व्यवसायीका नेताहरु कांग्रेस महाधिवेशनमा उम्मेदवार

समाधान संवाददाता २०७८ मंसिर २ गते १९:५१


पोखरा
उद्योगी, व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष अर्जुन पोखरेलले पनि सोही पदमा उम्मेदवारी घोषणा गरेका छन् । दुवै जनाले कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिन लागेका हुन् ।


संघका महासचिव सुरेन्द्र बिजुक्छे नेपाली कांग्रेस महानगर समिति सभापति छन् । असोज ९ गतेको अधिवेशनबाट उनी सभापति निर्वाचित भएका हुन् । त्यसअघि पनि उनी कांग्रेसको नगर उपसभापति थिए भने संघमा कोषाध्यक्ष थिए ।


संघका उपमहासचिव केशबहादुर खत्रीले कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्ष बलराम आचार्य क्षेत्रीय प्रतिनिधि निर्वाचित भइसकेका छन् । जिल्लासम्मका अधिवेशनका लागि उनी मतदाता हुन्छन्, महाधिवेशन प्रतिनिधि चुन्न पनि मतदाता हुन्छन् । संघकी सदस्य कुमारी मुना बास्तोलाले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिलातर्फ उम्मेदवारी घोषणा गरेकी छन् ।

Advertisement


त्यसो त पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु उम्मेदवार बनेका थिए । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रजु संघको अध्यक्षमा भने पराजित भएका थिए ।

पत्रकार पनि छन् कांग्रेस महाअधिवेशनका उम्मेदवार

Advertisement


अध्यक्ष नारायण कोइराला संघमा आफूहरुको कार्यकाल सकिन लागेको बताउँछन् । ‘६/७ महिनापछि त संघकै चुनावी माहोल सुरु हुन्छ,’ उनले भने । संघको विधानले राजनीतिक दलमा उम्मेदवार बन्न नरोकेको उन िबताउँछन् । पदाधिकारीहरु पार्टीहरुको अधिवेशनमा उम्मेदवार बने पनि संघ भने सबै व्यवसायी र उद्यमीको साझा संस्था भएको कोइरालाको भनाइ छ ।


नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी पार्टीहरुले नै उद्योग, वाणिज्य क्षेत्रका व्यक्तिलाई पनि प्रतिनिधि बनाउन चाहँदा पोखराका व्यवसायी, उद्योगीमा त्यो चाहना उत्पन्न भएको हुन सक्ने ठान्छन् । एमालेले उद्योगी, व्यवसायीको भातृसंस्था नै खोलेको छ तर कांग्रेसले त्यसो नगरेको हुँदा महाधिवेशनकै माध्यमबाट पार्टी राजनीतिमा लाग्ने चाहना देखिएको हुन सक्ने पनि उनी बताउँछन् ।


त्यसो त विभिन्न संघ, संस्थाको नेतृत्व चयन गर्दा कांग्रेस, एमाले र माओवादी लगायत पार्टीकै तर्फबाट प्यानलसहितको उम्मेदवारी खडा हुने प्रवृत्ति छ । स्वतन्त्र र निष्पक्ष भनिने पत्रकारिता पेसा पनि त्यही रोगबाट ग्रसित छ । पत्रकार महासंघको चुनावमा समेत पार्टी समर्थित उम्मेदवार प्रतिस्पर्धा गर्दै आएका छन् । पछिल्लो समय भइरहेका कांग्रेस र एमालेका अधिवेशनमा पत्रकारहरुसमेत उम्मेदवार बनेका छन् ।

तपाईको प्रतिक्रिया