सम्पादकीय: एबिसीमा हेलिकोप्टर हैन केबलकार

समाधान संवाददाता २०७८ कार्तिक २२ गते १४:३९
अन्नपूर्ण आधार शिविर (एबिसी) । तस्बिर : युनिश गुरुङ/समाधान

दसैं र तिहार नेपालीका ठूला चाडपर्वमात्रै रहेनन्, अचेल यी पर्व घुमघामको महत्वपूर्ण मौका हुन थालेका छन् । वर्षभरिमा सबैभन्दा धेरै विदाका दिन यसै बेला पर्छ । त्यसैको मौकामा नेपालीहरु देशविदेश घुमफिरमा निस्कन थालेका छन् । एक त नेपालीहरुको आम्दानीको स्तर उकासिएको छ भने अर्काे विस्तारै घुमफिर संस्कृति पनि विकास हुँदैछ । कोभिड १९ को महामारी भएर गएका २ वर्ष नेपालका पर्यटन गन्तव्य सुनसान भए ।

कोभिड अझै नामेट भएको छैन, केवल मत्थरमात्रै भएको छ । त्यसैले विदेशी पर्यटक आगमनको गुन्जायसमात्रै पनि देखिन सकेको छैन । तर पर्यटन गन्तव्यहरु खाली भएनन्, सुनसान भएनन् । जहाँसुकै नेपाली पर्यटकले नै गुल्जार बनाए । गण्डकी प्रदेशका मुस्ताङ र मनाङमा पर्यटक निकै ओइरिन थालेको केही वर्षमात्रै भयो । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) भित्र दर्जनांै गन्तव्य यस्ता थिए, जहाँ नेपालीलाई पर्यटक मानिनन्थ्यो । अहिले भने पर्यटक भनेकै नेपाली हुन थालेका छन् । नेपाली अहिलेको कोभिड मत्थर हुनासाथै पनि पुगिहाले, कुनै बेला द्वन्द्व सकिनासाथै पुगे । कुनै बेला प्राकृतिक प्रकोप सकिनासाथ पुगे । नेपालको परिस्थितिबारे नेपालीबाहेक अरु कोही जानकार हुने कुरै भएन । तसर्थ निर्धक्क घुम्न जहाँकहिँ नेपालीहरु पुगेका छन् ।


अन्नपूर्ण हिमालको फेदी अर्थात आधार शिविर एउटा यस्तो गन्तव्य हो, जहाँ पुगेर पाइला पारेको छु भन्दैमा पनि नेपालीहरु गर्व गर्छन् । हिमालको जरामै पुग्नु कम्ता साहसिक काम होइन । जोखिम पनि उत्तिकै छ । हिमाल भएको देशको नागरिक हुनुको कारण पनि र साहसिक यात्राका लागि अन्नपूर्ण आधार शिविर सगरमाथा आधार शिविरपछि सर्वाधिक रुचाइएको गन्तव्य हो । यतिसम्म कि हिँडेर पुग्न नसक्नेहरु अचेल हेलिकोप्टर रिजर्भ गरेरै भए पनि अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन् । तर हेलिकोप्टरले वातावरणमा निकै ठूलो असर गरिरहेको छ । वन्यजन्तु, चराचुरुंगी मात्रै होइन, हिमालकै पर्यावरणलाई त्यसले असर पारेको छ । ध्वनि र वायु प्रदूषण हेलिकोप्टरका दर्जनौं उडानले गरिरहेका छन् । अर्काेतिर स्थानीय बासिन्दाको जीवनस्तर उकास्न हेलिकोप्टर पर्यटनले घातक काम मात्रै गरिहेको छ ।

Advertisement


हेलिकोप्टरको उडान रोक्ने कुरा आएका छन् तर विकल्पहरु खोज्नेबारे भने बहसै सुरु भएको छैन । विद्युतीय केवलकार अन्नपूर्ण आधार शिविरसम्म पुर्‍याउने हो भने ध्वनि प्रदूषण र वातावरणीय प्रदूषण पक्कै रोक्न सकिन्थ्यो होला । आधार शिविर पुग्न चाहने तर हिँड्न नसक्ने र नचाहेको विकल्प हेलिकोप्टर भइरहेको छ । केवलकार निर्माण गर्दा पक्कै पनि रुख बिरुवा काट्नुपर्छ केही सय वा हजारको संख्यामा तर त्यति नै बिरुवा त्यही कतै रोप्न सकिन्छ । हेलिकोप्टरले गर्ने वायु प्रदूषण र ध्वनि प्रदूषणको भर्ताल गर्ने उपाय छैन । एक त आधार शिविरमा २÷४ सय पाहुना राख्ने होटल पनि छैनन् । अरु थप्नु पनि वातावरण विनासमै योगदान गर्नु हुन्छ । केवलकार बनाउने, त्यहाँ पुग्ने र नजिकैका गाउँमा फर्कने व्यवस्था गर्न सक्ने हो भने पाहुनाले पनि सुविधा पाउँछन् । आधार शिविरको बिचल्लीपूर्ण बसाइको पनि अन्त्य हुन्छ । केवलकारमा स्थानीयको पनि सहभागिता गराउने हो भने उनीहरुको अर्थाेपार्जनको पनि बाटो बन्द हुँदैन । यसतर्फ ध्यान दिने हो भने अन्नपूर्ण आधार शिविरको पर्यटन स्वदेशी विदेशी पर्यटकका लागि झनै रोचक हुनसक्छ ।

Advertisement

तपाईको प्रतिक्रिया