‘विश्वसँग कुम जोड्न सक्ने शिक्षा दिन्छौं’

समाधान संवाददाता २०७८ मंसिर १६ गते १२:३४

पोखरा ।
गण्डकी विश्वविद्यालयले ब्याचलर अफ फार्मेसी (बिफर्मा)का नवआगन्तुक विद्यार्थीका लागि बुधबार उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

Advertisement


४ वर्षे कार्यक्रममा भर्ना भएका विद्यार्थीको औपचारिक कक्षा सुरुवात हुनुभन्दा अघि विश्वविद्यालयले कार्यक्रम गरेको हो । चिकित्सा शिक्षा आयोगबाट छनोट भएका सो कार्यक्रम अन्तर्गत पहिलो ब्याचको कक्षा मंसिर १९ गतेदेखि सुरु हुँदै छ ।
कार्यक्रममा विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयले युग सुहाउँदो जनशक्ति उत्पादनमा जोड दिएको बताए । ‘सरोकारवाला सबैको हातेमालो र सहकार्यमा शैक्षिक कार्यक्रमलाई व्यवस्थित गरिन्छ,’ उनले भने, ‘बी फार्मेसी लगायत स्वास्थ्य शिक्षाका कार्यक्रमलाई समेटिनेछ ।’


भवनसम्म जाने बाटो कालोपत्र गर्नेदेखि गेट निर्माण र चारैतिर तारबारको काम गर्ने जानकारी दिँदै उनले आविश्कार केन्द्र लगायतका भौतिक संरचना बनाउनको लागि गुरुयोजना तयार भइरहेको उनले सुनाए । उनले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर सबै निर्माणका कामलाई व्यवस्थित गर्ने जानकारी दिए । कुलपति गुरुङले जग्गा व्यवस्थापनमा सहयोग गर्ने वडा कार्यालय लगायत सबैमा आभार प्रकट गरे ।
उपकुलपति प्राडा नवराज देवकोटाले विश्वविद्यालयमा आयाममा नयाँपन भएको दाबी गरे । विद्यार्थीको प्रतिस्पर्धी क्षमता बढाएर दोस्रो पुस्ताको सपना साकार पार्ने उल्लेख गर्दै उनले विश्वविद्यालयका सबै गतिविधि र क्रियाकलाप विद्यार्थी तथा सरोकारवालाले क्रमशः बुझ्दै जाने बताए । विश्वविद्यालयको सिंगो टिम राजनीतिबाट भएको दाबी गर्दै विद्यार्थीलाई राजनीतिभन्दा पढाइमा ध्यान दिएर विश्वविद्यालयको प्रयासलाई साकार पार्न अनुरोध गरे ।


उनले विद्यार्थीका सबै माग तथा सवाललाई प्रजातान्त्रिक विधिबाट सम्बोधन गर्ने जानकारी दिए ।
विश्वविद्यालयका रजिष्टार डा कैलाश तिमिल्सिनाले एक्लै पढ्ने र साथीलाई ज्ञान सीपको आदानप्रदान गर्ने परिपाटी अन्त्य भएको बताए । ‘अहिलेको जमानामा विद्यार्थीले ज्ञान, सीप अनुभव आदानप्रदान गर्नुस्,’ उनले भने, ‘सबैले सबैलाई सिकाउनुस् । सबै फस्ट हुनुस् ।’
विज्ञान तथा प्रविधि संकायका डीन डा कपिल अधिकारीले शैक्षिक योजना तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यार्थीलाई समाज, राष्ट्र र संसारसँग कुममा कुम जोडेर हिड्न सक्ने बनाउने उल्लेख गरे । उच्च शिक्षाको सहयात्री भनेर विश्वविद्यालयलाई रोजेकोमा आभार प्रकट गर्दै उनले विद्यार्थीलाई पढाउने भन्दासँगै सिकाउने बताए । उनले विद्यार्थीलाई पढाउनेभन्दा पनि हिड्न सिकाउने उल्लेख गरे ।


शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उपसचिव तथा उच्च शिक्षा महाशाखा प्रमुख तोयनाथ लम्सालले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्नेमा जोड दिए । उनले संगठन खोल्ने र राजनीतिक अधिकारप्रति सबै सचेत हुनुपर्ने उल्लेख गरे ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले वडाबासीको तर्फबाट विश्वविद्यालयलाई स्वागत तथा सहयोग गर्न पाएकोमा आभार प्रकट गरे । उनले विद्याको मन्दिरले राजनीतिकबाट टाढा भएर गुणस्तरीय शिक्षा दिनुपर्ने सुझाव दिए । विश्वविद्यालयका सहायक प्रशासक डोलराज सुवेदीले अहिले विश्वविद्यालयले स्नातक तहमा सूचना प्रविधि, स्पोट्स म्यानेजमेन्ट र बी फार्मेसीका कार्यक्रम सुरुवात गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया