फलो अफ
मुस्ताङको संरक्षित क्षेत्रमा पासो परी निर्दोष बन्यजन्तु मरे
कस्तुरीको नाभी सुगन्धदार र यसको सेवनले दिर्घ रोगका बिरामीको उपचारमा फाईदा पुग्छ


जोमसोम— राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको मुस्ताङको संरक्षित क्षेत्रमा भारी मात्रामा वन्यजन्तुको दोहन गर्ने क्रम बढेको छ । वन्य जन्तुको अखेटोपहार तस्कर गर्नका निम्ति तस्करीहरुले थापेका फलामे पासो ठाउँ ठाउँमा भेटिन थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले वन्यजन्तु तस्करीहरुले बनक्षेत्रमा थापेको पासो क्रमश फेला पर्दै जान थालेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको बन गस्ती टोलीले तेश्रोदिन पुनः एक रेड फक्ससहित ३४ थान पासो फेला पारेको जनाएको छ । योसंगै वन्यजन्तुले थापेका पासो फेला परेको संख्या १ सय ७५ थान पुगेको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । उनका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा गाउको खम्पा क्याम्प माथि निच्चा जंगलमा मंगलबार देखि बिहिबार सम्म गरिएको बन गस्तीमा पासोमा परी मृत फेला परेका ५ कस्तुरी र २ रेड फक्सलाई प्रहरीको रोहबरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना,ईलाका संरक्षण क्षेत्र कार्यालय जामसोममा ल्याएर मुचुल्का उठाएर खाल्डो खनी पुरिएको छ ।
वारागुङ मुक्तिक्षेत्रको लुप्रा गाउ माथिको लेंकको जंगलमा मंगलबार बन गस्ती गएको टोलीले पहिलोदिन एक भाले,एक पोथी कस्तुरी र एक रेड फक्स फेला परेको थियो । दोश्रो दिन गरिएको बन गस्तीमा एक भाले र दुई पोथी कस्तुरी पासोमा परी मरेको भेटिएको थियो ।पासोमा परी जिउदै रहेको एक भाले कस्तुरीको भने जिवितै उद्दार गरी जंगलमै छाडिएको प्रहरीको भनाई छ ।प्रहरीले पुन तेश्रोदिन गरेको बन गस्तीमा एक रेड फक्स र ३४ थान पासो फेला पारेको थियो ।
वन्य जन्तु बिज्ञका अनुसार एक बयस्क भाले कस्तुरीको नाभी २५ ग्राम देखि ३५ ग्राम सम्म हुन्छ ।सुनको मुल्य भन्दा झन्डै ५ गुणा महङ्गो पर्ने भएकाले तस्करहरुले कस्तुरीलाई पासो थाप्ने काम गर्छन ।कस्तुरीको नाभी सुगन्धदार र यसको सेवनले दिर्घ रोगका बिरामीको उपचारमा फाईदा पुग्छ । तर पोथी कस्तुरीको भने नाभी हुदैन । मुस्ताङका उच्चलेंकको जंगलमा ठुलै खर्च गरेर मोटरसाईकलमा प्रयोग हुने ब्रेक तारको पासो वन्य जन्तु तस्करले थापेका पुष्टि हुन्छ । ठुलो परिमाणमा पासो र मृत कस्तुरी भेटिएकाले घटनालाई सामान्य रुपमा लिन नहुने स्थानीयबासीको भनाई छ ।
वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा लेंकमा प्राकृतिक बन्यजन्तुको दोहन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा एक्याप ,डिभिजन बन कार्यालय ,सो क्षेत्रको संरक्षण व्यवस्थापन समिति ,शसस्त्र प्रहरी र जनपथ प्रहरीको जम्बो टोलीले तस्करहरुको खोज तलास गर्नुको साथै ,तस्करहरुले बिच्छ्याइएका ठुलो परिमाणमा पासो भेटिएको थियो भने ७ वटा मृत बन्य जन्तु फेला पारेको थियो । कोरोना कहरका कारण विगत ३ वर्षदेखि मुस्ताङका उच्चलेंक र जंगलबार बन गस्ती गर्ने काम हुन सकेको थिएन । बडा दशै तथा तिहार पर्वको मेलो छोपेर वन्य जन्तु तस्करहरुले ठुलै योजनाका साथ पासो थाप्ने काम गरेको घटना क्रमले पुष्टि गरेको छ ।यो घटना संगै जैविक विविधताले महत्वपूर्ण मानिएको बन्यजन्तु सरक्षणमा थप चुनौती सृजना भएको छ ।
प्रहरीले बन गस्ती गर्ने कार्यलाई थप कडाई र निरन्तरता दिने जनाएपछि एक्याप र बन कार्यालयले भने घटना बारे आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । आफ्नो संरक्षणक्षेत्रको एरियामा यति ठुलो घटना हुदा समेत एक्यापले जिम्मेबारी बोध गर्न नसकेको सरोकारवालाहरु बताउछन् । घटनाको थप अनुसन्धान र बन गस्ती गर्ने योजनालाई थाती राखेर एक्यापका कार्यालय प्रमुख तिहार मनाउन घर गएका छन् । यसले गर्दा बन्यजन्तु तस्करको मनोबल अझ बढ्न सक्ने अनुमान समेत गरिएको छ ।
तर,प्रहरीले भने तिहार लगत्तै अप्रेसन सुरु गर्ने जनाएको छ । प्रहरीले बन्य जन्तुको मुख्य बासस्थान रहेको क्षेत्रमा क्रमश बृहत बन गस्तीलाई तिब्रता दिने जनाएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया