प्रदेश सभाका सचिवको संयन्त्र

समाधान संवाददाता २०७८ मंसिर ५ गते १२:३६

Advertisement


बुटवल । सातै प्रदेश सभा सचिवालयका सचिवको भेला बुटवलमा भएको छ । गण्डकीबाट हरिराज पोखरेल भेलामा सहभागी भए । भेलाले सचिव स्तरीय अन्तर प्रदेश समन्वय परिषद् वा मञ्च स्थापनामा विशेष पहल गर्ने विषयमा सहमति निकालेको छ ।


प्रदेश सभाहरूको काम, कारबाहीमा एकरूपता कायम गर्न सभाका नियमावली संशोधनदेखि परिषद् वा मञ्च स्थापनाको पहल गर्ने सहितका विभिन्न निष्कर्ष निकालेको छ । देशका ७ वटै प्रदेश सभाहरूको काम, कारबाहीमा एकरूपता कायम गर्न सभाका नियमावलीहरू संशोधन गर्न गृहकार्य थालिने भएको जनाएको छ ।


लुम्बिनी प्रदेश सभा सचिवालयको समन्वय तथा सहकार्यमा संघीय सचिवालयले मंसिर १ देखि ४ सम्म बुटवलमा ‘सभा तथा सचिवालय सञ्चालनसम्बन्धी मामिलामा अनुभव आदानप्रदान एवं अन्तरक्रिया’ कार्यक्रम आयोजना गरेको थियो ।


संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयबीचको सम्बन्धलाई थप विस्तार गर्न आपसी सहकार्य एवं समन्वयलाई प्रभावकारी बनाउने निष्कर्ष पनि निकालेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले बताए ।

Advertisement


संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीलाई संसदीय काम, कारबाही, कानुन निर्माण, संसदीय निगरानी, अनुगमन मूल्यांकन लगायत विषयमा जानकारी गराउन अध्ययन भ्रमण, प्रशिक्षण÷तालिम, गोष्ठीजस्ता कार्यक्रम आवश्यकता अनुसार समन्वयगत रूपमा सञ्चालन गर्ने निष्कर्ष निकालिएको पुनले बताए ।


कार्यक्रममा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल, संघीय संसद् सचिवालयका सचिव(प्रशासन) ध्रुवप्रसाद घिमिरे, संघीय संसद् सचिवालयका सचिव (अनुसन्धान)सुदर्शन खड्काको सहभागिता थियो । सबै प्रदेशका सचिवहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया