शुक्रराज शर्माको पुनरोदय

सञ्जय रानाभाट २०७८ मंसिर १९ गते २२:४९


पोखरा ।

२०४६ देखि ६३ सालसम्म १७ वर्ष नेपाली कांग्रेस कास्कीको सभापति भएका शुक्रराज शर्मा त्यसको १० वर्षपछि फेरि उही जिम्मेवारीमा आउन चाहे । त्यही आकांक्षा तत्कालीन जिल्ला पार्टी सचिव कृष्ण केसीको पनि थियो । केसीलाई सभापति बनाउन नचाहने पुराना नेताहरुको समूहले शर्मालाई नै त्यही पदमा आसिन गराउन चाह्यो । शर्मा सभापतिमा केसीसँग प्रतिस्पर्धामा उत्रिए । तर अनेपेक्षित पराजय बेहोरे ।


पार्टी जिल्ला सभापतिमा पुनरागमन गर्न नसकेका शर्माले २०७४ सालमा कास्की ३ बाट प्रतिनिधि सभाको सदस्यका लागि टिकट पाए । तर नेकपा एमालेका जगत विश्वकर्मासँग पराजित भए । त्यसो त शर्मा कांग्रेसको १० औं महाधिवेशन पोखरामा भएका बेला त्यसको आयोजक जिल्ला समिति सभापति थिए र केन्द्रीय सदस्यको उम्मेदवार पनि । त्यो चुनाव पनि उनलाई फापेन । केन्द्रीय सदस्य बन्ने चाहना पूरा गर्न सकेनन् । २०७४ मा मात्रै होइन शर्माले जति आम निर्वाचनमा भाग लिए सबैमा हारमात्रै हात पारे । २०४८ र २०५१ सालमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको टिकट पाएका शुक्रराजले चुनाव जितेनन् । एकपटक राष्ट्रिय सभाको सदस्य भए, कांग्रेस केन्द्रीय समितिमा आमन्त्रित केन्द्रीय सदस्य बनेर चित्त बुझाए ।


पार्टी र संसदीय राजनीतिको मूलधारबाट पाखा परिरहेका तर आफ्नो सक्रियता नछाडेका शर्माको पार्टी राजनीतिमा पुनरोदय भएको छ । यसपालि उनी नेपाली कांग्रेसको गण्डकी प्रदेश समिति सभापति भएका छन् । शुक्रबार सुरु भएको अधिवेशनमा निर्वाचनमार्फत सभापति बन्न उनी सफल भए । शनिबार भएको निर्वाचनको आइतबार आएको नतिजाअनुसार उनले अर्जुन जोशीलाई गण्डकी सभापतिमा पराजित गरे ।

Advertisement


खासमा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला निकट रहँदै आएका शर्माले उनीहरुको देहावसानपछि बीचमा शेरबहादुर देउवासँग पनि निकट सम्बन्ध बनाएका थिए । तर यसपालि फेरि देउवा इतर समूहबाट शर्माले राजनीतिमा आफूलाई पुनरागमन गर्न सफल भएका छन् । उनलाई कोइराला परिवार र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गण्डकी सभापतिको उम्मेदवार बनाएको थियो । देउवा समूहका उम्मेदवार जोशीले ५ सय २८ मत ल्याउँदा शर्माले ६ सय १२ मत पाएका छन् ।


शर्मासँगै पदाधिकारीमा पौडेल कोइराला पक्षधरकै सबैजसो उम्मेदवार आएका छन् । सभापतिसँगसँगै समूहकै बर्चस्व बनाउन सफल भएर शर्माले खासमा वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि साख जोगाइदिएका छन् । पौडेलको गृहप्रदेशसमेत रहेको गण्डकीमा उनको प्रभाव दह्रो छ भन्दाभन्दै अहिलेसम्म १० मध्ये ६ जिल्लामा देउवा पक्षका उम्मेदवारले जिल्ला सभापति जितिसकेका छन् । स्वयं पौडेलको जिल्ला तनहुँमा पनि देउवा समूहबाट जितप्रकाश आले सभापति निर्वाचित भए । यस्तोमा शुक्रराज शर्मा नेतृत्वको टिमले गण्डकी प्रदेश समितिमा बाजी मार्नुलाई पौडेलको साखसँग जोडेर हेरिएको छ । बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा देउवा पक्षका उम्मेदवार सभापति भइसकेका छन् ।

Advertisement


मुलुक संघीयतामा प्रवेश गरेपछि त्यसको कार्यान्वयन स्वरुप २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेताहरु कतै पनि प्रदेशमा उम्मेदवार बनेनन् । कांग्रेसले यतिका समय प्रदेशहरुमा समिति पनि बनाएको थिएन । तर, प्रदेश सरकारको नेतृत्व गर्नसमेत पाइने अवसर देखिसकेपछि अहिलेको महाधिवेशनमा वरिष्ठ नेताहरुले प्रदेश समितिको नेतृत्व ताके । त्यसैमध्येमा वरिष्ठ नेता शुक्रराज शर्मा पनि देखा परेका हुन् । उनको अबको यात्रा गण्डकी प्रदेश सरकारको नेतृत्व गर्नेतिर हुने कांग्रेसजन बताउँछन् ।


शर्माले नेपाली कांग्रेसमार्फत जीवनका ५५ वर्ष राजनीतिमा समर्पण गरेका छन् । काठमाडौं गएर पढ्नेसँग उनी राजनीतिमा अगाडि बढेका हुन् । उनले २०२३ मा छात्रासंघको सदस्यता लिएका थिए । २०२० सालमा एसएलसीपास गरेपछि उनी पर्वतको देउपुर टापु पुगेर शिक्षक बने । त्यहाँ उनले आदर्श प्राइमरी स्कुल स्थापना गरी केही समय पढाए । पछि वीरेठाँटीमा आएर अध्यापन पेसामा बिट मारे । आइए पढ्ने निहुँमा उनी शिक्षक पेसा छाडेर राजधानी काठमाडौं हानिएका थिए । छात्र संघबाट राजनीतिको रस पसिसकेपछि कांग्रेसमा सक्रिय भए । बिपीका विचारधाराबाट झन्झन् प्रभावित बन्दै गए ।


जतिवेला बिपी सशस्त्र क्रान्तिको गर्न भारतमा गएर योजना बनाइरहेका थिए । भारतमै रहेका बिपी भेट्न साथीले गरेको अनुरोधलाई स्वीकारेर शर्मा भारत लागे । बिपीबाट तरुण दलको सदस्यता लिए । बिपीका चिठीपत्र र क्रान्तिका सामग्री ओसारपसारमा खटिए । त्यही काम गर्दा गर्दै ३ वर्ष जेल परे । जेलमै उनको भेट कम्युनिस्ट नेता केपी शर्मासँग भएको थियो ।


२०३६ सालको जनमत संग्रहताका बहुदलका पक्षमा प्रचार गर्दै खुब खटिए । त्यतिबेला कास्कीमा ३६ गाउँ पञ्चायत थिए । सबैमा पुगे । २०४२ सालको सत्याग्रह होस् या ४६ को जनआन्दोलन उत्तिकै खटिए । जेल पनि परे । २०४६ साल भदौमा उनी कास्की कांग्रेसको सभापति बने । १७ वर्ष जिल्ला नेतृत्व गरेको १५ वर्षपछि उनको फेरि पुनरागमन भएको छ, त्योभन्दा माथिल्लो पदबाट ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया