राजनिति

एमालेको दशौं महाधिवेशन ः मुस्ताङबाट ४ जना प्रतिनिधि छानिए

सुन्दरकुमार थकाली २०७८ कार्तिक २७ गते १७:२४

जोमसोम—नेकपा एमालेको आसन्न दशौ राष्ट्रिय महाधिवेशनका लागि मुस्ताङमा ४ जना महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । एमालेको दशौ महाधिवेशनका लागि शनिबार एक दर्जन आकांक्षीहरु देखिएपनि नेता तथा कार्यकर्ताबीच भएको आपसी सहमतीपछि सर्वसम्मत रुपमा मुस्ताङबाट चार जना महाधिवेशन प्रतिनिधि छनौट भएको एमाले मुस्ताङले जनाएको छ ।
नेकपा एमाले जिल्ला कमिटीले बैठकपछि आपसी सहमतीमा ४ जना महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाएको जनाएको छ। एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङबाट संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन ,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्रमोहन गौचन ,घरपझोङ गापाकी उपाध्यक्ष शर्मिला गुरुङ र एमाले जिल्ला कमिटी सदस्य बिनोद बिसी एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा पार्टीले छनौट गरेको संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।
नेकपा एमालेको विधान महाधिवेशनले निर्देशित गरेको कुल संगठित सदस्य संख्या तथा समावेशीताको आधारमा महाधिवेशन प्रतिनिधि छनौट गर्न पाउने प्रावधान अनुरुप खुल्लातर्फ एमाले मुस्ताङका अध्यक्ष गौचन र संघीय प्रतिनिधि सभा सदस्य तुलाचन महाधिवेशन प्रतिनिधिका रुपमा चुनिएका हुन् । यस्तै ,महिलातर्फ उपाध्यक्ष गुरुङ र दलित तर्फ बिसी छनौट भएका हुन् ।

Advertisement

एमाले मुस्ताङले कुल संगठित सदस्य संख्याको आधारमा ४ जना महाधिवेशन प्रतिनिधि छनौट गर्न पाउने जिम्मा पाएको थियो । महाधिवेशनमा एमालेका तीन प्रकारका प्रतिनिधि हुनेछन्। पदेन प्रतिनिधि जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकायबाट स्वत: आउनेछन्। भौगोलिक क्षेत्र, जनवर्गीय संगठनबाट निर्वाचित प्रतिनिधि आउनेछन्। पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरिनेछ। 

यसअघि नेकपा एमाले मुस्ताङले जिल्लाको ५ वटै स्थानीय तह र वडाहरुमा सर्वसम्मत रुपले पालिका तथा वडा कमिटी गठन गरेको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया