जेसीज राष्ट्रिय महाधिवेशन
जेसीजको संस्कार राजनीतिमा प्रवेश गराउनुपर्यो
म २०२२ को नेतृत्वमा आउने साथीलाई हाँसीहाँसी गलामा भएको चेन हस्तान्तरण गर्छु । राजनीतिमा त्यो संस्कार छ त ? मृत्यु नहुँदासम्म पद नछोड्ने सिस्टम जेसीजमा छैन ।
अरुणेश्वर खनाल, राष्ट्रिय अध्यक्ष, नेपाल जेसीज
तपाईंको कार्यकाल कसरी बिताउनुभयो, के के काम गर्नुभयो ?
नेपाल जेसीज वर्ष २०२१ को अध्यक्षमा म निर्वाचित भएर आएपछि विधान बमोजिम पद स्थापित भइसकेपछि देशैभरिका सयभन्दा बढी शाखामा म भौतिक रुपमा नै उपस्थित भएर पदस्थापन गराएँ ।
नेपाल जेसीज २०२१ का लागि जुन प्लान अफ एक्सन मैले तयार गरेको थिएँ, ती सबै कार्यक्रम मैले पूरा गरेको छु । सँगसँगै त्यसअघि तय भएका कार्यक्रम गरेको छु । जस्तो सन् २०१२ मा क्षेत्रीय तालिम प्रतिष्ठान कार्यक्रम सुरु भएको थियो । त्यो रोकिएको थियो । जेसीजभित्र ४ वटा क्षेत्र छन् । म अध्यक्ष भइसकेपछि ती सबै ४ वटै क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान सुरु भएको छ । त्यो प्रतिष्ठान अन्तर्गत तालिमका कार्यक्रम सञ्चालन गर्छाैं । जेसीज आफैंमा एउटा तालिमको विश्वविद्यालय हो । त्यो विश्वविद्यालयको हामी विद्यार्थी हौं । औपचारिक शिक्षा स्कुल र कलेजमा पढाइ हुन्छ, मानव जीवनका लागि चाहिने अति आवश्यक शिक्षा हामी जेसीजको विश्वविद्यालयमा तालिममार्फत, गोष्ठीमार्फत सम्पन्न गर्ने गर्छाैं । त्यो जेसीज वर्ष २०२१ ले सहज रुपमा सम्पन्न गरिसकेको छ ।
जेसीजभित्र हामी के भन्छौं भने मेन प्लस वुमन इज इक्वेल टु ह्युमन भनेर भन्ने गर्छाैं । हामीसँग लेडिज शाखा पनि छन् । जति लेडिज शाखा छन्, ती शाखाका लागि यो वर्षबाट नेसनल लेडी एकेडेमी भनेर यो वर्षबाट नयाँ कार्यक्रम सुरुआत गरेका छौं । हामी जेसीजभित्र नेतृत्व विकास, व्यक्तित्व विकास, समाज रुपान्तरण, उद्यमशीलतालाई मुख्य प्राथमिकता राखेर अगाडि बढ्छौं । कति जनाचाहिँ उद्यमी भइसक्नुभएका व्यक्तित्व हुनुहुन्छ ।
कति साथीभाइ भर्खर जेसीजमा प्रवेश गर्दै हुनुहुन्छ, उहाँहरु उद्यमशीलताको खोजीमा हुनुहुन्छ, कति साथीहरु उद्यम गरिरहनुभएको छ तर थुप्रै कुराको अभाव छ । त्यसैले सबै पक्षको समावेश गरेर यो वर्ष हामीले बिजनेस समिट सम्पन्न गरेका छौं । सँगसँगै हामीले समुदायलाई सहयोग गर्नका लागि जेसीज भिलेज बनाएका छौं । कुनै एउटा गाउँलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा जेसीजबाट के के सहयोग गर्न सकिन्छ, सहयोग गर्ने हाम्रो कार्यक्रम हो । हाम्रा १ सय ६१ शाखामध्ये २५ वटाभन्दा बढी शाखाले जेसीज भिलेजको काम सुरु गरेका छन् । यो एकै वर्षमा भइहाल्ने कुरा होइन । अबको ५ वर्षमा सबै जेसीजले यो अबलम्वन गर्छन् । समुदायको जिम्मेवार नागरिक भएर हामी समुदायमा गएका छौं । यो वर्षको मेजर टार्गेट हो ।
जेसीज भिलेजमा के गरिन्छ ?
जे सकिन्छ, त्यो गर्ने । कुनै शाखाले घर नभएका मानिसलाई घर बनाइदिएको छ । नारायणगढ शाखाले मुग्लिङ नारायणगढ राजमार्ग नजिकको गाउँमा १६ वटा घर बनाइदिएको छ । कुनै एउटा शाखाले एउटा गाउँमा जाँदा त्यो समाजमा अति आवश्यक जे छ, त्यो गर्ने । नेपाल सरकारले जस्तो सबै काम हामीले गर्न सक्दैनौं । तर शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या हामीले गर्न सक्ने काम गर्ने ।
व्यक्तिगत अवसरको क्षेत्रमा के गर्नुभयो ?
यो वर्ष हामीले व्यक्तिगत अवसरका क्षेत्रमा १ हजार तालिम सञ्चालन गरेका छौं । १ सय ६१ शाखा र नेपाल जेसीजले १ हजारभन्दा बढी तालिम सम्पन ग¥यौं । तालिम किनभने मानव जीवनमा सिकाइ नै सबैभन्दा ठूलो कुरा हो । भनिन्छ नि सबै चिज अर्काका लागि, सिकेर प्राप्त ग¥या चिजमात्रै आफ्ना लागि । मानिस जन्मजात एउटा एउटा क्षमता लिएर आएका छन् । त्यो अन्तरनिहीत क्षमता प्रष्फुटन गर्नका लागि तालिम उपयोगी हुन्छ । जेसीजभित्र लागिसकेपछि यसमा सिकेका कुरा व्यक्तिले समाजमा दिन सक्छ भन्ने सोच र उद्देश्यका साथ व्यक्तिगत अवसरको क्षेत्रमा तालिम चलाएका हौं । व्यावसायिक अवसरको क्षेत्रमा अत्यन्त प्रशिक्षित व्यक्तित्व ल्याएर बिजनेस गरिरहेका, बिजनेस गर्न खोजिरहेका साथीहरु जुटाएर बिजनेस समिट गर्छाैं । व्यक्तिगत, सामुदायिक, व्यावसायिक र अन्तर्राष्ट्रिय अवसरका क्षेत्रमा हामी केन्द्रित हुन्छौं ।
हुन त जेसीज सेवाभन्दा नेतृत्व र व्यक्तित्व विकासमा केन्द्रित संस्था हो । तै पनि विश्वमै महामारी ल्याएको कोभिड १९ का बेला केही गर्नुभयो कि ?
कोभिड महामारी भयो । यो प्राकृतिक कुरा भयो । यो महामारीलाई छेक्छु भन्नु हाम्रो पहुँचभन्दा बाहिरको कुरा हो । धेरैको ज्यान गयो, धेरैले दुःख पाउनुभयो । धेरैले पीडा भोगेको परिस्थिति छ । त्यहीभित्र हामीले अवसर खोज्ने हो भने नेपाल जेसीजले यसबीचमा ६ सयभन्दा बढी तालिम ग¥यौं । कोभिड १९ आयो, यसले हामीलाई प्रविधिसँग जोड्यो । जुम एप्स भन्ने कोभिडभन्दा अघि थाहै थिएन । प्रविधिमा जोड्ने अवसरका रुपमा कोभिड १९ रह्यो ।
जेसीजले नेतृत्व विकास गर्ने भन्छ । संस्थाले नेपालमा काम गर्न थालेको पनि ६० वर्ष हाराहारी भइसक्यो । तर नेपाली समाजलाई नेतृत्व गर्ने, नेपाली राजनीतिलाई नेतृत्व गर्ने गरी जेसीजबाट कोही पनि अघि आएको पाइँदैन । यसलाई नेपाल जेसीजले समीक्षा गरेको छैन ?
नेपाल जेसीजले आजसम्म विविध कार्यक्रम र गतिविधि गर्दै अघि बढिराखेको छ । नेपाल जेसीजले उत्पादन गरेका व्यक्तित्व यही समाजमा हुनुहुन्छ । कतिपय व्यक्तित्व बाहिरी समाजमा हुनुहुन्छ । मलाई राम्रोसँग के थाहा छ भने नेपालमा संसदीय अभ्यास सुरुआत हुँदै गर्दा संसदीय व्यवस्था तालिम प्रणाली नेपालका राजनीतिक दलका प्रमुखलाई नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्षहरुले सिकाउनुभएको हो । र, नेपाल जेसीजको नेतृत्व गरेका व्यक्तित्वहरुले हिजोका दिनमा राजनीतिप्रति धेरै चासो राख्नुभएको पाइएन । तर मुलुक जताततै राजनीतिबाट गाइडेड छ । राजनीतिक नेतालाई गाली गर्नु र देशलाई पछाडि धकेलिरहन दिनु गलत छ । नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्षहरुबीच यो समीक्ष पनि भएको छ । र, अब हामीले जेसीजको नेतृत्व गरेरमात्रै हुँदैन, समाजको नेतृत्वमा जानुप¥यो, देशको नेतृत्वमा जानुप¥यो । जेसीजको संस्कार राजनीतिमा प्रवेश गराउनुप¥यो । समाजमा प्रवेश गराउनुप¥यो ।
जस्तो कि म नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष सन् २०२२ को नेतृत्वमा आउने साथीलाई हाँसीहाँसी सहज रुपमा मेरो गलामा भएको चेन हस्तान्तरण गर्छु । राजनीतिमा त्यो संस्कार छ त ? यहाँ मृत्यु नहुँदासम्म पद नछोड्ने सिस्टम जेसीजमा छैन । १८ देखि ४० वर्षको युवामात्रै जेसीजमा हुन्छ र एक व्यक्ति, एक पद, एक कार्यकाल हुन्छ । राजनीतिमा एक जना व्यक्ति पटक पटक नेतृत्वमा आइरहने सिस्टम छ । जस कारणले गर्दा हामीजस्तो युवा विदेश पलायन भइरहने अवस्था छ । त्यसैले अब नेपाल जेसीजको नेतृत्व गरेकाहरु राजनीतिक जिम्मेवारीमा पनि हामी जाने । जुनसुकै दलमा पनि जाने । समाजको नेतृत्वमा जाने । यो राष्ट्रको श्रीवृद्धिमा महत्वपूर्ण काम हामीले गर्नुपर्छ ।
जेसीजको आस्था नै ‘शासन व्यक्ति होइन, विधिको हुनुपर्छ’ भन्ने छ । तर नेपालमा विधिको शासन स्थापित हुन नसकिरहेको अवस्थामा पनि नेपाल जेसीज किन मौन छ ? किन बोल्दैन ?
विधिको शासनको पक्षमा नेपाल जेसीज स्थापना कालदेखि नै लडिराखेको छ । २०४६ सालको जनआन्दोलनमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्षले नेतृत्व गर्नुभएको हो । हामी यो मुलुकमा शान्ति चाहन्छौं । द्वन्द्वबाट कुनै पनि समस्याको समाधान निस्कन सक्दैन । बहुदलीय व्यवस्थामा यो मुलुक जानुपर्छ भनेर नेपाल जेसीजको राष्ट्रिय अध्यक्षले आह्वान गरेर हामी आन्दोलन थियौं । २०६२÷६३ को आन्दोलनमा पनि नेपाल जेसीज थियो । एकातिर माओवादीको त्रास थियो, अर्काेतिर नेपाल सरकारको । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष दिनेश कोइराला र अर्जुन प्रसाईं नेपाल जेसीजको टिम लिएर बरु हामी गोली खान तयार छौं, तर मुलुकमा हामी शान्ति चाहन्छौं भन्ने सोच र उद्देश्यका साथ रुकुम र रोल्पा पुग्नुभएको थियो । पछिल्ला समयमा पनि हामीले मुलुकमा विधि मिचिएका घटनामा कहिले स्टेटमेन्टमार्फत् त कहिले नेपाल जेसीजको प्लेकार्डमार्फत प्रदर्शन गरेका छौं । राजनीतिक दलहरुले जस्तो ठूलो विरोध प्रदर्शन नगरे पनि नेपाल जेसीज विधिको पक्षमा नबोलेको छैन । राजनीतिक दलहरुको विरोध प्रदर्शन जसरी नेपाल जेसीजको गतिविधि मिडियामा कम आएकोमात्रै हो ।
पोखरामा आयोजना भइरहेको नेपाल जेसीजको ४८ औं राष्ट्रिय कन्भेन्सनको सन्देश के हुन्छ ?
यसभन्दा अघि पनि पोखरामा हामीले राष्ट्रिय महाधिवेशन पोखरा जेसीजको आयोजनामा सम्पन्न गरिसकेका छौं । विभिन्न कार्यक्रमका सन्दर्भमा, राष्ट्रिय महाधिवेशनका सन्दर्भमा पोखरा जेसीज नेपाल जेसीजभित्र धेरै अनुभवी शाखा हो । सँगसँगै पोखरा जेसीजमा नेपाल जेसीजका धरोहर पूर्वराष्ट्रिय अध्यक्षहरु पनि हुनुहुन्छ । यो राष्ट्रिय महाधिवेशन आयोजना गर्दै गर्दा म पोखरा जेसीजलाई धेरै धेरै धन्यवाद र आभार भन्न चाहन्छु । नेपाल जेसीजको तालिकामा रहेका सबै कार्यक्रम सम्पन्न हुँदै पोखरा जेसीजले अत्यन्त सभ्य र भव्य तथा नेपाल जेसीजको गाइडलाइन्समा अत्यन्त सफल, सन्देशमूलक र सबै जेसीजका साथीले हेर्न लायक सम्मेलन सम्पन्न हुन्छ ।
अहिलेसम्म नेपाल जेसीजको नेतृत्व मैले गरिरहेको छु, यो महाधिवेशनमार्फत् वर्ष २०२२ को नयाँ नेतृत्वलाई म पद हस्तान्तरण गरेर जाने हो । सँगसँगै अरु संघ, संस्थामा पनि सहज नेतृत्व हस्तान्तरण होस् । पोखरामा राष्ट्रिय महाधिवेशन गर्दै गर्दा यहाँको आन्तरिक पर्यटनमा पनि हामीले लगानी गरेका छौं । ३ हजार ३५ सय जेसीजका साथीहरु पोखरामा आउँदा केही न केही उत्थान पर्यटनको हुने विश्वास छ । सबै पोखरेलीको साथ र सहयोगमा हाम्रो महाधिवेशन सफल हुने विश्वास छ ।
प्रस्तुति सञ्जय रानाभाट
तपाईको प्रतिक्रिया