पृथ्वीसुब्बा गुरुङ उपमहासचिवमा निर्विरोध

समाधान संवाददाता २०७८ मंसिर १३ गते ११:३७


चितवन ।
गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री तथा एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङ पार्टी उपमहासचिव निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव सर्वसम्मत चुनिएका हुन् । तीन उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङसहित प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् ।


वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । चितवनमा जारी महाधिवेशनमा उनीहरु कसैका विरुद्ध पनि अर्काे उम्मेदवारी नपरेको हो । मनोनयनको समय सकिँदासम्म यी तीनवटै पदमा अरु कसैको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध चयन भएका हुन् । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी ओली र भीम रावलले उम्मेदवारी दिएका छन् ।


उपाध्यक्षमा सर्वसम्मतका लागि ओलीले घोषणा गरेको सूचीमा रहेकाहरूबाहेक घनश्याम भूसालले उम्मेदवारी दिएका छन् । ओलीले घोषणा गरेको सूचीमा नपरेका भीम आचार्य र टंक कार्कीले सचिवमा उम्मेदवारी दिएपछि यो पदमा पनि निर्वाचन हुने भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया