४ जनालाई मरणासन्न पारेर महतगौंडाका टोलेगुन्डा छावा फरार

समाधान संवाददाता २०७८ कार्तिक २३ गते १२:०९

पोखरा

भाइटीकाको दिन कात्तिक २० गते बिहान (मध्यराति) करिब १ बजे । पोखरा १५ बस्ने यमसन गुरुङ र टुटुंगा बस्ने जना विशाल घर्ती, विजय तामाङ, चित्रबहादुर गुरुङको टोली भैलो खेलेर घर फर्किएको थियो । देउसीको थकाइ मार्दै डाँडातिर हावा खान निस्किए ।


एकछिन डाँडामा टहलिएर फर्किएका उनीहरुको टोली ८ जनाको थियो । ४/४ जना अघिपछि गर्दै मोटरसाइकलमा फर्किरहेका उनीहरुको रातोपहिरोको हनुमान टोलका छावा भनेर चिनिने सुशील कार्की र गोरेसहित ५/६ जनाको टोलीसँग जम्काभेट भयो । भेटमा शिष्टाचार हुनै पाएन, अपशब्द वर्षिए । यमसन, विशाल, विजय र चित्रबहादुर त्यस्तो नबोल्न भन्दै थिए । उनीहरुको बोली भुइँमा खस्न नपाउँदै छावाले विजय तामाङमाथि हेल्मेट वर्षाइहाले ।


दुवै टोलीबीच भनाभन र हात हालाहाल चल्यो । छावाले विजय, यमसन, विशाल र चित्रबहादुरमाथि एक एक गर्दै धारिलो हतियार प्रहार गरे । ‘छावाले पछाडिबाट धारिलो हतियार निकाल्दै हामी चारैजनालाई हान्यो,’ विजय तामाङले सुनाए, ‘सबैजना लडिरहेका थियौं । पछाडिबाट अरु साथीहरु आएको देखेपछि छावासहितको टोली भाग्यो ।’


तामाङ भन्छन्, ‘हामीले आपूmहरुलाई चोट लागेको थाहा नै पाएका थिएनौं । प्रतिकार गर्ने बाहेक हामीसँग कुनै विकल्प थिएन ।’ पछि रगत बग्न थालेपछि आफूहरु घाइते भएको थाहा पाएको तामाङ बताउँछन् । छावाको प्रहारबाट विजय, यमसन, चित्र र विशाल घाइते भएका थिए । यमसन भन्छन्, ‘एकजनालाई समातिरहेको थिएँ । पछाडिबाट छावाले पछाडिबाट रोप्यो शरीरभरि रोप्दै गयो । केही गर्न सकिनँ ।’


छावाको टोलीलाई कुनै घाउचोट नलागेको यमसन बताउँछन् । उनी भन्छन्, ‘शरीरभरि प्रहार भयो । यसपछि म बेहोस नै भएँ । कसले अस्पताल ल्यायो थाहा नै छैन । अस्पताल आएपछि मात्र होस पाएको उनी बताउँछन् । अहिले चित्रबहादुर सामान्य उपचारपछि घर फर्किएका छन् । अरु ३ जनाको अस्पतालमा भर्ना भएरै उपचार गराइरहेका छन् । घाइतेमध्ये विशाल घर्तीको आस्था अस्पताल रानीपौवामा उपचार भइरहेको छ । अरु चाहिँ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा छन् । क्षेत्रीय अस्पतालले नै विशाललाई आस्थामा रेफर गरेको हो । उनको मेरुदण्डमा समेत गहिरो चोट लागेको भनी चिकित्सकले थप उपचारका लागि आस्था अस्पताल रेफर गरेका हुन् ।

१९ गते राति १ बजे पोखरा महतगौंडामा ४ जनाको जिउभरि धारिलो हतियारले हानेर फरार छावा भनिने सुशील कार्कीसहितको टोलीलाई प्रहरीले खोजिरहेको छ


चित्रबहादुरलाई घाँटीमा चोट लागेको थियो । उनी सामान्य उपचारपछि घर फर्किन पाएका छन् । यमसनको ढाडको ९ ठाउँमा धारिलो हतियारले रोपिएको छ । विजय तामाङको पछाडिबाट लागेको धारिलो हतियार फोक्सोसम्म चोट पुगेको विजयका बाबुआमा बताउँछन् ।
ज्यानै लिने गरी प्रहार भएको घटनाका घाइते पक्षले वडा प्रहरी कार्यालय बैदाममा २० गते नै उजुरी दिइसकेको छ । घटना भएको ३ दिनसम्म प्रहरीले छावासहितको टोलीलाई नियन्त्रण नगरेको भन्दै घाइते पक्ष चिन्तित भएको छ । छावासहितको टोली फरार छ ।


घाइतेहरु अस्पतालको बेडमा छट्पटाइरहेका छन् । घरको आर्थिक अवस्था कमजोर रहेकाले उपचार जटिल मोडमा पुगेको विशाल घर्तीमगरका बाबु ओमबहादुर घर्तीमगर बताउँछन् । ‘थप उपचार खर्च तिर्न सकेको छैन । मेरुदण्डमा चोट गहिरो चोट पुगेको छ । भएको पैसा सकियो । अब न्याय खोज्न म कहाँ जाऊँ,’ उनले भने ।


घाइतेहरु सबैजना मजदुरी गरेर जीवन निवाह गर्दै आइरहेका थिए । कसैले लेकसाइडमा होटेलमा काम गर्थे भने कसैले होटेल सञ्चालन गर्दै आइरहेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमाल पूर्व रिसिइबीको कारण उक्त घटना भएको बताउँछन् । ‘घटनामा जोडिएकाको पहिचान खुलेकाले खेजी जारी छ,’ उनले भने । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेकाले उजुरी परेकाहरुको खोजी भइरहेको उनले बताए । छावाका बाबुआमाले छोरा ४ दिनअघि नै दमौली जान्छु भनेर निस्केको अहिलेसम्म घर नआएको प्रहरीलाई बताएका छन् ।



रक्सी नदिँदा कुटपिट


पोखरा महानगरपालिका २७ शिशुवा त्रिवेणी चोकमा झगडा हुँदा परेस दास घाइते भएका छन् । भाइटीकाकै दिन कात्तिक २० गते टिका लगाएर आफ्नै पसलमा दास बसिरहेका थिए । दासले त्रिवेणी चोकमै होटेल चलाउँदै आएका थिए । होटेलमा आएर रक्सी माग्दा दासले छैन भनेपछि उनीमाथि पोखरा २७ बस्ने नवीन शर्मा, सन्तोष शर्मा र अर्जुन नेपालले कुटपिटमा गरेको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी शिशुवाले नियन्त्रणमा लिएर १ दिन थुनामा राखी छाडेको छ । घाइते दास गण्डकी मेडिकल कजेजमा उपचारपछि घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया