१२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप

समाधान संवाददाता २०७८ कार्तिक २५ गते १४:२५

काठमाडौं ।

अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख डोज फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ । खोप अभियान मंसिर ४ गतेसम्म चल्ने छ ।


परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको जानकारी दिए ।

Advertisement


त्यसका लागि काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको दाहालले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि खोप केन्द्र तोकिएको छ । उक्त समय यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने उनले बताए ।


यसका साथै मंसिर ४ गतेसम्म यी समूहलाई खोप लगाइसकेपछि खोप बचत भएको अवस्थामा १२ देखि १८ वर्षका अन्य बालबालिकालाई पनि खोप लगाइने कार्यक्रम रहेको छ । यो कार्यक्रम भने मंसिर ५ देखि ७ गतेसम्म चल्ने छ ।

Advertisement


सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउन खरिद प्रक्रिया अगाडि बढाइसकेको छ । नेपालले फाइजर कम्पनीसँग ६० लाख डोज र कोभ्याक्स सविधामार्फत कस्ट सेयरिङमा ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरिसकेको छ । फाइजर आगामी डिसेम्बर अन्तिमसम्म र सन् २०२२मा सुरुवातमा आइपुग्ने बताइएको छ ।

कसले पाउँछन् खोप?
– १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी
– लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी
– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी
– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी
– अंग प्रत्यारोपण गरेका व्यक्ति
– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी
– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति
– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृती आदी) लागेका व्यक्ति

तपाईको प्रतिक्रिया