कास्की कांग्रेस सभापतिका आकांक्षी प्रारम्भिक परीक्षामै फेल

समाधान संवाददाता २०७८ मंसिर ७ गते १८:०१


पोखरा
कास्की कांग्रेसको जिल्ला सभापतिका आकांक्षी नै महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । आकांक्षी कृष्ण कार्की कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा पराजित भएका हुन् । सोमबार भएको निर्वाचनको नतिजा मंगलबार सार्वजनिक भएको हो ।


जिल्ला सभापतिको उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि हुुनुपर्ने कांग्रेसको वैधानिक व्यवस्था छ । लोकसेवा आयोगले अधिकृतका लागि मूल परीक्षा लिनुअघिको प्रारम्भिक परीक्षा जस्तै छ, कांग्रेसमा जिल्ला सभापतिका आकांक्षीका लागि महाधिवेशन प्रतिनिधिको चुनाव । त्यही प्रारम्भिक परीक्षामै कार्की भने पास हुन सकेनन् ।


कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ १० जनालाई स्थान थियो । कार्की ११ औं भएका हुन् । १० औं नम्बरमा महाधिवेशन प्रतिनिधि जित्ने शिरोमणि लामिछानेले २७१ मत ल्याएका थिए भने कार्कीलाई त्योभन्दा ११ कम अर्थात २६० मत आएको थियो ।

Advertisement


कृष्ण केसी, पूर्व सभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, सुदीपमोहन भट्टराई, किशोरदत्त बराल, विमल बसेल, गिरिराज गौतम, विकास गुरुङ (ह्याल्मो) तिलक रानाभाट, र शिरोमणि लामिछानेले महाधिवेशन प्रतिनिधिमा खुलाबाट जितेका छन् । सुदीप, किशोरदत्त पनि जिल्ला सभापतिका आकांक्षी छन् । अहिलेकै जिल्ला सभापति कृष्ण केसीले पनि फेरि जिम्मेवारी दोहोर्‍याउन पनि सक्ने सम्भावना रहेको कांग्रेस स्रोत बताउँछ ।


अहिलेको १४ औं महाधिवेशनका लागि प्रतिनिधि हारेका कृष्ण कार्कीले १३ औं मा भने जितेका थिए । उनले त्यस बेला कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उम्मेदवारी दिएका थिए । तर पराजित भएका थिए । यसपालि उनको आकांक्षा कास्की जिल्ला सभापतिका लागि थियो । कार्की तरुण कास्कीको अध्यक्ष भएका थिए । र २ पटक महासमिति सदस्य भइसकेका हुन् ।

Advertisement

कांग्रेसको कास्की क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने निर्वाचित भइसकेका छन । युवा नेताद्वय सरोज केसी र ओमप्रकाश गुरुङ सचिव निर्वाचित भएका छन् । सुजाता गुरुङ र मोती गिरी सहसचिव भएका छन् ।

तपाईको प्रतिक्रिया