गणकलाई सास्ती : घर पस्न दिँदैनन्, अपशब्द बोल्छन्, बोल्नै मान्दैनन्

समाधान संवाददाता २०७८ मंसिर ३ गते १३:५९

सञ्जय रानाभाट
पोखरा ।
जनगणनाका लागि गणक पोखरा १२ को एउटा घरमा पस्न खोजिन् । घरधनीले मरिकाट्टे गेट खोलेनन् । त्यसपछि अर्काे घर छिरिन्, जहाँ गेट खुल्लै थियो तर ढोका बन्द । बाहिरबाट बोलाइन्, ‘घरमा को हुनुहुन्छ ?’ घरभित्र मानिसहरु टिभी हेरेर बसिरहेका थिए, तर जति बोलाए पनि बाहिर कोही निस्किएनन् । ‘कोही छैन, कोही छैन’ भन्दै भित्रै बसिरहे ।


ती गणक फेरि अर्काे घर गइन्, जहाँ घरका मानिस भेटिए, बोल्न पनि आए । गणकको खुसी भने एकछिन् पनि टिकेन । जनगणनाका लागि आएको मात्रै के भनेकी थिइन्, उल्टै झपार्न थाले । ‘तिमी पैसा पाउँछ्यौ, तिमलाई भनेर हामीले के पाउँछौं ?’ ती घरकाले भन्न थाले, ‘पैसा दिन्छ्यौ ?’ केही बेर बसेर सम्झाउन खौज्दै थिइन् तर सम्झिने छाँटकाट देखिएन ।

Advertisement


निरास हुँदै हुँदै एकपछि अर्काे घर चहर्दा ती गणकले थोरै घरबाट मात्रै तथ्यांक संकलन गर्न सकिन् । भन्छिन्, ‘आर्थिक स्रोतका लागि के काम गर्नुहुन्छ भनेर सोध्दा ५ तले घर हुनेले पनि बसीबसी खान्छौं भन्दै मुख फर्काउँछन्, बांगोबांगो कुरामात्रै गर्छन् ।’


जनगणनामा घरायसी सामानको बारेमा सोध्ने प्रश्नावली पनि छन् । जस्तै घरमा इन्टरनेट छ कि छैन ? टेलिभिजन छ कि छैन ? स्मार्ट फोन छ कि छैन ? वासिङ मेसिन छ कि छैन ? यस्ता प्रश्न गर्दा गणकले पाउने उत्तर हुन्छ— के सोधेको यस्तो ? अचेल जसका घरमा पनि हुन्छ ।
जनगणनामा खटिएका गणकले उत्तरदाताबाट उत्तरमात्रै नभई कतै खप्की पाएका छन्, त कतै अपमान । कतिले त गणक देखेपछि कुकुर छोडिदिने गरेको गुनासो पनि आएको छ । तथ्यांक कार्यालय कास्कीका स्थानीय जनगणना अधिकारी सूर्यप्रसाद आचार्य कतिपय गणक कलेज पढ्दै गरेका र अनुभव नभएको हुँदा कतिपय अप्ठेरो ठाउँमा सामना गर्न गाह्रो भएको हुन सक्ने बताउँछन् ।

Advertisement


कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म जनगणना हुने भनेर सरकारले विभिन्न माध्यमबाट प्रचार गरेको थियो । मोबाइल फोनको कलब्याक रिङ ट्युनमा पनि जनगणनाको सन्देश राखिएको छ । कसैलाई फोन गर्दा सन्देश आउँछः ‘यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मख्य प्रश्नवाली भर्नाका लागि प्रत्येक घरमा खटिइआउने कर्मचारीहरुलाई सत्य, तथ्य विवरण उपलब्ध गराई राष्ट्रिय जनगणना २०७८ सफल पार्न केन्द्रीय तथ्यांक विभाग हार्दिक अनुरोध गर्दछ । मेरो गणना मेरो सहभागिता’ । तर कतिपयले भने जनगणनाबारे थाहै नभएको प्रतिक्रिया दिने गरेका छन् ।


जनगणना अधिकारी आचार्य घरमा मानिस नभेटिने समस्या पनि देखिएको सुनाउँछन् । ‘आफ्नो कामको सिलसिलामा बाहिर गएका हुन्छन्, बिहान निस्कने र बेलुका साह्रै अबेला आउने, समस्या छ,’ उनले भने, ‘सबै विवरण दिन नखोज्ने, उत्तर दिन नखोज्ने, विदेश भएको मान्छेको नाम पनि टिपाउने खालका समस्या छन् ।’ गणकका अनुभवमा कतिपय उत्तरदाताले अविश्वास प्रकट गर्ने गरेका छन् । ‘धर्म जे टिपाए पनि पछि टिपेक्स लगाएर क्रिस्चियन बनाइदिने त होला भन्छन्,’ एक गणकले सुनाइन् ।


कास्कीका लागि १ सय ९० सुपरीवेक्षक र ८ सय ५० जति गणक खटाइएको छ । २० जना गणकलाई कतै अप्ठयारो परेमा खटाउने गरी स्ट्यान्ड बाई राखिएको छ । कास्कीमा १ लाख ४५ हजार घरधुरी देखिएका छन् । तीमध्ये १ लाख १६ हजार घरमा १ लाख ६८ हजार परिवार रहेको देखिएको छ ।


कास्कीको जनसंख्या ६ लाखभन्दा माथि पुग्ने अनुमान छ । २०६८ को जनगणनामा जिल्लाको जनसंख्या ४ लाख ९२ हजार थियो । पछिल्लो समय जन्मदर कम देखिएको, नेपाली विदेशमा बसाइँसराइ गरेका लगायत कारणले नेपालको जनसंख्या वृद्धिदर कम हुने विभागले जनाएको छ । जनगणना सकिएको ३ महिनामा प्रारम्भिक नतिजा आउनेछ ।


तथ्यांक के हो र किन चाहिन्छ ?
सूर्य आचार्य, स्थानीय जनगणना अधिकारी
जनगणनाको महत्व देशको नीति, निर्माण र विकाससँग हुन्छ । विकास केका लागि ? आपूर्ति केका लागि ? भन्दा नागरिकका लागि हो । मानिसका लागि हो । विकास चाहिएको पनि मानिसलाई हो । हरेक चिजको खाँचो मानिसलाई पर्छ । त्यो खाँचो टार्नलाई, मानिसको आवश्यकता अनुसारको विकास निर्माण गर्नका लागि, त्यहाँ कति मानिस बस्छन्, ती मानिसका आवश्यकता के हुन् ? अहिलेसम्म के के स्रोत, साधन पुगेका छन्, के के पुगेका छैनन् भन्ने यथेष्ट जानकारी चाहिन्छ ।


देशका लागि आवश्यक जनशक्तिको लागि देशभित्र कुन उमेर समूहका नागरिक कति छन्, तिनीहरुको शिक्षाको स्तर के कस्तो छ ? क्षमता के छ ? उनीहरु भन्ने खालका सूचनाहरु राज्यसँग भयो भने त्यही अनुसारको योजना बनाउन र कार्यक्रम गर्न राज्यलाई सजिलो हुन्छ । जस्तो गएको १ वर्ष कोभिड खोप महानगरपालिका वडाहरुलाई दिइएकोमा कम भयो । मारामार भयो । गाउँतिर गएको खोप लक्षित वर्गभन्दा कम उमेरका मानिसले पनि लगाउन पाए । किन त्यस्तो भयो भने हामीसँग यो ठाउँमा ठ्याक्कै यति जनसंख्या छ भन्ने यकीन तथ्यांक भएन ।

तपाईको प्रतिक्रिया