कक्षाकोठामा अचानक शिक्षामन्त्री

समाधान संवाददाता २०७८ मंसिर २८ गते १३:२९

पोखरा ।
पोखरा महानगरपालिका १२ स्थित शीतलादेवी सामुदायिक विद्यालय । आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गरे । मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी हुने कुरा भएन ।
मन्त्री पौडेल सिधै कक्षाकोठामा पुगे । माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई पढाउँदै थिइन् प्रिती ढकाल । नौलो व्यक्ति कक्षामा प्रवेश गरेलगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे ।

Advertisement


विद्यार्थी बसेपछि पौडेलले विद्यालयमा पढाइको विषयमा विद्यार्थीलाई सोधे । गृहकार्य गरे÷नगरेका बारेमा जिज्ञासा राखे । सबैले नियमित गृहकार्य गर्ने गरेको, शिक्षक कक्षा समयमा सधैं समयमै उपस्थित हुने गरेको सुनाए ।
मन्त्री पौडेल विद्यार्थीलाई राम्रोसँग पढ्न र गुरूले मानेर अनुशासित हुन आग्रह गर्दै बाहिरिए । राम्रो अध्ययन गरेर देशको ठूलो मान्छे बन्न उनले विद्यार्थीलाई सुझाए ।


शिक्षा क्षेत्रको प्रमुख नियमनकारी निकाय र सामुदायिक शिक्षा सुधार्ने प्रमुख जिम्मेवारी रहेका मन्त्री पौडेलले आकस्मिक विद्यालय निरीक्षण गर्दा विद्यालयका कसैलाई पूर्वजानकारी दिएनन् । शिक्षक ढकालले भनिन्, ‘शिक्षा मन्त्री विद्यालय आउनेबारेमा स्कुलमा कसैलाई पनि जानकारी दिएन । त्यही भएर कोही आउनुभयो होला भन्ने सुरूमा ठानेको थिएँ । शिक्षा मन्त्री नै कक्षा कोठामा पाएपछि त अचम्म लाग्यो ।’


मन्त्री पौडेलले शिक्षक तथा प्रधानाध्यापकबाट ठीक ढंगले जिम्मेवारी निर्वाह भए÷नभएको बुझ्ने र शैक्षिक समस्याका बारेमा सरोकार भएकासँग जानकारी लिनका लागि आकस्मिक निरीक्षण गरिएको बताए । काठमाडौंका केही विद्यालयमा यसअघि यस्तै प्रकृतिको आकस्मिक निरीक्षण गरिएको जानकारी दिँदै उनले भने, ‘शिक्षक कक्षाकोठामा छन् कि छैनन् ? विद्यार्थीले पढेका छन् कि के छन् भनेर आकस्मिक निरीक्षण सुरू गरेका छौं । यसबाट कमजोरी फेला परेका खण्डमा सम्बन्धित व्यक्ति वा संस्थालाई सुधारका लागि आग्रह गर्ने गरिएको छ ।’
मन्त्री पौडेलले सामुदायिक विद्यालयमध्ये राम्रो पढाइ भएका र कमजोर पढाइ भएका गरी २ श्रेणीमा विभाजन गरी निरीक्षण गरेर शिक्षण, विधि, प्रशासनिक अवस्थालगायत बारेमा अध्ययन गर्ने गरिएको जानकारी दिए ।


उनले शिक्षक विद्यार्थी अनुपात, भौतिक पूर्वाधार र शैक्षिक वातावरणका बारेमा जानकारी लिएका थिए । विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले शिक्षामन्त्री नै आएर निरीक्षण गर्दा आफूहरू गौरवान्वित भएको बताए । उनले भने, ‘मन्त्रीलाई विद्यालयको समग्र पक्ष, शैक्षिक प्रगतिसहित समस्याका बारेमा राख्ने अवसर मिल्यो । शिक्षक दरबन्दी समस्या समाधानमा उहाँले पहल गर्नुहोला भन्ने विश्वास छ ।’

Advertisement

तपाईको प्रतिक्रिया