कांग्रेसका निर्णायक युवा मतदाताले पत्याएका पाका पुराना नेता

सञ्जय रानाभाट २०७८ मंसिर ९ गते १४:५१

पोखरा ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको क्षेत्रीय स्तरको निर्वाचनले कास्कीमा पुराना नेतालाई महाधिवेशन प्रतिनिधि चुनेको छ । मतदाता बनेर आएका क्षेत्रीय प्रतिनिधिमा युवाको उल्लेख्य उपस्थिति भए पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उनीहरुले पाका र पुराना नेताहरुलाई पत्याएका छन् ।


नेपाली कांग्रेसको महामन्त्री भइसकेका पूर्वसभामुख तारानाथ रानाभाट, शुक्रराज शर्मा, पूर्वमन्त्रीहरु यज्ञबहादुर थापा र महादेव गुरुङ एवं सन्त नेता खेमराज पौडेल र संविधान सभा सदस्य भइसकेकी शारदा पौडेलसम्मले महाधिवेशन प्रतिनिधिको निर्वाचन जितेका छन् । कास्की क्षेत्र नम्बर ३ को निर्वाचन नतिजा बुधबार बिहानमात्रै आउँदा कास्कीका तीनै क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा पाका पुराना नेतालाई कार्यकर्ताले विश्वास गरेको देखिन्छ ।


कांग्रेसमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधि प्रदेश सभा समिति, प्रतिनिधि सभा क्षेत्र समिति र जिल्ला अधिवेशनमा मतदाता हुन्छन् । तिनैले केन्द्रीय महाधिवेशन प्रतिनिधि चुन्छन् । कास्कीमा कांग्रेसका २ हजार हाराहारीका क्षेत्रीय प्रतिनिधिमध्ये ४० प्रतिशतभदा बेसी युवा रहेको कांग्रेसजन बताउँछन् । त्यति संख्या निर्णायक मत हो । तिनै युवा मतदाता निर्णायक हुँदा पनि पाका पुराना नेताहरुले राजनीतिमा स्थान सुरक्षित गर्न सकेका छन् ।

Advertisement


कास्की ३ को नतिजा अनुसार उक्त क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा खेमराज पौडेल, शुक्रराज शर्मा, महादेव गुरुङ, शारदा पौडेल, रामचन्द्र त्रिपाठी, आइबहादुर गुरुङ लगायत निर्वाचित भए । आइबहादुर जिल्ला सभापतिका आकांक्षीसमेत छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, पूर्वसचिव बाबुराम आचार्य, जिल्ला सभापतिका आकांक्षी पोषनाथ शर्मा, डा कृष्णप्रसाद पौडेल र दीपक गुरुङ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । संविधान सभा सदस्य शारदा पौडेल महिलातर्फ प्रत्यक्षबाट र अरु खुलाबाट निर्वाचित भएका हुन् ।


संविधान सभा सदस्य कृष्णकुमारी परियार समानुपातिक दलित महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार थिइन् तर, उनी पराजित भइन् । उक्त कोटाबाट राजकुमारी गुरुङ निर्वाचित भएकी छन् । समानुपातिक दलित पुरुषतर्फबाट उदयकुमार नेपाली महाधिवेशन प्रतिनिधि भएका छन् । आदिवासी जनजातितर्फबाट आसबहादुर गुरुङ र खुसीराम गुरुङ निर्वाचित भए । सीता गुरुङ, टेकनशोभा गुरुङ आदिवासी जनजाति महिलातर्फबाट महाधिवेशन प्रतिनिधि चुनिए । खस आर्यबाट जूनाकुमारी जिसी र विद्या बराल निर्वाचित भएका छन् ।

Advertisement


कास्की २ र १ को नतिजा मंगलबारै सार्वजनिक भएको थियो । १ बाट पुराना नेता तारानाथ रानाभाटले महाधिवेशन प्रतिनिधि जिते । पूर्वमन्त्री यज्ञबहादुर थापा पनि महाधिवेशन प्रतिनिधि बनेका छन् । जिल्ला सभापति कृष्ण केसीले पनि क्षेत्र नम्बर १ बाटै महाधिवेशन प्रतिनिधि जितेका छन् । महिला नेतृ कोपिला रानाभाट पनि महाधिवेशन प्रतिनिधि भएकी छन् । सभापतिको दाबी गरिरहेका किशोरदत्त बराल पनि महाधिवेशन प्रतिनिधि चुनिन सफल भए ।


कास्की १ बाट महाधिवेशन प्रतिनिधि जित्नेमा सुदीपमोहन भट्टराई, गिरिराज गौतम, शिरोमणि लामिछाने, तिलक रानाभाट, विमल बसेल, विकास गुरुङ, सरस्वती गुरुङ, गिमाया गुरुङ, शान्ति खनाल, दुर्गा लामिछाने, दीपक गुरुङ ‘माइला’, डम्बरजंग गुरुङ, सरस्वती सार्की, कुमार विक सुनार, मोहनकुमार प्रधान, पार्वतीदेवी थापा, भोजराज ओझा, नरेन्द्रप्रसाद अधिकारी, मीना माल, सनबहादुर गुरुङ, गमप्रसाद विक, कृष्णबहादुर भुजेल, कोपिला रानाभाट, संज्ञा पोखरेल पौडेल, माया बराल क्षेत्री, निशा मल्ल ठकुरी लगायत छन् । खुला महिलातर्फ सबभन्दा धेरै मत नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटले ल्याएकी थिइन् ।


कास्की २ बाट सोभियतबहादुर अधिकारी, देवराज चालिसे जस्ता प्रतिनिधि सभाको निर्वाचन लडिसकेका नेताहरु महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सँगै प्रदेश सरकारका मन्त्रीहरु विन्दुकुमार थापा र कुमार खड्का पनि सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बनेका छन् । वीरेन्द्रनारायण बिजुक्छे, विजयराज आचार्य, माधवप्रसाद बास्तोला ‘मधु’, ऋषिराज काफ्ले, गुरु बराल, अर्जुन पोखरेल, किरण केसी र मिलन थापा, कोपिला तिवारी, मदन बस्नेत, मुकुन्द बास्तोला, तीर्थकुमारी गुरुङ, सुनयना पालिखे, आशिक गुरुङ, निर्मल कर्माचार्य, अर्जुन विक लगायत महाधिवेशन प्रतिनिधि भएका छन् ।


युवाहरु क्षेत्रीय र प्रदेश सभा निर्वाचन क्षेत्र समितिको पदाधिकारीमा आएका छन् भने जिल्लाको पदाधिकारीमा पनि दाबेदारी प्रस्तुत गर्दैछन् । युवा नेता भानु ढकाल, सिरोजविजय कोइरालाले आफूलाई कास्की जिल्ला समितिको सचिव दाबी गरेका छन् । जिल्ला सचिवमा अहिलेकै सचिव देवेन्द्र रानाभाटको फेरि दाबेदारी छ । भरत तिवारीले पनि सचिवमा उम्मेदवारी दिने चर्चा छ । कांग्रेस जिल्ला सचिव २ जना हुने व्यवस्था छ ।
युवा नेता सरोज केसी कास्की १ क्षेत्रीय समितिको सचिव निर्वाचित भइसकेका छन् । अर्का युवा देवकृष्ण पराजुली क्षेत्र नम्बर २ को सचिव विजयी भएका छन् । पाका पुराना नेताहरु खासै नछुटेको महाधिवेशन प्रतिनिधिको सूचीमा युवाहरुको पनि केही न केही उपस्थिति भने छ ।


पाका पुराना नेतासँगै महाधिवेशन प्रतिनिधिमा व्यापारिक पृष्ठभूमिका व्यक्तिहरुको उपस्थिति पनि उल्लेख्य देखिएको छ । कतिपयले पैसाको चलखेल आमचुनावमा जस्तै गरी पार्टी निर्वाचनमा पनि देखिएको टिप्पणी गरेका छन् । त्यसको यथेष्ट प्रमाण सार्वजनिक हुन भने सकेको छैन ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया