साहित्यकार बजिमय रहेनन्

समाधान संवाददाता २०७८ कार्तिक २८ गते २०:१९


पोखरा

साहित्यकार विजय बजिमयको आइतबार काठमाडौंमा निधन भएको छ । उनी विसं २०१४ चैत २३ मा पोखराको मोहरिया टोलमा जन्मिएका थिए । शारीरिकरूपमा जन्मजात अपांग भए पनि बजिमयले कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका छन् ।


सोमबार बिहान ८ बजे उनकै निवास महोरियाटोलबाट शवयात्रासहित अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । मोहोरिया टोलबाट नालामुख, तेर्सापट्टी, गिरिजाचोक, धर्मशीला वुद्धबिहार, नदीपुरचोक, कन्या क्याम्पस, बाल मन्दिर हुँदै तुलसीघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने भएको छ ।

Advertisement


यसैबीच, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले शोक विज्ञप्ति निकालेर बजिमयको निधनमा दुःख व्यक्त गरेका छन् । बजिमय परिवारका पूर्वअध्यक्ष हुन् ।


बजिमयका अन्ततोगत्वा (कथासंग्रह) र समय भनेको समय हो (कवितासंग्रह) प्रकाशित छन् । समीक्षा साप्ताहिकमा संवाददाता बनेका वजिमयले फेवाताल (सामयिक संकलन), नौलो डाँको (साप्ताहिक), आँखीझ्याल (गोजिका) र पलाँस(गोजिका)सम्पादन तथा प्रकाशन गरेका थिए ।

Advertisement


बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक संघको केन्द्रीय नेतृत्वमा रहिसकेका छन् ।


नेत्र स्मृति पुरस्कार, मोती पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतका पुरस्कार उनले पाएका थिए । बजिमय पोखरा लायन्स क्लब र वागिना परिवारसँग पनि सम्बद्ध थिए । अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि जन्मस्थल पोखरा ल्याइएको परिवार स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया