एमाले महाधिवेशन : १९ जना पदाधिकारीकाे नाम बन्द सत्रमा प्रस्तुत

समाधान संवाददाता २०७८ मंसिर १३ गते ८:४४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

Advertisement

‘सहमतिका लागि घोषणा गरिएका पदाधिकारीका नामहरु यस प्रकारका छन्’ भन्दै ओलीले बन्द सत्रमा भने, ‘अध्यक्षमा केपी शर्मा ओली ।’

अध्यक्ष ओलीले बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन् । बाँकी ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे रामबहादुर थापा बादल र विष्णु पौडेलको नाम उनले सुनाए ।

त्यसपछि महासचिवमा शंकर पोखरेलको नाम घोषणा गरिसकेपछि ओलीले सम्झिए– ‘ए सुवास नेम्वाङजीको नाम उपाध्यक्षमै छुटेछ । त्यही पनि आफैंले देखाउन आएपछि मात्रै देखियो । सुवाचन्द्र नेम्वाङ माथि नै छुटेछ । उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ ! बरिष्ठ उपाध्यक्षदेखि सबैको नाम मिलाउँदा ७ जना उपाध्यक्षहरु हनुहुन्छ ।’

महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिसकेपछि ओलीले तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।

Advertisement

त्यसैगरी ७ जना सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्यालको नाम प्रस्ताव गरेका छन् ।

ओलीले यी नामहरु हलबाट पारित गर्नका लागि भने रुलिङ गरेनन् । बरु उनले प्रस्तावित नेताहरुलाई मनोनयन दर्ताका लागि जान आग्रह गरे ।

तपाईको प्रतिक्रिया