कृषि
मुस्ताङको स्याउले कमायो ५५ करोड आम्दानी
यसबर्ष ४ सय ५१ मेट्रिक टन अर्थात ९ प्रतिशत स्याउ उत्पादन बृद्धि

जोमसोम—स्याउ उत्पादले प्रसिद्ध मानिएको हिमाली जिल्लामा यसबर्ष ५५ सय ४० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष ५१ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यसबर्ष ४ सय ५१ मेट्रिक टन अर्थात ९ प्रतिशत स्याउ उत्पादन बृद्धि भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
मुस्ताङमा यसवर्ष ५ सय २० हेक्टर उत्पादनशील क्षेत्रफलमा लगाईएको स्याउ बोटमा डेढ लाख बोटबाट उक्त परिमाणमा स्याउ फलेको हो । मुस्ताङको थासाङ गाउपालिकामा ८ सय ९८ ,घरपझोङ गाउपालिकामा २५ सय ६८ ,वारागुङ मुक्तिक्षेत्र गाउपालिकामा १९ सय ३६ ,लोघेकर दामोदरकुण्ड गाउपालिकामा १ सय २० र लोमान्थाङमा ३२ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए ।उनका अनुसार जिल्लामा ५५ सय ६४ मेट्रिक टन स्याउ उत्पादन हुदा ५५ करोड रुपैया मुस्ताङ भित्रिएको हो ।
मुस्ताङका ५ स्थानीय तह गरी कुल १४ सय ४० हेक्टर जमिनमा स्याउ खेती बिस्तार भएको छ । जसमध्ये ५ सय २० हेक्टर जमिनमा लगाईएको स्याउ बोटले मात्र उत्पादन दिने गरेको छ ।मुस्ताङको घरपझोङमा ५ सय ७२ ,वारागुङ मुक्तिक्षेत्रमा ५ सय ९४ ,थासाङमा १ सय ६२ ,लोघेकर दामोदरकुण्डमा ८६ र लोमान्थाङ गाउपालिकामा २९ हेक्टर जमिनमा स्याउ खेती गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
केन्द्रका अनुसार वारागुङ मुक्तिक्षेत्रमा नया स्याउका बिरुवा बिस्तार गरिएकाले केही कम उत्पादन भएको हो भने घरपझोङको मार्फामा स्याउ बोटमा सान जोस स्केलको प्रकोप र स्क्याप रोगको प्रकोप देखिएका उत्पादन घटेको हो । घरपझोङमा मार्फामा उत्पादन घटेपछि जिल्लामा सबै भन्दा बढी स्याउ उत्पाद हुने स्थानीय तह घरपझोङ बनेको छ । यस्तै ,लोमान्थाङमा पछिल्लो समय मात्र स्याउ खेती बिस्तार भएकाले जिल्लामा सबै भन्दा कम स्याउ उत्पादन भएको हो ।
यस बर्ष मुस्ताङको मार्फा बाहेक अन्य स्थानका स्याउ किसानले उचित बगैचा ब्यवस्थापन र रोग नियन्त्रण गर्न सकेकाले आशिंक स्याउ उत्पादन बृद्धि भएको हो ।यस बर्ष मुस्ताङमा उत्पादन भएको ८० प्रतिशत स्याउ दशै—तिहार पर्वमा जिल्ला बाहिरिएको हो ।यस्तै, बिक्री भईनसकेको बाँकी २० प्रतिशत स्याउ मध्ये केही टन कोल्ड स्टोरमा रािखने र केही स्याउको खुद्रा बिक्री र स्याउको बिभिन्न परिकारका लागि प्रशोधनमा उपयोग हुने गर्छ ।
मुस्ताङमा परम्परागत रैथाने रेड डेलिसियस,रोयल डेलिसियस,रिचारेड डेलिसियस र सेतो जातको गोल्डेन डेलिसियस जातको स्याउ उत्पादन हुने गर्छ ।पछिल्लो समय किसानले छिटो छरितो फल दिनसक्ने उच्च घनत्वको स्याउ बिरुवा लगाउने गरेको पाईएको छ । संघ तथा प्रदेश सरकारको अनुदान सहुलियतमा गत वर्ष र यसबर्ष गरी करिव ५० हजार उच्च घनत्वको नया स्याउका बिरुवा लगाईएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया