पर्यटक स्वागत गर्न आतुर लान्द्रुक

अभिषेक अधिकारी
लान्द्रुक ।
गाउँमा पर्यटकको घुइँचो थियो, वर्षैदेखि होटल व्यवसाय फस्टाउँदै थियो । स्वदेशीभन्दा विदेशी पर्यटकको बाहुल्य रहने लान्द्रुक गाउँमा केही समययता पाहुना पातलिएका छन् । त्यसो त विश्वभर आतंक मच्चाएको कोभिड १९ संक्रमणले यो गाउँको पर्यटनलाई पनि गाँज्यो ।
कोभिड संक्रमणअघि माओवादी द्वन्द्वको चपेटामा परेको थियो लान्द्रुक । गाउँको आमा समूहकै अध्यक्षसमेत द्वन्द्वकालमा मारिएको स्थानीय सम्झन्छन् । द्वन्द्व सकिएसँगै गाउमा विस्तारै पर्यटन विकास हँुदै थियो । २०७२ सालको भूकम्पले फेरि गाउँलाई सतायो । स्थानीय डिल्लीप्रसाद तिवारीका अनुसार गाउँका प्राय मौलिक घर र लजहरुलाई क्षति पुग्यो । गाउँको पर्यटन पुन एकपटक थलियो ।
लान्द्रुक वडा नं ७ का अध्यक्ष घनश्याम चापागार्इंका अनुसार द्वन्द्व, भूकम्प र कोभिड संक्रमण झलेका लान्द्रुकेले निकै मिहेनतका साथ विदेशी तथा स्वदेशी पाहुनाको स्वागत गरिरहे । सहरमा नाकाबन्दीका बेला ग्यास लगायत अन्य सुविधाबाट अभाव भएका कारण पनि लान्द्रुकमा त्यस बेला आन्तिरिक पर्यटक बढेको स्थानीय बताउँछन् । स्थानीय विष्णु चापागाईंले ठट्टा गर्दै भने, ‘नेपाल पो गरिब छ त नेपाली त धनी छन् नि ।’
पर्यटनमा पहिल्यैदेखि कहलिएको लान्द्रुकले त्यो व्यवसायलाई जस्तै अप्ठेरामा पनि माया मारेन । पर्यटन प्रवद्र्धनका अनेक जुक्ति खोज्दै जाँदा गएको साता हनी हन्टिङ महोत्सव पनि गरे । त्यसो त २ वर्षअघि गाउँमा होमस्टे पनि सुरु गरेका थिए । दुर्भाग्य कोभिड संक्रमण त्यही बेला सुरु हुँदा होमस्टेको गतिलो सुरुआत हुनै पाएन ।
४० वर्षदेखि यहाँ होटल र लजहरु चलिरहेकोमा २ वर्षअघि होमस्टे पनि सञ्चालनमा आएको लीलादेवी त्रिपाठीले जानकारी दिइन् । उनी भन्छिन्, ‘सम्पूर्ण तयारीका साथ होमस्टे दर्ता गरी उद्घाटन गर्न लाग्दा कोरोनाको त्रास विश्वमा फैलियो र २÷४ जना पाहुना नआउँदै होमस्टेमा पाहुना आउन छाडे ।’
त्रिपाठीका अनुसार २०७५ सालमा गाउँका आमा समूहका स्दस्यहरु लमजुङको घलेगाउँ घुम्न जाँदा होमस्टे बारे जान्न पाए । होमस्टे नम्बर ९ की सञ्चालिका अस्मिता गुरुङका अनुसार होमस्टेमा प्रयोग गरिने सम्पूर्ण खाद्यान्न कोदो, भट्ट, फापर, मौसमी तरकारी, मोदी खोलाको माछा, लोकल कुखुरा, खसी, भेडा लगायत गाउँमा नै उत्पादन हुन्छन् । यहाँका घरहरु पनि निकै मौलिक छन्, त्यसैले यहाँको होमस्टेले सबैको मन जित्ने गुरुङ बताउँछिन् ।
पोखराबाट ३ घन्टाको दुरीमा पुग्न सकिने लान्द्रुक गाउँ प्राकृतिक साथसाथै सांस्कृतिक रुपले निकै धनी छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने यो गाउँबाट अन्नपूर्ण हिमाल देखिन्छ । मिलेर बसेका बहुभाषिक, बहुजातीय स्थानीय सांस्कृतिक रुपमा पनि धनी छन् । विगतमा पाहुनाको स्तकारमा भ्याइनभ्याई हुने लान्द्रुकेलाई विगत २ वर्षको अन्तरालमा पाहुनाको कमी हुँदा चिन्तित बनाएको छ । युवा व्यवसायी राम गुरुङ भन्छन्, ‘कम मात्रामा आएका पाहुनालाई पनि विगतमा धेरै मात्रामा आउने पर्यटकहरुलाई जस्तै भव्य स्वागत गर्छांै ता कि यहाँ आउने पर्यटकले मैखिक प्रचार गरिदिउन् । त्यसैले सम्पूर्णलाई गाउँमा आउन हार्दिक स्वागत गर्दछु ।’ घान्द्रुक गाउँको ठिक सामुन्ने पर्ने लान्द्रुकमा होमस्टेका अलावा १३ वटा होटल छन् ।
तपाईको प्रतिक्रिया