक्षणको नतिजा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक भए पनि ुपियर रिभ्युु भइसकेको छैन।

यसबाट निस्केका तथ्यांकहरू हेर्दा मोल्नुपिराभिर कोरोनाको लक्षण देखिनेबित्तिकै खाँदा बढी प्रभावकारी हुने देखिएको छ। पहिल्यै सिकिस्त भएर अस्पताल भर्ना भएका बिरामीमा भने यसको प्रभाव नदेखिएको बिबिसीले जनाएको छ।

तपाईको प्रतिक्रिया