जेसीज राष्ट्रिय महाधिवेशन

सक्षम व्यक्तिले समाजमा योगदान गर्न सक्छ

समाधान संवाददाता २०७८ पुष १ गते १२:१९

१८ देखि ४० वर्षका युवा आउन सक्नुहुन्छ । सिक्नकै लागि हो भने जेसीजमा आउनुपर्छ । युवाले सक्षम भइसकेपछि समाजमा जुनसुकै योगदान गर्न सक्छ ।
किरण केसी
अध्यक्ष, पोखरा जेसीज

नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आयोजना के कसरी गर्दै हुनुहुन्छ ?
पोखरा जेसीजको स्थापना सन् १९७५ मा भयो । त्यस अनुसार हामी ४७ वर्षमा प्रवेश गरिरहेका छौं । धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय संघ, संस्था छन् । सबैको आआफ्नो उद्देश्य छन् । तीमध्ये जेसीज फरक सन्दर्भ बोकेको संस्था हो । सायद एउटैमात्र संस्था होला, जेसीज जोचाहिँ मानव विकासको कुरा गर्छ । विशेष गरी व्यक्तित्व र नेतृत्व यसको थिम भन्छौं हामी । पहिलो प्राथमिकता त जेसीजका सदस्यलाई नै उजागर गर्ने र क्षमता अभिवृद्धि गर्ने हुन्छ । कुनै पनि व्यक्ति सक्षम हुँदा क्षमतावान हुँदा समाजलाई योगदान दिन सक्छ भन्ने अभिप्राय हो । १९८४ र १९९२ मा गरी दुई पटक पोखरा जेसीजले नेपाल जेसीजको ११ औं र १९ औं महाधिवेशन सम्पन्न गरिसकेको छ । महाधिवेशन गर्नका लागि पनि सामान्य प्रयासले हुँदैन । एउटा छुट्टै विधि छ हाम्रो ।


नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन पोखरा ल्याउन कसरी सफल हुनुभयो ?
यो व्यक्तिको भन्दा पनि संस्थागत प्रयास हो । अहिले जेसीजका १ सय ६१ शाखा छन् । कुनै पनि शाखाले राष्ट्रिय महाधिवेशन गर्ने हो भने बिडिङको प्रोससमा जानुपर्छ । अहिलेको महाधिवेशन गर्न हामी लगायत अन्य शाखाले पनि बिडिङ गरेका हुन् । १९९२ पछि विगत धेरै वर्षदेखि पोखरा जेसीजबाट प्रयास भइरहेको हो । महाधिवेशन भनेपछि जोडिन्छ, आर्थिक र व्यवस्थापनको पाटो । पोखरा र अन्य ठाउँको आर्थिक कुरा पनि फरक हुने भइहाल्यो । विगतका धेरै प्रयासबाट पनि हामीले महाधिवेशन ल्याउन सकेका थिएनौं । पुनः २९ औं वर्षमा हामीले ल्यायौं । जुन वर्ष प्रयास गरिन्छ, त्यसको दोस्रो वर्षमात्रै महाधिवेशन गर्न पाइन्छ । २ वर्षको अन्तराल हुन्छ महाधिवेशन पाउन । हामीले सन् २०१९ मा बिडिङ ग¥यौं, त्यो बिड विन गरेर २०२१ को डिसेम्बरका लागि हामीले पायौं । २०१९ मा यो बिडिङ प्रोससको कोअर्डिनेटर पनि म आफैं थिएँ पोखरा जेसीजमा । हाम्रो टिमले पोखरामा हामी यसरी यसरी महाधिवेशन गर्छाैं भनेका थियौं । हामीले बिड विन ग¥यौं । अब ४९ औं महाधिवेशन वीरगन्जमा हुँदै छ, त्यो गत वर्ष निर्धारण भएको हो । अब नेपाल जेसीजको ५० औं महाधिवेशन कहाँ कुन शाखाले गर्ने भन्ने पोखरा महाधिवेशनका बेला निर्धारण हुन्छ ।

Advertisement


२०१९ को परिस्थिति फरक थियो । हिजो हामीले सबैको सहयोग जुटाएर हामी सफल बनाउँछौं भन्ने थियो । तर कोभिड आइसकेपछि व्यापार, व्यवसाय ठप्प भएको अवस्थामा परिस्थिति फरक भएको छ । तर जब असोजबाट कोभिड केही मत्थर भएपछि मार्केट पनि खुल्यो र हामीले गण्डकी प्रदेश सरकार, महानगरपालिका, गाउँपालिका, पर्यटन बोर्ड लगायततिर अप्रोच गरेर, कोअर्डिनेट गरेर यो महाधिवेशन गर्दै छौं । यो महाधिवेशन गर्दा जति खर्च हुन्छ, त्यो भन्दा ५ गुणा बढी यहाँको अर्थतन्त्रमा खर्च भएर आर्थिक क्षेत्र चलायमान हुने अवस्थाचाहिँ छ । ठूला राम्रा व्यावसायिक प्रतिष्ठानहरुको पनि साथ लिएर सबैको सहयोगमा यो महाधिवेशन गर्दै छौं । थलिएको पर्यटन नै हो, यो महाधिवेशनले पर्यटन उकास्न मद्दत गर्छ ।

यो महाधिवेशनले नेपाल जेसीजको मूल नेतृत्व चयनमात्रै गर्ने त छँदै छ, अरु के सन्देश दिन्छ ?
यो महाधिवेशनको प्राथमिकता मूल नेतृत्व चयन त हो नै । सँगसँगै वर्ष समापन पनि हो यो महाधिवेशन । यतिका शाखाका गतिविधिको समीक्षादेखि भावी योजनादेखि धेरै कुरामा छलफल हुन्छ । सेसनहरु चल्छन् । राष्ट्रिय स्तरमा ४० वर्षभित्रका युवालाई विभिन्न क्षेत्रमा योगदान पु¥याएका टप टेनहरुलाई सम्मान गर्ने कार्यक्रम हुन्छ । जस्तो पोखरा जेसीजको मेरो नेतृत्वमा ‘युथ लिडरसिप ट्रान्सलेटिङ भिजन इन टु रियालिटी’ भन्ने थिम रह्यो । यही अवसरमा राष्ट्रिय स्तरका वक्ता ल्याएर थिम सेमिनार पनि चलाउँछौं । राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिता पनि हुन्छ । त्यो जेसीजभित्रकै लागि हुन्छ । नेपाल जेसीजका १६१ शाखालाई ४ वटा क्षेत्रमा विभाजन गरेको छ—ए, बी, सी, डी भनेर । प्रत्येक क्षेत्रको क्षेत्रीय ४ जना विजेता चुनिइसकेका छन् । अब उनीहरुको फाइनल यहाँ हुन्छ ।

Advertisement


चुनावको बेला जति पनि उम्मेदवार हुनुहुन्छ, उहाँहरुका लागि ककसको व्यवस्था हुन्छ । जोजसले उम्मेदवारी प्रस्तुत गर्नुभएको छ, उहाँहरुले स्टेजमा आफ्नो भिजन र प्रस्तुत राख्नुहुन्छ । त्यस आधारमा मतदाताले मन परेको उम्मेदवार छान्न पाउनुहुन्छ । त्यसका अलावा व्यवस्थापनका धेरै काम हामीले गर्नुछ ।


पोखरासँग धेरै अपेक्षा पनि हुन्छ । त्यो पूरा हुन्छ ?
नेपालभरिबाट पोखरा जेसीजलाई हेर्ने दृष्टिकोण धेरै फरक छ । हामी धेरै पुरानो हौं । पोखरामा महाधिवेशन उत्कृष्ट हुन्छ भन्ने विश्वास धेरैले गर्नुभएको छ । त्यो हाम्रा लागि चुनौती छ । ३ हजारभन्दा बेसीलाई व्यवस्थापन गर्नुपर्ने छ । यो आखिरी टिमवर्क हो, त्यस आधारमा हामी चुनौती सामना गर्दै उत्कृष्ट महाधिवेशन गर्छाैं भन्ने आत्मविश्वासमा छौं । पोखरा जेसीजले ४७ वर्ष पार गरिरहँदा ४२ जना छ पूर्वअध्यक्ष हुनुहुन्छ । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पोखराबाट विकल शेरचन, राजु केसी, हरिकृष्ण बास्तोला र रवीन्द्र गुरुङ भइसक्नुभएको छ । सक्रिय सदस्यहरु सयको हाराहारीमा छौं । स्थापना कालदेखि जति पोखरामै हुनुहुन्छ, उहाँहरुलाई पनि जतिसक्दो समेटेर कमिटीहरु बनाएका छौं । २३ वटा त विभिन्न फरक विभाग बनाएका छौं । प्रत्येक विभागको प्रमुख हाम्रा पूर्वअध्यक्षहरु नै हुनुहुन्छ । समग्र यो कन्भेन्सनको डिरेक्टर हाम्रो पूर्वअध्यक्ष ईश्वर कर्माचार्य हुनुहुन्छ र शाखाको अध्यक्षको हिसाबले म भएँ । टिम स्पिरिटका आधारमा पोखरा जेसीजले यो महाधिवेशनलाई सहज रुपमा नै व्यवस्थापन गर्न सक्छ भन्ने विश्वास छ ।


जेसीजसँग जोडिन चाहने पोखरेली युवालाई तपाईंको आह्वान के छ ?
जेसीजमा १८ देखि ४० वर्षभित्रका युवा आउन सक्नुहुन्छ । सिक्नकै लागि हो भने जेसीजमा आउनुपर्छ । हाम्रो प्राथमिकता भनेको व्यक्तिलाई विकास गर्ने भन्ने हो । एउटा युवा सक्षम भइसकेपछि उसले समाजमा जुनसुकै योगदान पनि गर्न सक्छ । व्यक्तिको विकास गर्ने भनेको उसलाई समाज बुझाउनु, उत्तरदायित्व बुझाउनु, व्यावसायिकता बुझाउनु हो । त्यसरी विकास भएको युवाले समाज लिड गर्न सक्छ । हाम्रोमा सिधै फर्म भरेर सदस्य भइँदैन । वर्षको एक पटकमात्रै आवेदन खुल्छ । अब्जरबेसन पिरियड पनि हुन्छ । क्राइटेरिया मिट गरेपछि सदस्यता पाइन्छ ।

तपाईको प्रतिक्रिया