देशैभरका जेसीजहरुलाई पाेखरामा स्वागत गर्न आतुर छाैं– कर्माचार्य

समाधान संवाददाता २०७८ मंसिर २८ गते १५:०४

नेपाल जेसीजको यहि पुष १ गतेदेखि ४८ औँ राष्ट्रिय महाधिवेशन पुस १ गतेबाट पोखरामा हुँदैछ । पोखरा जेसीजको आथित्यतामा हुने महाधिवेशनमा देशभरका १६१ वटा शाखाका करिब ३ हजार प्रतिनिधिहरुको सहभागिता हुँदैछ । २०२२ का लागि नयाँ नेतृत्व चयन गर्ने यस महाधिवेशनको सेरोफेरोमा रहेर महाधिवेशन निर्देशक ईश्वर कर्माचार्यसँग गरिएको कुराकानी ।

१. महाधिवेशनको तयारी कस्तो हुँदैछ ?

– हामी ४८ औँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी आएका छौँ । अब हामीसँग २ दिन मात्र समय रहेकाले पनि करिब सबै कामहरु सम्पन्न हुने अवस्थामा छन् । केही कामहरुको अन्तिम तयारी भइरहेको छ । अहिलेसम्म करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

Advertisement

२. यो महाधिवेशनमा कस्ता व्यक्तिहरुको सहभागिता हुनेछ ?

– नेपाल जेसीजसँग आबद्ध रहेका देशभरमा १६१ वटा शाखा रहेका छन् । ति शाखाहरुमा आबद्ध रहेका १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको यस महाधिवेशनमा सहभागिता रहनेछ । विशेष गरेका शाखाको एक वर्षे कार्यकालको बोर्डमा रहेका व्यक्तिहरुको बाहुल्यता धेरै हुनेछ भने पूर्व अध्यक्ष तथा जेसीज अभियानमा जोडिएको नव युवाहरुको समेत महाधिवेशनमा सहभागिता हुनेछ ।

Advertisement

३. यो महाधिवेशन पोखरामै गर्नुको उदेश्य चाहि के हो ?

–पहिलो कुरा त कुनै पनि महाधिवेशन कहाँ हुने भन्ने कुरा २ वर्ष अघि नै निर्णय भएको हुन्छ । रत्ननगरमा भएको ४५ औँ महाधिवेशनले पोखरालाई २०२१ को ४८ औँ महाधिवेशन गर्ने अधिकार दिएको थियो । जसको आधारमा हामी तयारीमा जुट्यौँ । त्यसैले के उदेश्यले भन्दा पनि नेपाल जेसीज र देशभरका १६१ वटा शाखाबाट पाएको अनुमतिको आधारमा यस वर्ष पोखराले महाधिवेशन गर्ने जिम्मेवारी पाएको हो ।

४. यो महाधिवेशनले यस पोखरा क्षेत्रलाई के उपलब्धी गराउँछ जस्तो लागेको छ ?

–मैले अघि पनि भनेको छु । यस पोखरा जेसीजले नेपाल जेसीजको महाधिवेशन गर्न अवसर पाउनु नै सबै भन्दा ठूलो उपलब्धी हो । नेपालकै सुन्दर नगरी अनि देशकै सबै भन्दा धेरै पर्यटकहरुको गन्तव्य स्थल पोखरा आफैमा एउटा सबैको पर्याय हो ।

यसका साथै कोरोनाका कारण दुइवर्षदेखि पर्यटनको क्षेत्रमा थलथलीको पोखरामा हजारौँ जेसीज युवाहरुको सहभागिता हुँदैछ । जसले यस पोखराको पर्यटनको क्षेत्रमा ठूलो टेवा बन्ने कुरामा दुइमत छैन । यो महाधिेवशन यहाँको जेसीज अभियानका लागि मात्र होइन पर्यटनका लागि पनि कोशेढुङ्गा सावित हुनेछ । साथै यस भन्दा अघि पोखरा नआएका जेसीज मित्रहरुका लागि यो महाधिवेशन एउटा अवसर पनि बनेको छ । यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीबाट करिब ३ हजार जेसीजकर्मीहरुको सहभागिता रहनेछ । जसले यहाँको पर्यटकीय क्षेत्रको विकास त हुन्छ नै यसका साथै यहाँको व्यपार व्यवसायमा समेत ठूलो आम्दानी हुनेछ । जहाँँ ४ दिन लामो समय देशभरका युवाहरुको ठूलो जमघट हुनेछ ।

५. यति ठूलो महाधिवेशन गर्दै हुनुहुन्छ । कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

– जेसीज भनेको संस्था नै मिलेर काम गर्ने एउटा विशुद्ध सामाजिक संस्था हो । यहाँ हरेक युवाहरुलाई जिम्मेवारी दिइन्छ र त्यहि जिम्मेवारीलाई कुशल नेतृत्वका साथ सम्पन्न गर्ने गरिन्छ । यसैलाई आधार मान्ने हो यो संस्थाले टिममा काम गर्छ । हामीले महाधिवेशनका लागि शाखाका पूर्व अध्यक्षको मुल समिति, शाखाका पदाधिकारी, सदस्यहरुको विभिन्न उपसमिति निर्माण गरेका छौँ । साथै पोखराका विभिन्न व्यक्ति, कास्की जिल्लाका विभिन्न सामाजिक संघ संस्थाहरुलाई समेत सहभागि गराएर उपसमिति तथा सल्लाहकार समिति निर्माण गरेका छौँ । जुन समिति र उपसमितिले आफ्नो क्षेत्रमा भएको कामको जिम्मेवारीलाई पुरा गर्न निरन्तर लागि पर्नु भएको छ । त्यसैले पनि कामको बाँडफाँड नै व्यवस्थापन गर्ने ठूलो आधार हो ।

६. कार्यकक्रमको ढाँचा हेर्दा त खर्च निकै नै हुने देखिन्छ । यो महाधिवेशनमा कति खर्च हुँदैछ अनि यसको स्रोत के हो ?

–हो जेसीजको हरेक वर्ष हुने यो महाधिवेशन निकै खर्चालु हुने गर्छ । यसमा मुख्य पाटो भनेको नै आर्थिक व्यवस्थापनको हो । ४ दिनका लागि सबै सहभागिलाई खान बस्न, अनि यहाँको हरेक गतिविधिका लागि निकै ठूलो खर्च हुने गर्छ । यो महाधिवेशनमा करिब २ करोड खर्च हुने अनुमान गरिएको छ । र यसको मुख्य स्रोत भनेको सहभागि व्यक्तिबाट उठाइने रजिष्ट्रेशन शुल्क नै हो । जसमा सहभागिबाट नै करिब १ करोड संकलन हुन्छ । यसका अलवा नेपाल जेसीजले दिने रकम, यस क्षेत्रका विभिन्न सामाजिक संघ संस्था तथा सहयोगी मनहरुको सहयोग नै मुख्य स्रोत हो ।

७. महाधिवेशनमा के कस्ता कार्यक्रमहरुलाई समावेश गरिएको छ ।

–४ दिनसम्म चल्ने महाधिवेशनमा नेपाल जेसीजका हरेक वर्ष हुने नियमित कार्यक्रमहरु नै हुन्छन् । जसमा १ गते दिउँसो उद्घाटन हुनेछ । भोलिपल्टदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । जसमा थिम सेमीनार, शाखा अध्यक्षहरुको विभिन्न बैठक, सेमीनार, राष्ट्रिय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछन् भने यसको मुख्य कार्यक्रम भनेको आगामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया हुनेछ ।

८. भनेपछि यो महाधिवेशनले नेपाल जेसीजलाई नयाँ नेतृत्व दिनेछ । अबका वर्षमा कस्तो नेतृत्व ल्याउँदै हुनुहुन्छ ?

– जेसीजमा एक पद, एक व्यक्ति, एक कार्यकाल र एक वर्ष रहनेछ । हरेक महाधिवेशनमा नयाँ नेतृत्व परिवर्तन हुन्छ । अब रहयो कस्तो नेतृत्व ल्याउने भन्ने विषय । जेसीजमा १०÷१५ वर्षको निरन्तरको अभियानबाट खारिएको युवा राष्ट्रिय पदाधिकारीहरुमा तयारी भएका हुन्छन् । त्यसमा सबै अब्बल छन् । यसको पनि आफ्नै पक्रिया हुन्छन् । त्यहि प्रक्रियामा यसमा भाग लिने प्रतिनिधिले चुन्ने अधिकार भएकाले गर्दा महाधिवेशन गराउने जिम्मा हाम्रो हुन्छ भने नयाँ नेतृत्व ल्याउने जिम्मा जेसीज मनहरुको हुने भएकाले यो उहाँहरुले छान्ने विषय हो ।

९. अन्त्यमा के भन्नु हुन्छ ?

– निरन्तरको अभ्यासपछि हामीले यो वर्षको महाधिवेशनलाई नजिकबाट नियाल्ने दिन नजिकिएको छ । सकेसम्म महाधिवेशनमा हामीले कुनै कमजोरी नहोस भन्ने हेतुले काम गरेका छौँ । यो महाधिवेशनलाई अहिलेसम्मकै उत्कृष्ट र एतिहासिक बनाउने छौँ । र यो महाधिवेशनको उद्घाटनको दिनको पर्खाइमा रहेकाले तपाई देशभरबाट सहभागि हुने जेसीज मनहरुलाई न्यानो स्वागत गर्न आतुर छौँ । हामी सबैको महाधिवेशन भएकाले यसलाई सफल पार्न तपाई हामी सबैको उत्तिकै जिम्मेवारी भएकाले उत्साहका साथ सहभागि भइदिनु हुन विनम्र अनुरोध समेत गर्दछु ।

तपाईको प्रतिक्रिया