पदमुक्त प्रदेश प्रमुख प्यासीलाई ५ प्रश्न

‘२/३ महिनाअघि नै हटाएको भए खुसी हुन्थेँ’

समाधान संवाददाता २०७८ कार्तिक २३ गते १९:५४

सोमनाथ अधिकारी प्यासी, निवर्तमान प्रदेश प्रमुख, प्रदेश नम्बर १


१) सरकारले प्रदेश प्रमुखबाट पदमुक्त गर्‍यो। तपाईंको प्रतिक्रिया के छ ?

Advertisement


मैले यसलाई स्वाभाविक रुपमा लिएको छु । मेरो त्यस्तो खास प्रतिक्रिया छैन ।


२) प्रदेश प्रमुखहरु छिटोछिटो हेरफेर भइरहने हुँदाचाहिँ कस्तो सन्देश गएको देख्नुभाछ ?

Advertisement


यसले सिस्टमलाई महँगो पार्छ । केहीकेही मान्छेहरुले धैर्य तोड्न सक्छन् । हामीले धैर्य हुन्छ । यो सिस्टम हामीले लडेर ल्याएको हो । यो सिस्टममा धक्का नलागोस् । प्रजातन्त्र डिरेल नहोस् । हामी त आफूले पाएको जिम्मेवारी जिम्मेवार ढंगले पूरा गर्छाैं । मैले गरेँ । म जहाँ भए स्वच्छ ढंगले जिम्मेवारी पूरा गरेर निस्कन्छु । म यति बेला मलाई यो जिम्मेवारी दिनुभएका तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई हार्दिक धन्यवाद भन्छु । अहिलेको सरकारले यो २/३ महिना बढी किन राख्यो ? पहिल्यै पदमुक्त गरेको भए पनि हुन्थ्यो । किन साथीहरुले अलमल गरे भन्ने लागिराछ । अलमल नगरेको भए पनि म खुसी हुन्थेँ ।


३) तपाईं त सक्रिय राजनीतिमै भएको व्यक्ति कार्यकारी अधिकार नभएको प्रदेश प्रमुखको जिम्मेवारी पाउँदा कस्तो लागेको थियो । अनुभव कस्तो रह्यो ?


यो पदचाहिँ आफूले जानेको कुरा, बुझेको कुरा अभिव्यक्त गर्न पाउने ठाउँ होइन । जुन ठाउँमा मलाई तत्कालीन सरकारले ठिक छ भन्ने देख्यो, त्यो ठाउँमा आफ्नो भूमिकामा मैले कहिँ कतै कमजोरी गरिनँ । तर एक्टिभ मान्छे आएर यो ठाउँमा बस्दा धेरै कहर काट्नुपर्छ ।


४) भनेसि तपाईंलाई नि कहर भयो ?


त्यो त स्वाभाविक हो नि । मैले जानेको कुरा बोल्न भएन । बुझेको कुरा बोल्न भएन । यो पदीय दायित्वको कुरा अनुसारमात्रै बोल्ने गर्नुपर्‍यो । सिस्टमले जे भनेको छ, त्योमात्रै गर्नुपर्‍यो ।


५) अब तपाईं फेरि सक्रिय राजनीतिमा लाग्नुहुन्छ कि, अवकास लिनुहुन्छ ?


त्यो अब बाहिर निस्किसकेपछि नेपाल सरकार वा यो सिस्टमले हामीलाई कसरी हेर्छ ? वास्ता र अनवास्ता कसरी गर्छ ? त्यसको आधारमा म सक्रिय हुने र निस्क्रिय हुने कुरा निर्भर गर्छ ।

तपाईको प्रतिक्रिया