गोर्खालाई समान पेन्सनबारे बेलायती संसदमा बहस आज

समाधान संवाददाता २०७८ मंसिर ५ गते १२:३३

काठमाडौं
बेलायती सेनाका भूतपूर्व गोर्खा सैनिकलाई बेलायतीसरह पेन्सनसम्बन्धी विषयमा त्यहाँको संसदमा बहस हुने भएको छ । नोभेम्बर २२ अर्थात् मंसिर ६ गते संसदमा बहस हुने भएको हो । १ लाखजनाभन्दा बढीले गोर्खालाई समान पेन्सनसम्बन्धी मागमा हस्ताक्षर गरी संसदमा बुझाएका थिए । त्यतिका नागरिकले सार्वजनिक महत्वको विषयमा छलफल गर्न माग गरे संसदमा त्यसबारे छलफल हुनुपर्ने बेलायती संवैधानिक व्यवस्था छ । गोर्खालीलाई समान पेन्सन दिन माग गर्दै गएको जुलाईदेखि हस्ताक्षर अभियान सुरु भएको थियो ।


सोमबार साँझ ६ बजे हुने बहसमा हस्ताक्षर समितिका सदस्य सांसद जोनाथन जुलिसले बहसको आरम्भ गर्ने छन् र त्यसपछि सबै पार्टीका सांसदले बहसमा आफ्ना धारणा राख्नेछन् । सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीले दिनुपर्नेछ ।


बहस प्रत्यक्ष रुपमा हेर्न भने सो हस्ताक्षर अभियानका सुरुआतकर्ता रोय बिंकलेले मात्र पाउनेछन् तर घरमै बसेर पार्लियामेन्ट टिभीबाट लाइभ पनि हेर्न सकिनेछ । गत जुलाईमा बिंकलेले गोरखाहरुलाई ब्रिटिस समकक्षीसरह पेन्सन दिन माग गर्दै अनलाइन हस्ताक्षर संकलन अभियान सुरु गरेका थिए । छोटो समयमै सो अभियानमा १ लाख ६ हजारले समर्थन जनाएका थिए ।

Advertisement


बेलायतमा निश्चित संख्यामा सर्वसाधारणले हस्ताक्षर संकलन गरेपछि संसद र सरकारले जवाफ दिनपर्ने प्रावधान छ । सरकारले सो हस्ताक्षर अभियानको प्रतिक्रिया दिँदै अगस्ट १९ मा गोरखाहरुलाई भेदभाव नगरिएको जिकिर गरेको थियो ।


उता गोरखाहरुले बेलायती संसदमा बहस भइरहँदा संसद भवन बाहिर प्रदर्शन गर्ने भएका छन् । पार्लियामेन्ट स्क्वाएरमा सो दिन बेलुका ५ बजे उपस्थितिका लागि गोरखा सत्याग्रहले अनुरोध गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया