दाहालको नेतृत्वमा डिएलए कास्की

समाधान संवाददाता २०७८ कार्तिक २८ गते १२:१६


पोखरा
अधिवक्ता कपिलमणि दाहाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) कास्की अध्यक्ष निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार शालिकराम भट्टराईको भन्दा ४६ मत बढी ल्याएर दाहाल निर्वाचित भएका हुन् ।

Advertisement


डिएलए कास्कीमा २ सयभन्दा धेरै सदस्य छन् । निर्वाचनमा भने १७० मत खसेको थियो । दाहालले १०७ मत ल्याएका थिए भने भट्टराईले ६१ मत ल्याए । पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनसमेत गर्ने दाहाल कास्कीको अन्नपूर्ण गाउँपालिकाका दाहालले २ दसकभन्दा लामो समयदेखि कानुनी व्यवसायी गर्दै आएका छन् । उनी समाधान दैनिक लगायत पत्रपत्रिकामा विश्लेषणसमेत लेख्छन् ।


अध्यक्ष निर्वाचित भएपछि दाहालले कानुन व्यवसायीको हकहितको पक्षमा कटिबद्ध हुने बचनबद्धता व्यक्त गरेका छन् । कार्यसमितिमा उपाध्यक्षमा कमलापति शर्मा पौडेलले शिवराज वाग्लेलाई पराजित गरे । पौडेलले ८६ मत ल्याउँदा वाग्लेको ८० आएको थियो ।


कृष्णकुमारी गुरुङ सचिवमा निर्वाचित भएकी छन् । अरु ३ जना प्रतिस्पर्धीलाई उनले पराजित गरेकी थिइन् । गुरुङले ६५ मत ल्याइन् । यज्ञराज अधिकारीले ४५, गीता आचार्यले ४३ र प्रकाश मिश्रले ८ मत पाएका थिए । सन्तोषमणि लामिछाने कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
मीनाकुमारी रानाभाट, कृति पाण्डे, उत्तम केसी, एकनारायण गौतम, मातृकाराज घिमिरे, हरिप्रसाद अधिकारी, सूर्यप्रसाद तिमिल्सिना, विनोद पौडेल र प्रकाश शर्मा सर्वसम्मत सदस्य निर्वाचित भए । निर्मलकुमार कार्कीको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन गराएको हो । निर्वाचन समितिमा कृष्णप्रसाद तिमिल्सिना र दिलमाया भुजेल सदस्य थिए ।


निर्वाचनअघि डिएलए केन्द्रीय अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले अधिवेशन उद्घाटन गरेका थिए । उनले न्यायपालिकामा शुद्धीकरणको आवश्यकता औंल्याए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिएर अहिलेको समस्याको समाधानका लागि बाटो खोलिदिनुपर्ने उनको भनाइ थियो ।

Advertisement


डिएलएका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे, उपेन्द्रकेशरी न्यौपाने, भरत खरेल, पूर्वमहासचिव सुनील पोखरेल र नेपाल बारका महासचिव लीलामणि पौडेल लगायतले पनि न्यायापालिकाको साख जोगाउन प्रधानन्यायाधीश राणा बाधक बन्न नहुने विचार व्यक्त गरेका थिए ।


नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले न्यायपालिकाका प्रमुखमा विवादमा आउँदा न्यायपालिकाको गरिमामा आँच आएको बताए । डिएलए कास्कीका अध्यक्ष विष्णुप्रसाद शर्मा मरसानी, वरिष्ठ अधिवक्ता रामचन्द्र त्रिपाठी, विश्व घिमिरे, फणीन्द्रराज अधिकारी, जगन्नाथ ढकाल, कृष्ण तिमिल्सिना, विष्णुकुशल भुजेल, कमलापति पौडेल, विष्णु खनाल र प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल लगायतले पनि कार्यक्रममा मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया