थपिए कांग्रेस कास्की सभापतिका दाबेदार, सरस्वती र गिरिराजको दाबी

समाधान संवाददाता २०७८ मंसिर ८ गते २१:१९


पोखरा ।
नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले आफ्नो उम्मेद्वारी सार्वजनिक गरिरहेका छन् । १० गते हुने कास्की जिल्ला अधिवेशनका लागि सभापतिमा सरस्वती गुरुङ र गिरिराज गौतमले पनि दाबेदारी गरेका छन् ।

Advertisement


कास्की सभापतिमा पहिलो पटक महिलाको उम्मेदवारी घोषणा भएको छ । अहिलेसम्म कास्कीमा महिला सभापति बनेका छैनन् भने उम्मेदवारसमेत बनेको इतिहास छैन ।


महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको २ दिनपछि नेतृ सरस्वती गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेकी हुन् । उनी हाल कांग्रेसको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य हुन् । उनी २०७४ मा कांग्रेसको तर्फबाट पोखरा महानगरमा उपमेयरकी उम्मेदवार थिइन् ।


गुरुङले महिला सभापतिको इतिहास रच्न र पार्टीको नवनिर्माणका लागि आफूले उम्मेदवारी दिने बताइन् । ‘महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिँदा हजुरहरूले देखाउनुभएको सद्भाव, साथ र समर्थन मेरा लागि अमूल्य रह्यो । म तपाईंहरूको विश्वासप्रति नतमस्तक छु,’ फेसबुकमा उनले भनेकी छन्, ‘महाधिवेशन प्रतिनिधि बनेपछि राजनीतिको माथिल्लो उम्मेदवारीको गेट पनि स्वतः खुला हुन्छ । म धेरै सल्लाह र छलफलपछि कास्की जिल्लाको सभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेकी छु ।’


उनी कास्की क्षेत्र नम्बर १ बाट आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन् । गुरुङ कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् ।

Advertisement


नेता गौतम सोमबार सकिएको कास्की १ को क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । गौतम ४ दशकदेखि कांग्रेस राजनीतिमा क्रियाशील छन् ।


कांग्रेसको १० औं अधिवशेनमा तत्कालीन अर्घौ गाउँ समितिमा रहेका गौतम ११ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि हुँदै तत्कालीन इलाका नं. ४ सभापति बनेका थिए । १२ औं अधिवेशनमा जिल्ला समिति कास्की सदस्यमा निर्वाचित गौतम १३ औं महाधिवेशनमा महासमिति सदस्य बनेका थिए ।


मंसिर १० गते हुने जिल्ला अधिवेशनमा सुदीपमोहन भट्टराई, किशोरदत्त बराल, पोषनाथ शर्मा, आइबहादुर गुरुङ लगायत नेता सभापतिका आकांक्षी छन् । जिल्ला अधिवेशनका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । अहिलेका सभापति कृष्ण केसीलाई पनि सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया