पाेखरामा विप्लवको प्रभाव

सञ्जय रानाभाट २०७८ मंसिर १ गते १२:०१

पोखरा ।
गण्डकी प्रदेशको पोखरामा मंगलबार जनजीविका प्रभावित भयो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण धेरै क्षेत्र बन्द नै रहे । सरकारले पेट्रोयिम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध गर्दै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द गरेको थियो । बन्दको प्रभाव पोखरामा परेको छ । बिहानदेखि नै कार्यकर्ताले चोक चोकमा बसेर यातायातका साधान चल्ल रोकेका थिए । सार्वजनिक सवारी साधनहरु सञ्चालन नभएपछि सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, व्यापार व्यवसाय, प्राइभेट कम्पनीहरु बन्द नै रहे । बिहानैदेखि कार्यकर्ता चोक चोकमा बसेर पसल व्यवसाय सञ्चालन गर्न नदिएपछि जनजीविका प्रभावित बनेको हो ।


विशेष गरेर बन्दका कारण सवारी साधन नचल्दा यात्रुले सास्ती पाएका छन् । गन्तव्यमा पुग्न चोकमा निस्किएर बसेका यात्रुले सार्वजनिक सवारी नचल्दा दुःख पाएका छन् । कामकाजले पोखरा आएका र काम विशेषले पोखरा बाहिर जानुपर्ने मानिसलाई यसको प्रत्यक्ष प्रभाव परेको छ । पोखराका अमरसिंह चोक, पृथ्वीचोक, महेन्द्रपुल, बगर, बाग्लुङ बसपार्क, हरिचोक, हेमजा, बेगनासताल र तालचोकमा सवारी साधनको प्रतीक्षामा बसेका मानिसले दुख पाएका हुन् ।


एम्बुलेस, प्राइभेट ट्याक्सी, मोटरसाइकल, स्कुटर फाट्टफुट्ट चलेका थिए । बिहानैदेखि लामो गन्तव्यका लागि छुट्ने कुनै पनि सवारी साधन नचलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बिहानदेखि फाट्टफुट्ट रुपमा सवारी साधन चलेको बताए । काठमाडौं पोखराका माइक्रो केही मात्रामा सञ्चालन भएको उनले जनाकरी दिए । ‘बन्दको नाउँमा कतै पनि दुर्घटना भएको छैन । सवारी साधन निर्वाध रुपमा चल्ने अवस्था थियो । बिहान एकछिन कम सवारी चले पनि दिउँसो बाक्लै चले,’ उनले भने ।
सडक बन्द गर्दै हिँड्ने ८ जना पक्राउ परेको र तीमध्ये ३ जनालाई दिउँसै छाडिएको उनले बताए ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया