
सञ्जय रानाभाट
पोखरा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा माग गरेको छ । अनेरास्ववियू गण्डकी प्रदेशका संयोजक प्रकाश पौडेलको संयोजकत्वमा विद्यार्थीहरुले अस्पतालको तालुक निकाय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्रीसँग आइतबार उक्त माग गरेका हुन् ।
क्षेत्रीय अस्पतालमा ७ वर्षदेखि सिटी स्क्यान सेवाबाट छैन । ‘यस्तो अवस्थामा अनेरास्ववियु टुलुटुल हेरेर बस्न सक्दैन । स्वास्थ्य उपकरणहरुलाई तत्कालै सुधार गरेर यथाशीघ्र सञ्चाल गर्नुपर्छ,’ पौडेलले भने । गरिब निमुखा र सर्वहाराको पहुँचमा रहेको सेवा सिटी स्क्यान छिट्टो सञ्चालनमा ल्याउन विद्यार्थीहरुले माग गरे । स्वास्थ्यमाथि तस्करहरुको जालो फैलिँदो क्रम बढ्दै गएको भन्दै अनेरास्ववियूले त्यही जालोमा क्षेत्रीय अस्पताल परेको आशंका गरेको छ । प्रदेश संयोजक पौडेल, सचिव आरके पोखरेल, विद्यार्थी नेता अर्जुन अधिकारी, प्रतीक्षा पौडेल, अञ्जली लम्साल लगायतको टोली प्रतिष्ठान पुगेर उपकुलपतिलाई ज्ञापनपत्र दिएको थियो ।
सचिव पोखरेलले नयाँ खरिद गर्न लागेको मेसिन समयमै नआउँदा आर्थिक चलखेलको आशंका उत्पन्न भएको बताए । उपकुलपति क्षेत्रीलाई उनीहरुले छिटो सिटी स्क्यान सेवा सुरु नगरे थप संघर्षका कार्यक्रमहरु गर्ने बताए । प्रतिष्ठानका उपकुलपति क्षेत्रीले खरिद कम्पनीले बढी कमिसन आउने चक्करमा मेसिन आउन ढिला भएको सुनाए । उनले अस्पतालमा सिटी स्क्यान मेसिन ल्याउन ढिला हुनुमा अस्पतालभित्रका डाक्टरहरु सहभागी भएको पनि बताए ।
‘नेपाल सरकारले एक चिकित्सक एक स्वास्थ संस्थामा काम गर्नुपर्ने भएपनि यस्तो हुन सकेको छैन । बाहिरबाहिर गएर काम भइरहेकाले यस्तो अवस्था आएको हो,’ उनले भने, ‘अफिस समयमा बाहिर गएर काम गर्ने समस्याले यो अवस्था आएको हो ।’ अस्पतालमा भएको पुरानो सिटी स्क्यान काम नलाग्ने भएपछि नयाँ खरिद गर्न प्रक्रियामा रहेको उनले बताए ।
नयाँ खरिद गर्दा ऐन प्रक्रिया जटिल भएको डा क्षेत्रीले बताए । सम्झैता भएको ९० दिनभित्र सिटी स्क्यान आउनुपर्नेमा ढिला भएको उनले स्वीकाररे । ‘सप्लायर्सले आलटाल गरिरहेकाले ढिला भएको हो,’ उनले भने, ‘ताकेता गरेका छौं । सकेसम्म छिट्टो हुन्छ । सप्लायर्स र कम्पनीको आलटालका कारण ढिला भयो ।’
समयमा पूरा गर्न नसक्दा टेन्डर आह्वान भएको सेकेन्ड म्यानलाई दिनुपर्नेमा यस्तो गर्न नसकेको उनले बताए । ‘४ वटाले टेन्डर प्रक्रिया पूरा गरेका थिए । सबै भन्दा कम जस्ले हाल्यो यसैलाइ दिएका हौं,’ उनले भने । अर्कोलाई दिँदा ३/४ महिना ढिला हुँदोरैछ उनले बताए । छिट्टै सिटी स्क्यान आउने ढुक्क हुन अनुरोध गरे । अरु सेवाहरु चलिरहेको छ । अस्पतालले कोभिडसँग सम्बन्धित मेसिनरी समानहरु खरिद प्रक्रियामा रहेको बताए । अस्पतालको सिटी स्क्यान कोठामा अहिले ठूलो भोटे ताल्चा लागेको छ । अस्पतालमा दैनिक ओपिडी र इमर्जेन्सीमा गरी ५ सयसम्म बिरामी आउने प्रशासन बताउँछ ।
सटी स्क्यान मेसिन किन्न गत असारमै बोलपत्र आह्वान भएको थियो । ६ वर्षअघि श्रीकृष्ण श्रेष्ठ मेडिकल सुपरिटेन्डेन्ट हुँदा अस्पतालमा रहेको सिटी स्क्यान बिग्रिएको थियो । श्रेष्ठकै अवधिमा ७० लाख खर्चेर बनाएपछि १ वर्षपछि फेरि मेसिन बिग्रिएदेखि सञ्चालनमा आएको छैन । खत्रीपछि डा. अर्जुन आचार्य निर्देशक हुँदासमेत सिटी स्क्यान सञ्चालनमा आएन ।


सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया