जोमसोम—कोरला स्तरोन्नति अन्तिम चरणमा

समाधान संवाददाता २०७८ कार्तिक २८ गते ११:०७

जोमसोम ।

Advertisement


उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना कालिगण्डकी करिडोर अन्तर्गतको जोमसोम कोरला सडक अन्तिम चरणमा पुगेको छ । जोमसोम कोरला १ सय १० किमी सडकका ७ खण्डमध्ये ६ खण्ड आयोजनालाई हस्तान्तरण गर्ने तयारी भएको छ ।
तिब्बतसँग सीमा जोडिएको कोरला सडक पहुँच मार्ग विस्तार गर्ने उद्देश्यले आर्थिक वर्ष ०७३÷०७३ देखि २ लेनको सडक निर्माण थालिएको थियो । सडक स्तरोन्नतिका लागि २ अर्ब ६ करोड बजेट बिनियोजन भएको थियो । जोमसोमदेखि झैतेसम्मको ५२ किमी ४ खण्ड र झैतेदेखि कोरलासम्म ५८ किमी सडकमा ३ खण्डमा काम भएको छ ।


जोमसोम—कोरला सडकको छैटौ खण्डको काम भने अलपत्र छ । कालिगण्डकी करिडोर बेनी जोमसोम कोरला सडक आयोजना प्रमुख जगत प्रजापतीका अनुसार जोमसोम ताङ्वे १८ किमी सडक बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेदेखि चैलेसम्म ११ किमी सडक दिवाडाफे एपेक्स जेभी, चैलेदेखि भेनासम्म ११ किमी कन्टेक कान्छाराम कोशी एण्ड न्यौपाने जेभी र भेनादेखि झैतेसम्म १२ किमी सडक कञ्चनजंघा लामा बिल्डर्स बिरुवा जेभीले सडक स्तरोन्नतिको जिम्मा लिएका थिए । जिम्मा लिएका सबै कम्पनीले काम सकेको आयोजना प्रमुख प्रजापतीले जानकारी दिए ।

Advertisement


झैते चराङ १९ किमी सडक कञ्चनजंघा लामा मोतिदान जेभी, चराङदेखि छोसेर २५ किमी सडक तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभी र छोसेर कोरला १४ किमी सडक स्तरोन्नतिको जिम्मा रौटाहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए । तीमध्ये कञ्चनाजंघा लामा मोतिदान र रौटाहा एपेक्स जेभी कन्ट्रक्सनले सडक निर्माण सम्पन्न गरी करिडोरलाई हस्तान्तरण गरेको आयोजना प्रमुख प्रजापतीले जानकारी दिए । उनले ७ खण्डमध्ये ६ खण्ड पूरा भएको र चराङ छोसेर १ मात्र खण्ड निर्माण कन्ट्रक्सनको ढिलासुस्ती बाँकी रहेको सुनाए ।


चराङ छोसेर खण्डमा ३ वर्षदेखि काम भएको छैन । उक्त खण्डका लागि २४ करोड बजेट बिनियोजन भएकोमा १५ करोडको काम भइसकेको आयोजना प्रमुख प्रजापतीको भनाइ छ । ‘चराङ—छोसेर सडकको ६५ प्रतिशत काम भइसकेको छ । अब ३५ प्रतिशत बाँकी हो,’ आयोजना प्रमुख प्रजापतीले भने, ‘चराङमा कुलो र ढलको काम बाँकी छ । अरु ठाउँमा कटिङ र फिनिसिङको काममात्र बाँकी हो ।’

Advertisement


लामो समयदेखि सो खण्डमा कन्ट्रक्सनले सडक निर्माणमा बेवास्ता गरेकाले कन्ट्रक्सनको नाममा जम्मा भएको १ करोड ९ लाख रुपैयाँ ठेक्का मोबिलाइजेसन आयोजनाको खातामा फिर्ता ल्याइएको उनले बताए । भौतिक पूर्वाधार मन्त्रालयले कन्ट्रक्सनलाई यही चैत महिनाभित्र काममा फर्किन अल्टिमेटम दिएको छ । सरकारले दिएको अवधिमा कन्ट्रक्सन काममा नफर्किएमा ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौता प्रक्रिया अघि बढाइने आयोजना प्रमुख प्रजापतीले जनाए । ‘हामीले जेभीको अर्को पार्टनरलाई काममा फर्किन ताकेता गरेका छौं । काममा नफर्किए अर्को विकल्पमा जान्छौं,’ आयोजना प्रमुख प्रजापतीले भने ।’


जोमसोम—कोरला सडकका कठिन ठाउँहरुमा सडक स्तरोन्नति सकिएको छ । समरको भीर, झो खोला र घ्याकरको अप्ठ्यारो सडक बनिसकेको छ । घ्याकरमा सडक मापदण्ड अनुसार ग्रेड मिलान गरेर वैकल्पिक सडक निर्माण भइसकेको आयोजना प्रमुख प्रजापतीले जानकारी दिए । ‘अब उपल्लो मुस्ताङको सडक लगभग कम्प्लिट भइसकेको छ । एकाध स्थानको काममात्र बाँकी छ । कन्ट्रक्सन काममा फर्किएमा त्यो पनि २ महिनाभित्रै पूरा हुने सम्भावना छ,’ उनले भने ।


सडकमा कालोपत्र
बेनी—जोमसोम सडकको मुस्ताङ खण्डमा गत वैशाखदेखि अस्फाट कालोपत्रको कामअघि बढाइएको छ । यो सडकका ४ खण्डमध्ये मुस्ताङ खण्डको तेस्रो र चौथो खण्डमा कालोपत्र हुँदै छ । प्रमुख प्रजापतीका अनुसार मुस्ताङको घासादेखि जोमसोमसम्मको ३८ किमी बाटो स्तरोन्नतिसँगै कालोपत्र भइरहेको छ । तेस्रो खण्डको जिम्मा पाएको शर्मा गजुरमुखी जेभीले ८० प्रतिशत र शर्मा युनाइटेडले २० प्रतिशत कालोपत्र गरेका छन् ।


०७४ असारदेखि निर्माण सुरु भएको बेनी—जोमसोम सडकको भौतिक प्रगति ६५ प्रतिशत र जोमसोम कोरला सडकको भौतिक प्रगति ९५ प्रतिशत छ । बेनी जोमसोम सडकको पहिलो खण्ड गलेश्वरदेखि तातोपानीसम्मको सडकको काम अहिले कन्ट्रक्सनले गरेको छैन । शर्र्मा युनाइटेडले जिम्मा लिएको सो खण्डमा ४ किमी सडकमात्र कालोपत्र गरिएको भए पनि बाढी, पहिरो र नदी कटानले त्यसमा क्षति पुगेको छ । ठेकेदार कम्पनी काम फर्किने र केही दिनमा काम अघि बढाइने आयोजना प्रमुख प्रजापती बताउँछन् ।


तातोपानीदेखि घाँसासम्मको स्तरोन्नति गरिएको सडक पनि बाढी, पहिरो र नदी कटानले क्षति गरेको छ । म्याग्दीको गलेश्वर र अन्नपूर्ण गाउँपालिकाको रुप्से झरना लगायतका स्थानमा आएको पहिरोले सडकमा क्षति पुगेको छ ।
म्याग्दीको काभ्रेमा सडक डाइभर्सन निर्माण गरी आवागमन सुचारु गरिएको छ । म्याग्दीको कमजोर भूबनोट, भारी वर्षा, नदी कटान र बाढी, पहिरोले सडक निर्माणमा बाधा पुग्ने गरेको आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया