कोदोको रक्सी ब्रान्डिङ खोजी गर्दै गण्डकी विश्वविद्यालय

समाधान संवाददाता २०७८ मंसिर १ गते ११:५९

पोखरा ।
मुलुकमा विदेशी मदिरा आयात अत्यधिक छ । गाउँघरमा बनाएको कोदोको रक्सी भने प्रहरीले जफत गर्दै मिल्काउँछ । घरेलु रक्सी बनाउने, खाने वा बिक्री गर्ने दर घटेको भने छैन । नेपालका थुप्रै जाति र समुदायमा घर, व्यवहार र पूजाआजामै अनिवार्य छ रक्सी । रक्सी न नियन्त्रण हुन सकेको छ, न त राम्ररी नियमन ।


नेपालमा यस्तो किन भइरहेको छ भने गाउँघरमा कोदो, चामल, उवा र जौ आदिबाट बनेको रक्सीको अहिलेसम्म स्तर निर्धारण भएको छैन । न त नेपालका घरेलु रक्सीलाई कानुनी मान्यता नै दिइएको छ । कतिपय बेला घरेलु रक्सी खाएर मानिसको ज्यानैसमेत गएको छ । गएको साउन ५ गतेमात्रै बागलुङमा विषाक्त घरेलु रक्सी खाँदा ७ जनाको मृत्यु भएको थियो ।


नेपालीका घरघरजसोमा बन्ने कोदोको रक्सी कसरी मानिसको मृत्युको कारण बन्दैन ? कुन कुन तत्व कतिकति मात्रामा हुनुपर्छ ? कसरी बनाउनुपर्छ ? कसरी स्तर निर्धारण गर्न सकिन्छ ? र कसरी ब्रान्डिङ कसरी गर्न सकिन्छ भनेर गण्डकी विश्वविद्यालयले अनुसन्धान थालेको छ । जसरी दक्षिण कोरियाले आफ्नै स्थानीय रक्सी सुजुको ब्रान्डिङमात्रै गरेको छैन, अर्थाेपार्जनको माध्यम पनि बनाएको छ, त्यस्तै सम्भावना नेपाली रक्सीमा पनि छ कि भन्ने खोजी विश्वविद्यालयले थालेको अनुसन्धानको चासोभित्र छ ।

Advertisement


कुलपति प्राडा गणेशमान गुरुङले कोदोको रक्सीलाई कसरी ब्रान्डिङ गर्न सकिन्छ भनेर विश्वविद्यालय अनुसन्धानमा लागेको जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कन्फरेन्स प्रोसेडिङ्स विमोचन समारोहमा मंगलबार कुलपति गुरुङले यो जानकारी दिए । प्रोसेडिङ्सको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विमोचन गरे ।


कुलपति गुरुङकै भनाइमा विश्वविद्यालयले कोदोको रक्सीको नमुना संकलन गरी गुणस्तर मापन तथा खाद्य विभागको प्रयोगशालामा पठाइसकेको छ । विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिनाका अनुसार विभागमा पठाइएका गण्डकीका ५ जिल्लाका नमुना रक्सीमा कुन कुन तत्व छन् भन्ने पत्ता लाग्नेछ । ‘कसरी बनाएको रक्सीले ज्यान लिन सक्छ र कसरी बनाएकाले लिँदैन भन्ने पनि पत्ता लाग्छ,’ उनले भने, ‘रक्सीको फर्मुला के हो भन्ने पत्ता लगाएर त्यसलाई विश्वविद्यालयले सेयर गर्नेछ ।’

Advertisement


विश्वविद्यालयले पठाएको रक्सीमा खाद्य विभागको विश्लेषणबाट इथानेल, मिथानेल, कार्बाेहाइड्रेड, आर्सेनिक, लिड, मर्करी लगायत के कति मात्रामा छ भन्ने पत्ता लाग्ने जानकारी डा. तिमिल्सिनाले दिए । ‘विभागले यति यति छ भनेपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार छ कि नाइ भनेर विद्वानहरुले अध्ययन गर्नुहुन्छ,’ उनले भने । रक्सीको मर्चाको विश्लेषण गर्न कृषि विश्वविद्यालय पठाइएको जानकारी पनि तिमिल्सिनाले दिए । मर्चा र रक्सीका तत्व र फर्मुला यकीन गर्ने विश्वविद्यालयको अनुसन्धानको उद्देश्य रहेको उनको भनाइ छ ।


रजिस्ट्रार तिमिल्सिनाले रक्सीको सामाजिक पाटोका बारेमा पनि अध्ययन, अनुसन्धान गर्ने सुनाए । कोदोको रक्सीको फर्मुला, मर्चाको फर्मुला र तिनका स्वास्थ्य, सामाजिक र आर्थिक लगायत पाटोको अनुसन्धानपछि प्याटेन्ट राइट दर्ताको प्रक्रियाअघि बढाउने उनले जानकारी दिए ।
विश्वविद्यालय पठनपाठनसँगै अनुसन्धानमा केन्द्रित हुनुपर्ने भन्दै गण्डकीले हालै अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशाला गरेको थियो । त्यही कार्यशालामा बेलायत, कोरिया, अमेरिका, काजकास्तान, नेपाल लगायत देशका विज्ञले प्रस्तुति दिएका थिए । उनीहरुले विश्वमा अहिले चलिरहेको उच्च शिक्षाको तौरतरिका र नेपालमा दिनुपर्ने शिक्षाबारे लेखेका खोजमूलक आलेख उक्त किताबमा छन् ।


विमोचनपछि मुख्यमन्त्री पोखरेलले विश्वविद्यालय सरकारका लागि थिंक ट्यांक भएको बताए । उनले विश्वविद्यालय स्थापनाको बहस सुरु हुँदा नयाँ विश्वविद्यालय किन चाहियो भन्ने प्रश्नसमेत उठेको र आफ्नो पार्टी प्रतिपक्षमा रहँदा संसदीय दलमा दुईथरी विचार आएको स्मरण गरे । ‘संघीयता झल्काउने भनेको प्रदेशले हो र त्यो पहिचान झल्काउन जरुरी छ भन्ने विचारले प्राथमिकता पायो र विश्वविद्यालय स्थापना भयो,’ उनले भने ।


मुख्यमन्त्री पोखरेलले मेडिकल कलेज चलाउन ध्यान दिन आग्रह गरे । ‘विश्वविद्यालयले प्राविधिक कुरामात्रै मिलाएर हुँदैन, प्राविधिक, व्यवहार र वास्तविक तिनै चिज मिलाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘हाम्रो प्रडक्स विश्व बजारमा खोसाखोस् हुनुपर्छ, तबमात्रै यसको उपादेयता हुन्छ ।’
विना विभागीय मन्त्री डोवाटे विश्वकर्माले आफ्नो दल प्रतिपक्षमा रहेका बेला विश्वविद्यालय विधेयक आउँदा आफूले संशोधन प्रस्ताव हाले पनि त्यो पारित हुन नसकेको स्मरण गरे । उनले संविधानले गरेको व्यवस्था अनुसार समावेशी हुनुपर्ने भनेर आफूले संशोधन हालेको सुनाए । ‘अहिले यो विश्वविद्यालय स्थापना भइसकेपछि अरु प्रदेशले पनि हामीबाट सिको गर्न खोज्दैछन्,’ उनले भने । मन्त्री विश्वकर्माले गण्डकीका उत्पादन विश्वस्तरीय हुनुपर्ने सुझाए ।


प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले छोटो अवधिमा गण्डकी विश्वविद्यालयले राम्रा उपलब्धि हाँसिल गर्न सकेको बताए । उपकुलपति प्राडा नवराज देवकोटाले पाठ्यक्रम तर्जुमा, विनियम निर्माण र आवश्यक कर्मचारी भर्ना लगायत काम गरी पठनपाठन सुरु गरिसकेको जानकारी राखे । छात्रवृत्तिमा पढाउनुपर्ने विद्यार्थीका लागि आवश्यक खर्चका लागि विश्वविद्यालले अप्ठेरो सामना गर्नुपरेको उनले सुनाए । अधिकृत डोलराज सुवेदीले विश्वविद्यालयका गतिविधिबारे जानकारी गराए ।

तपाईको प्रतिक्रिया