कास्की कांग्रेस सभापतिका लागि फेरि मतदान

पोखरा ।
पाँच उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि नेपाली कांग्रेस कास्कीको सभापतिका लागि फेरि मतदान सुरु भएको छ । ६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ ल्याएका सुदीपमोहन भट्टराईबीच निर्वाचन भएको हो । बराल र भट्टराईबीच १ सय ७५ मतको फरक छ ।
पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा शनिबार बिहान १० बजेबाट मतदान सुरु भएको छ । २०८८ मतदाता छन् । तर शुक्रबार तीमध्ये २ हजार २५ जनाले मात्रै मतदान गरेका थिए । ४७ मत भने बदर भएको छ । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था गरेको छ ।
शुक्रबारको मतदान परिणाम अनुसार बराल र भट्टराई पहिलो र दोस्रो बने भने भट्टराईभन्दा केवल ७ मतका कम आउँदा आइबहादुर गुरुङ तेस्रो भए । केही शीर्षस्थ नेताहरुको साथ पाएका गुरुङ दोस्रो चरणको मतदानमा भाग लिनबाटै बञ्चित भए । चौथो भएका पोषनाथ शर्माले ३ सय ३५ र गिरीराज गौतमले ६३ मत ल्याए । गुरुङ, शर्मा र गौतमले दोस्रो चरणको मतदानमा भट्टराईलाई समर्थन गर्ने भन्दै विज्ञप्ति जारी गरेका छन् । कुनै गुटमा नरहेको भन्दै आफ्नो समूह भनेकै सिंगो नेपाली कांग्रेस भएको बताउँदै बराल चुनावी मैदानमा छन् ।
कास्की कांग्रेस सभापतिमा ५ उम्मेदवार, सबै पदमा गरी ९२ जना (नामसहित)
तपाईको प्रतिक्रिया