कांग्रेसमा रूपान्तरणका लागि पुस्तान्तरण किन ?

समाधान संवाददाता २०७८ मंसिर ४ गते १२:३४
योगराज लामिछाने

योगराज लामिछाने

नेपाली कांग्रेसको चालु १४ औं महाधिवेशनबाट नेतृत्वमा को आउला भन्ने चासो सर्वत्र छ। यो चासो खासमा कोभन्दा कस्तो भन्नेमा केन्द्रित छ। अर्थात् महाधिवेशनको पेचिलो मुद्दा पुस्तान्तरण र रूपान्तरणको हो।

अनि फेरि रूपान्तरण मात्रै पुस्तान्तरण होइन र पुस्तान्तरण पनि आफैंमा रूपान्तरण नहुन सक्छ। कसैको चाहना रूपान्तरणमात्रै छ, कसैको पुस्तान्तरण र कसैको भने पुस्तान्तरणसहितको रूपान्तरण।

अघिल्लो पुस्ताका नेता भएर पनि पार्टी र सरकारको नेतृत्व गर्ने मौका नपाएकाहरू पार्टीभित्र पुस्तान्तरण नभई रूपान्तरण जरुरी ठान्छन्। तर युवा नेताहरूलाई भने पुस्तान्तरण चाहिएको छ।

पुरानो पुस्ताले आधुनिक समयका रंगीन चुनौतीहरूको सामना गर्न नसक्ने तर्क युवा नेताहरूको छ। त्यसैले युवाहरू पार्टीभित्र र बाहिर परिवर्तनका लागि पुस्तान्तरणको औचित्यता पुष्टि गर्ने अभियानमा लागेका छन्।


वास्तवमा पुस्तान्तरण केही थान निश्चित उमेरका नेतालाई तुलनात्मक रूपमा थोरै उमेरका नेताले प्रतिस्थापन गर्नु कदाचित होइन। नवीन विचार, ताजा दृष्टिकोण र समयमैत्री क्रियाशील युवाको सार्थक हस्तक्षेप चाहिँ वास्तवमा पुस्तान्तरण हो।

त्यसैले नेपाली कांग्रेसभित्र पुस्तान्तरण पार्टीलाई बिल्कुलै युवा क्लबमा रूपान्तरण गर्न नभई नेतृत्वलाई ज्येष्ठ नागरिक मञ्च बन्नबाट जोगाउन बढी केन्द्रित छ। पुस्तान्तरण पनि फगत पुस्तान्तर नभई रूपान्तरणसहितको पुस्तान्तरण हुनुपर्छ। समाज र समयको आवश्यकता बुझ्दै समृद्ध मुलुक बनाउन सक्ने जुझारू युवा पुस्ताको नेतृत्व तहमा हुने राजनीतिक उपस्थिति वास्तविक पुस्तान्तरण हो।

नेपालले राजनीतिक परिवर्तन पटकपटक बेहो¥यो। विडम्बना के भने पार्टीहरूको कार्यशैलीमा रूपान्तरण आएन। विकास धिमै रह्यो। त्यसको कारण अहिलेको नेतृत्व पुस्तामा व्याप्त दृढ इच्छाशक्तिको अभाव हो भन्ने पार्टीभित्र र बाहिरका युवा पुस्ताको ठम्याइ छ।

त्यसैले राजनीतिक दलमा आवद्ध वा स्वतन्त्र युवा पुस्ता मुलुकको रूपान्तरणका लागि प्रथमत् राजनीतिक दलभित्र रूपान्तरण जरूरी ठान्छ। त्यस्तो रूपान्तरण पुस्तान्तरणबाट हुनसक्छ भन्ने पनि सोच्छ। बृहत् अर्थमा आम नेपालीका साझा समस्या र साझा सम्भावना माथि दलहरूको साझा दृष्टिकोण निर्माण पनि पुस्तान्तरणसँग जोडिएको छ।

नेपाली कांग्रेस स्थापना गर्दा बिपी कोइराला युवा थिए। मझबुत संगठन निर्माण गर्दै प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल पार्न बिपीसहितको युवा पुस्ता कामयाबी भयो। त्यही नेतृत्वले थोरै समयमै विकासका लागि एउटा मोडल प्रस्तुत गर्दै थियो।

बिडम्वना प्रजातन्त्र र विकासको त्यो मोडल राजा महेन्द्रको ‘कू’को सिकार हुनुपर्‍यो। आज त्यही नोस्टाल्जियाका कारण पनि नेपाली राजनीतिले मुलुक रूपान्तरणका लागि नेतृत्वमा पुस्तान्तरण खोजिरहेको छ। मुलुक धेरै वर्षसम्म राजनीतिक परिवर्तनको फगत प्रयोगशाला बनिरहेको छ। मुलुकले वास्तविक रूपान्तरणका योगदान, योग्यता र योजना भएका युवाहरूको एकीकृत हस्तक्षेप पर्खिरहेको छ।

रूपान्तरणले राजनीतिक अभियानलाई फरक ढंगले सञ्चालन गर्ने शैली माग्छ। त्यो शैली समयलाई समात्न सक्ने युवामा हुन्छ। ठूलो संख्यामा सहभागी जुटाउने कला अनि व्यापक स्तरमा बहसलाई उठान गर्ने सिप युवा नेतृत्वमा हुन्छ भन्ने उदाहरण कोरोनाकालको बालुवाटार केन्द्रित ’इनफ इज इनफ’ अभियानलाई लिन सकिन्छ।

पार्टीभित्र व्यापक क्रियाशील सदस्य थप गर्ने अभियानका कारण कांग्रेसभित्र ठूलो संख्याका युवाको सहभागिता बढेको छ। यस्तो माहोलमा अघिल्लो पुस्ताको बलिदानीबारे नवप्रवेशी युवालाई राजनीतिक दीक्षा जरूरी छ। उनीहरूमा ऊर्जा छ। त्यो ऊर्जामा विचार मिसाउनुपर्नेछ। प्रशिक्षणले युवालाई समाज र रूपान्तरण गर्ने उनीहरूको मार्गचित्र साझा गर्ने मञ्च दिन्छ। तबमात्र पार्टी पाठशाला बन्न पुग्छ। इतिहास र अग्रजको योगदानको वजन नबुझेको युवा न वर्तमान बुझ्छ न भविष्य निर्माण गर्न सक्छ।

आज नेपालमा कम्युनिस्ट पार्टीहरूले आफूलाई समाजवादी भएको दाबी गरिरहनुपरेको छ। कांग्रेस लोकतन्त्रवादी भएको र आन्तरिक लोकन्तत्र भएको दावा गर्नुपर्ने अवस्थामा छ। दुवैका अवस्था दुर्भाग्यपूर्ण हुन्।

पार्टीभित्र तल्लो तहका बहस र छलफलमा पार्टीका कमजोरी र नेतृत्वका नाकामीलाई चर्को ढंगले उठान गर्ने तर शीर्ष नेतृत्वसामु लम्पसार पर्ने प्रवृत्ति नेपाली कांग्रेसमा पनि हावी छ। सम्बन्धित वर्ग र तहको प्रतिनिधित्व गर्ने गरी छनोट भएका नेता कार्यकर्ता नै माथिल्लो निकायलाई आधारभूत तहका गुनासो र असन्तुष्टिहरू सञ्चार गर्न हिचकिचाउँछन्। जब प्रत्यक्ष भेटमा नेतृत्वले कार्यकर्तालाई आलोचनात्मक टिप्पणी राख्ने अवसर दिँदैनन्, अन्तत तिनै विचार सामाजिक सञ्जालमा आक्रोश बनेर पोखिन्छन्। जो पार्टी संगठनका लागि दुर्भाग्यपूर्ण हुन्छ।

आफ्नो पार्टीका गलत कार्यकलापविरूद्ध बोल्नेहरू नै पार्टीका इमानदार सिपाही हुन् भन्ने बिपीको विचारलाई आत्मसात गर्दै ’मेरो कमजोरी औंल्याइदिने कार्यकर्ता नै मेरो प्रिय साथी हो’ भन्ने नेता पाउन मुश्किल छ।

’मेरो कार्यशैली मन नपराउने नेता–कार्यकर्ताले मलाई सोझै सम्पर्क गरी सुझाव दिँदा म खुसी हुनेछु’ भन्ने आलोचनात्मक चेत भएका नेतृत्वबाट नै खासमा पार्टी संगठन मझबुत हुन्छ। लोकतन्त्र बलियो हुन्छ। यसका लागि नेता उदारवादी हुन जरूरी छ। कार्यकर्ता बिचौलिया नभइकन विवेकशील हुन आवश्यक छ। नेतामुखी नभएर जनमुखी हुन अनिवार्य छ। जनताका समस्या र सोचलाई सार्थक ढंगले निर्णायक मुकामसम्म पु¥याउने इच्छाशक्तिले भरिपूर्ण हुनुपर्नेछ। यस्ता सर्तहरूको पालना गर्ने कार्यकर्ताको नेतृत्वमा मात्र पुस्तान्तरण सम्भव हुन्छ।

नेपाली कांग्रेसका ३३ प्रतिशत क्रियाशील सदस्य ४० वर्षभित्रका छन् र हालसम्म सम्पन्न वडा अधिवेशनमा त्योभन्दा ठूलो अनुपातमा युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएका छन्। यी क्षेत्रीय प्रतिनिधिले आफूलाई मतदातामा मात्र सीमित नराखी आफू र आफ्नो वर्गलाई नेतृत्वमा पु¥याउने दायित्व छ। जनभावनाअनुसार काम गर्न सकेन भनेर दुत्कार्ने मात्र भन्दा पनि नेतृत्व छनोटकै बखतमा मताधिकारलाई होसियारीपूर्वक प्रयोग गर्नु वैज्ञानिक हुन्छ। युवा वर्गलाई भविष्यका नेता भन्दै लामो प्रतीक्षासूचीमा सीमित नराखी नीति निर्माण तहमा पु¥याउने दायित्व पनि आम क्षेत्रीय प्रतिनिधिको हो। विशेषतः युवा क्षेत्रीय प्रतिनिधिको हो।

त्यसो त नेपालको जनसंख्यामा १६ देखि ४० वर्ष उमेर समूहका युवा ४० प्रतिशतभन्दा धेरै छ। उक्त संख्याको केवल एक तिहाईको हाराहारीमा युवाहरू संघीय निर्वाचनमार्फत निर्वाचित नीति निर्माण तहमा क्रियाशील छन्। झनै ४० वर्ष उमेर समूहभित्रै जनसंख्याको ७५ प्रतिशत हिस्सा समेटिन्छ भन्दा त उक्त उपस्थिति अत्यन्त झिनो देखिन्छ।

प्रजातन्त्रको पुनःस्थापनापछिका नेपालका १४ जना सरकार प्रमुखको औसत उमेर ६८.४२ वर्ष छ।

लामो चुनावी अनुभव बोकेका सम्पन्न देशहरूले महिलालाई सुरूआती दिनदेखि नै मताधिकार दिन चुके। नेपालमा भने निर्वाचनको अभ्यास प्रारम्भ हुँदादेखि नै महिलाले मताधिकार प्रयोग गरेको अनुभव छ। तर दशकौंदेखि राजनीतिमा सक्रिय अनि मताधिकार सम्पन्न नेपाली महिला विरलै नेतृत्व तहमा स्थापित हुन सके।

पहिलो दशकमा गरिएको संवैधानिक व्यवस्थाका कारण उल्लेखनीय संख्यामा महिलाहरू राजनीतिका नेतृत्वदायी भूमिकामा क्रियाशील छन्। अझै पनि प्रत्यक्ष निर्वाचनमार्फत महिला नेतृत्वलाई स्थापित गर्न राजनीतिक दलहरू हिचकिचाइरहेका छन्। नेपाली समाज चुकेको छ।

महिलालाई मतदाताकै रूपमा सीमित पार्ने षड्यन्त्रलाई कमजोर पार्ने गरी अभियान चलाउन महिला आन्दोलन अझै सफल देखिँदैन। यस्तै नियति नेपाली कांग्रेसभित्रको युवा आकर्षण र अभियानले पनि बेहो¥यो भने दुर्भाग्यपूर्ण हुनेछ। यही युवाले पनि आफूलाई पनि आफूलाई मतदातामै सीमित राखे भने पुस्तान्तरणमार्फत रूपान्तरण गर्ने सपनाले आकार ग्रहण गर्न सक्ने छैन।

प्रजातन्त्रको पुनःस्थापनापछिका नेपालका १४ जना सरकार प्रमुखको औसत उमेर ६८.४२ वर्ष छ। नेतृत्वमा बहाल रहेको अन्तिम समय र पटकपटक नेतृत्व गर्ने सरकार प्रमुखको हकमा पछिल्लो कार्यकाललाई आधार बनाएर निकालिएका नेतृत्वको यो औसत उमेर पछिल्लो जनगणनाअनुसार आम नेपालीको औसत आयुभन्दा पनि बढी हो।

हुन त भारतका पछिल्ला चौंधौ प्रधानमन्त्रीको औसत उमेर पनि नेपालको झैं भारतीयको औसत आयुभन्दा थोरै माथि नै छ। तर त्यस्तै पछिल्ला चौधौं अमेरिकी राष्ट्रपतिको औसत उमेर भने जम्मा ६३.७१ वर्ष छ। यो उमेर आम अमेरिकीको औसत आयुभन्दा पन्ध्र वर्षले कम छ। झनै बेलायती सरकार प्रमुखको त्यस्तै औसत उमेर भने त्यहाँका नागरिकको औसत आयुभन्दा २० वर्षले कम छ।

यी तथ्यांकले नेपाली राजनीति युवामैत्री नभएको प्रष्ट देखाउँछ। त्यसो त पार्टी नेतृत्वमै युवाको उपस्थिति विना सरकारमा युवाको प्रवेशको परिकल्पना लोकतन्त्रमा गर्न सकिँदैन।

के नेपालका युवाहरू कार्यकर्ता बन्नकै लागि मात्र राजनीतिमा क्रियाशील छन् त?

के नेपाली युवामा पार्टी र सरकार सञ्चालन गर्ने योग्यता र योजना छैन ?

यी प्रश्नको जवाफ नेपाली कांग्रेसको चालु चौंधौ महाधिवेशनले दिन जरूरी छ।

मतदान क्रममा उम्मेदवारको दावामा मात्र निर्भर नभई उनीहरूको योगदान र योजनाबारे सोधखोज र जानकारी राख्नु पनि उनीहरूको दायित्व हो। साथै समाजका आधारभूत तहमा क्रियाशील साथीहरूको भावना नसमेटी आफ्नै व्यक्तिगत सोच र कसैको निर्देशनमा आधारित भई मतदान गर्नु जुनसुकै उमेर समूहका क्षेत्रीय प्रतिनिधिका लागि पनि शोभनीय होइन।

यदि मानसपटलमा आफ्ना शुभेच्छुक तथा क्रियाशील सदस्यको सोच बोकेर पार्टी नेतृत्वका लागि प्रतिनिधिले मतदान गर्न सकेनन् भने पार्टीको सम्बन्ध जनतासँग टाढिँदै जान्छ। त्यो लोकतन्त्रकै लागि हानिकारक हुन्छ।

अपमानित क्रियाशील सदस्यः

नेपाली कांग्रेसको आन्तरिक जीवनमा जीवकोषकै रूपमा व्यवस्थित क्रियाशील सदस्यहरू धेरै जिल्लामा वडा अधिवेशन भए पनि बाँकी अधिवेशनको कार्यतालिका लम्बिँदा अपमानित छन्।

पार्टीले पछिल्लोपटक गर्ने कार्यक्रमहरू निर्वाचन केन्द्रित हुँदै गर्दा सम्भावित उम्मेदवारबाटै क्षेत्रीय प्रतिनिधिलाई सर्वश्री अनि क्रियाशील सदस्य साथै आम शुभेच्छुकलाई मूल्यहीन झैं व्यवहार भएको छ। आखिर क्षेत्रीय प्रतिनिधि पनि तिनै क्रियाशील सदस्यको भावनाको प्रतिधित्व गर्ने भनेर अधिवेशनको प्रयोजनका लागि पठाइएका प्रतिनिधि न हुन्।

यो वास्तविकतालाई चुनावी माहोलमा चटक्कै बिर्सिएको पाइन्छ। क्षेत्रीय प्रतिनिधिहरू चनाखो नभइदिँदा अनि महाधिवेशन प्रतिनिधि मनमौजी भइदिँदा यस्तो समस्या आएको छ। चाहे क्षेत्रीय प्रतिनिधि हुन् या महाधिवेशन प्रतिनिधि, उनीहरूले आफ्नो राजनीतिक र दार्शनिक हैसियत बिर्सिए भने केवल बिचौलियामा रूपान्तरण हुन्छन्। यस्तो प्रवृत्ति नहटेसम्म पार्टी संगठन मझबुत बनाउन सकिँदैन। पुस्तान्तरण र रूपान्तरण सम्भव हुँदैन।

प्रारम्भिक अनुमान अनुसार २०८५ सालमा हुने आम निर्वाचनहरूमा थप ३० लाख नयाँ युवा बालिग हुँदैछन्। प्रारम्भमा एउटा पार्टीलाई मतदान गरेपछि त्यसपछिका निर्वाचनमा सामान्यतया सोही पार्टीमा निरन्तर मतदान गर्ने नेपाली संस्कृतिलाई नियाल्दा युवा मतदाता सुरूआती दिनदेखि नै आकर्षण गर्नुपर्ने देखिन्छ। जसका लागि युवा मतदातालाई आकर्षण गर्न नीति तथा कार्यक्रम कांग्रेसले चौधौं महाधिवेशनमार्फत ल्याउनु आवश्यक छ।

यस्ता नयाँ युवा मतदातामध्येका दुईतिहाई युवालाई आकर्षण गर्न सके पनि आगामी निर्वाचनमा नेपाली काग्रेसले स्पष्ट बहुमत सहित सरकारको नेतृत्व गर्ने स्थानमा पुग्न सक्ने देखिन्छ। अघिल्लो पुस्तामा यस्तो भरोसा लाग्दो नेतृत्व भेटिँदैन। त्यसैले देशको रूपान्तरणका लागि आवश्यक रूपान्तरित कांग्रेस निर्माण गर्न पनि कांग्रेसभित्र पुस्तान्तरण अनिवार्य छ।

विपक्ष पार्टीलाई यो वा त्यो दोष परास्त भन्दै आफ्नो पार्टीलाई मात्र राष्ट्रवादी देखाउन खोज्ने नेपाली राजनीतिको पुरानो रोगलाई निर्मूल गर्दै प्रष्ट परराष्ट्रनीतिको आवश्यकता पनि पुस्तान्तरण र रूपान्तरणसँग जोडिएको छ। भ्रष्टाचाररूपी राष्ट्रिय महामारीविरूद्धको ठोस अभियानको आंकाक्षाले पनि यसलाई सघाएको छ।

तपाईको प्रतिक्रिया