‘बाँदरको परिवार नियोजन गर्दिनुपर्यो मन्त्रीज्यू’

सञ्जय रानाभाट
पोखरा ।
माथिल्लो गरामा भर्खर दाइँ सकिएको थियो । दाइँ सकेर किसान धान बत्ताउँदै थिए । त्यही खलो गराको मुन्तिरको गरामा धानको गाँजका ठुटैठुटा थिए । अरु खेतका गरा पनि भर्खर धान काटेर खालिखालि थिए । पोखरा १९ पुरन्चौर चुरुंगाको फराकिलो फाँट र टारी खेत पूरापूर खालि छन् । तर अर्काे खेतीको कुनै सुरसार छैन । अरु खेतीपाती गर्न स्थानीयलाई बाँदरको डर छ ।
नीलकण्ठ बास्तोला भन्छन्, ‘गहुँ, मकै जे लगाए पनि बाँदरले खाइदिन्छ ।’ यही समस्या शनिबार उनले गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनलाई सुनाए । पुरन्चौर बरालको निर्वाचन क्षेत्र पनि हो । शनिबार उनी जनतासँग साक्षात्कार गर्ने कार्यक्रममा भाग लिन पुगेका थिए । बास्तोलाले भने, ‘जसरी भुस्याहा कुकुरको भ्यासेक्टोमी गरेर संख्या घटाइयो, बाँदरको पनि परिवार नियोजन गर्नुपर्यो ।’ उनले मन्त्री बराललाई बाँदरको परिवार नियोजन गर्ने नमुना कार्यक्रम परीक्षण स्वरुप गण्डकी प्रदेश सरकारले सुरु गर्नु उपयुक्त हुने सुझाव दिए ।
मन्त्री बरालले स्थानीयको सुझावलाई मनन गर्ने जवाफ दिए । जनताले भनेजस्तो गरी परीक्षणबारे सोच्ने उनको भनाइ थियो । मन्त्री बरालले बाँदरबाट जोगाउन सकिने र त्यसले नखाने बाली लगाउन पनि सुझाए ।
आउटलाइन मिडिया काठमाडौंले सार्वजनिक सरोकारका विषयमा जनतासँग सांसदको प्रत्यक्ष अन्तक्र्रियाका लागि मन्त्री बरालसहित प्रदेश सांसदहरु इन्द्रलाल सापकोटा र पियारी थापालाई पुरन्चौर डाकेको थियो । स्थानीयले उनीहरु आफ्नो गाउँठाउँका समस्या सुनाए र गण्डकी प्रदेश तथा गण्डकी प्रदेश सभाले आजसम्म के के ग¥यो भन्ने जिज्ञासाका जवाफ खोजे ।
लामाचौर—माछापुच्छ्रे ग्रामीण सडकको बेसीचोक खण्ड पहिरोले भत्काएको विषय स्थानीयले सबैभन्दा ठूलो समस्याको रुपमा राखे । लालीगुराँस आमा समूहकी अध्यक्ष तारा पौडेलले भनिन्, ‘कुन गाडी कतिबेला खस्ने हो भनेजस्तो छ ।’ ग्रामीण सडकमध्ये सबैभन्दा धेरै मानिस ओहोरदोहोर गर्ने उक्त सडक गएको बर्खामा पहिरोले भत्काएको थियो । मर्मतका लागि स्टिमेट गर्दा १ करोड रुपैयाँ लाग्ने देखिएको तर बजेट ५० लाख रुपैयाँभन्दा नभएको कार्यक्रममा उपस्थित पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले सुनाए । अर्थमन्त्री बरालले सडक मर्मतका लागि बजेट अभाव हुन नदिने बचन दिए ।
‘अहिले ५० लाख रुपैयाँ छ भने त्यसैबाट काम सुरु गर्नाेस्, १ करोड हैन डेढ करोड रुपैयाँ चाहिन्छ भने पनि हालिन्छ, छिटो छरितो सम्पन्न गर्न मेरो पहल रहन्छ,’ मन्त्री बरालले भने । गणेशप्रसाद बास्तोलाले माछापुच्छ्रे ग्रामीण सडक उत्तरी भेगका लागि थेग्ने सडक भएको हुँदा त्यो बाटो बनाए अरु विकास विस्तारै हुने विचार राखे ।
प्रदेश सांसद इन्द्रलाल सापकोटाले सुखी गण्डकीबासी र समृद्ध गण्डकी प्रदेशको आधार भनेर प्रदेश सरकारले पर्यटन, जलस्रोत र कृषिको आधुनिकीकरणलाई छनोट गरेको जानकारी गराए । उनले गण्डकी सरकारले एक निर्वाचन क्षेत्र एक सडक, एक घर एक धारा, पालिकालाई प्रदेश राजधानीसँग जोड्ने रणनीतिक सडकहरु बनाएको सुनाए । ‘जिल्ला सदरमुकाम छाडेर पिचबाटो देख्नै नपाइने अवस्थामा अब त्यो अवस्था रहेन, कतै पिच भइसकेको छ, कतै हुँदैछ,’ सापकोटाले भने ।
प्रदेश सांसद पियारी थापाले गण्डकी प्रदेश सभाबाट पारित गरिएको ‘प्राइभेट फर्म दर्तासम्बन्धी’ ऐनले महिलालाई फर्म दर्ता र नवीकरणमा छुट दिएको सुनाइन् । आफूहरुले महिला सशक्तीकरणका लागि त्यस्तो सहुलियतको व्यवस्था गरेको उनको भनाइ थियो । बाल अधिकारसम्बन्धी कानुन पनि बन्ने चरणमा रहेको जानकारी उनले दिइन् । नेपालजस्तो मुलुकका लागि संघीयता नै मुख्य चुनौती भएको हुँदा संघीयता खारेजीको पक्षमा आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा रहेको उनले बताइन् ।
विन्ध्येश्वरी माविका छात्र सागर बास्तोलाले पुस्तकालयको अभाव रहेको सांसदहरुलाई सुनाए । सोही विद्यालयका प्रअ श्रीराम आचार्यले विद्यालयमा कक्षा १० सम्म पढाइ भइरहे पनि दरबन्दी अपुग रहेको बताए । ‘महिला शिक्षक सुत्केरी विदामा बस्दा वैकल्पिक शिक्षक राख्ने क्षमता पनि विद्यालयसँग हुँदैन,’ उनले भने, ‘यो समस्या हाम्रोमात्रै होइन, देशैभरि छ ।’

नारायण अधिकारीले बाउसाले खनेका बाटो भत्किएर गाडी चल्न छाडेको सुनाए । मित्रलाल बास्तोलाले उद्योग व्यवसाय गर्ने ऋण लिन जग्गा धितो राख्नुपर्ने बाध्यता रहेको अनुभव साटे । ‘एउटा उद्योग धन्दा गरेर खान खोज्दा कर तिछौं, भ्याट तिर्छाैं,’ उनले सांसदहरुलाई सोधे, ‘तपाईंहरुले सुविधा पाउनुहुन्छ, तर हामीले के पाउँछौं ?’ युवा वसन्तराज बास्तोलाले युवालाई उद्यमी बनाउन गण्डकी सरकारले के कस्ता नीति ल्याएको छ भन्ने जिज्ञासा राखे ।
सरस्वती बास्तोलाले स्थानीय सरकार बलियो हुँदा जनतालाई फाइदा भएको सुनाइन् । उनले भनिन्, ‘पहिला गाविस हुँदा ५ हजार बजेट माग्न १० चोटि जाँदा पनि पाइन्नथ्यो, अहिले वडाबाट पाइएको छ ।’ तर गाउँको स्वास्थ्य चौकीमा समस्या रहेको खुलाइन् । भनिन्, ‘स्वास्थ्य चौकी जाँदा सिटामोल पनि छैन, हामी त महानगरका बासिन्दा हैनौं कि जस्तो लाग्छ ।’ खाडी मुलुकबाट फर्केर गाउँमा कृषिमा लागेका युवाले कुनै सहुलियत र अनुदान नपाएको पनि उनको गुनासो थियो । मीनराज बास्तोलाले पनि स्वास्थ्य चौकीमा सेवा सुविधा नभएको सुनाए । विष्णु बास्तोला, जगन्नाथ बास्तोला, हर्कराज आचार्य, भगवान बास्तोला, गोमा बास्तोला, शालिग्राम बास्तोला, विजय गौतम, केशवराज बास्तोला लगायतले गाउँघरका समस्या सांसदहरुलाई सुनाएका थिए ।
आउटलाइन मिडियाका सरोज दाहाल र बोमलाल गिरीले पत्रकारले जनताका प्रश्न र समस्याबारे रिर्पोटिङ गर्न सकिने हुँदा हुँदै जनतासँग सामन्ने राखेर सांसदसँग छलफल गर्दा अझ प्रभावकारी हुने भएकाले कार्यक्रम आयोजना गरेको जानकारी गराए । उक्त मिडियाले उत्पादन गर्ने जनतासँग सांसद कार्यक्रम देशभरका ७७ एफएम रेडियोबाट शुक्रबार बिहान साढे ७ बजे प्रसारण हुन्छ ।









पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया