मुस्ताङ ः गोरु काटेको आरोपमा ५ ब्यक्ति पक्राउ

जोमसोम—
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका—४ कागबेनीमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले ५ जना ब्यक्तिलाई पक्राउ गरेको छ ।गोरु काट्दै गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई घटना स्थलबाटै रंगे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
पक्राउ पर्नेमा वारागुङ मुक्तिक्षेत्र—४ बस्ने ५३ वर्षीय युङडुङ गुरुङ, ४० वर्षीय आग्या गुरुङ, ६९ वर्षीय पेम्बा गुरुङ,जिल्ला डोल्पा घर भई सोही स्थान बस्ने ४० वर्षीय झव्याङ गुरुङ र जिल्ला डोल्पा घर भई सोही स्थान बस्ने ४९ वर्षी धोर्जी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए ।
मंगलबार बिहान ११ बजेको समयमा गोरु काट्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले १ सय ५२ किलो आलो मासुसहित गोरु काट्न प्रयोग गरिएको २ थान बञ्चरो,दाउ १ थान र ७ थान चक्कु बरामत गरेको छ ।घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
बर्सेनि हिउदयाममा तरकारीको अभाव हुने भएकाले मुस्ताङमा भेडा÷च्यांग्रा र याकचौरीको मासु सुकुटी बनाउन चलन छ । पक्राउ परेका ब्यक्तिहरुले पनि गोरुको मासुको सुकुटी बनाउने प्रयोजनमा गोरु काटेको हुनसक्ने प्रहरीको बुझाई छ ।प्रहरीले गोरुको मासु र हतियारसहित उनीहरुलाई घटना स्थलबाट पक्राउ गरेको थियो ।
प्रहरीले सुरक्षा निकाय ,पत्रकार र स्थानीय जनप्रतिनिधिको रोहबरमा मुचुल्का उठाई खाल्डो खनेर पुरेको जनाएको छ । यस्तै, प्रहरीले १ सय ग्राम गोरुको मासु परिक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाउने जनाएको छ ।
मुलुकको फोजदारी अपराध संहित ऐन २०७४ ले गाई गोरु काट्न बर्जित गरेको छ । यदी कसैले गाई गोरु मार्ने कसुर गरेमा त्यस्ता ब्यक्तिलाई तीन वर्षको कैद सजाय हुन सक्ने उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया