युवालाई संसदीय सहयोग फेलोसिप

समाधान संवाददाता २०७८ पुष १ गते १९:४७


पोखरा ।
युवा पंक्तिलाई नीति निमार्णमा सरिक गराउने उद्देश्यसाथ पोखरा रिसर्च सेन्टरले पूर्व व्यावसायिक संसदीय सहयोग फेलोसिप कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशको ११ जिल्लाका २० देखि ३० वर्षका ५० जना युवा सहभागी छन् ।

Advertisement


गण्डकी प्रदेशका युवालाई प्रदेशका नीति निमार्ताहरुसँग रही कानुन निर्माण तथा सार्वजनिक नीतिमा ज्ञान हासिल गर्न सहभागी बनाउने उद्देश्य सेन्टरले राखेको छ । फेलोसिपको २०२१—२२ को प्रथम ५० जनाको समूह छनोट पश्चातपोखरा रिसर्च सेन्टरले २५÷२५ जनाको समूह बनाई पहिलो सत्रको तालिम सुरु गरेको हो ।


पहिलोसत्रको तालिमपछि ५० सहभागीबाट प्रजातान्त्रिक रुपमा, समावेशी, परिश्रम, र योग्यताको आधारमा राखेर २५ जना सहभागीलाई छनोट गरिने सेन्टरले जनाएको छ । दोस्रो सत्रको तालिमपछि १२ जना छानी तिनै १२ जनालाई गण्डकी प्रदेश सभाका सदस्यहरुसँग काम गर्ने मौका दिइने भएको छ । उनीहरुले प्रदेश सभा सदस्यका काम कारबाहीमा सहयोग गर्नुपर्नेछ ।


गण्डकी प्रदेशका सांसदहरुको निगरानीमा राखी, तोकिएका सांसदहरुसँग संसदको कार्यका लागि सक्रिय रुपले २६ हप्तासम्म काम गर्न मौका दिइने सेन्टरले जनाएको छ । सांसदहरुका लागि संसदमा प्रश्न गर्नका लागि प्रश्नहरुको खेस्रा बनाउने, भाषण गर्नका लागि भाषण वा छलफलका लागि कागजात तयार गर्ने, सार्वजनिक महत्वका मुद्दा उठाउन सहयोग गर्ने लगायतमा उनीहरुका दायित्व हुनेछन् ।


‘नेसनल इन्डोमेन्ट अफ डेमोक्रेसी’सँगको सहकार्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न क्षेत्रका विज्ञ, अनुसन्धाता स्रोतव्यक्ति छन् । सहभागीको व्यक्तिगत क्षमता अभिवृद्धिदेखि उनीहरुलाई जीवनोपयोगी र भविष्यमा आवश्यक विभिन्न सामाजिक, आर्थिक, राजनीतिक क्षेत्र सम्बन्धित सत्र कार्यक्रममा समावेश छन् । नीति नियम निर्माणको क्षेत्रमा आवश्यक विभिन्न कौशल र प्रविधिहरुको विकास, समसामयिक विषयवस्तु र त्यसका सम्भावित समाधानबारे छलफल र अन्तक्र्रिया सहभागीका लागि राखिएको छ ।

Advertisement


युवाहरूलाई सरकारी निकायहरूले कसरी काम गर्छन् र सार्वजनिक पारदर्शिता र कसरी जवाफदेहिता बढाउँछ भनेर अझ राम्ररी बुझ्न क्षमता प्रदान गर्ने पोखरा रिसर्च सेन्टर उल्लेख गरेको छ । अमेरिकी दूतावास नेपालको सहकार्यमा गण्डकी प्रदेशमा सुरु गरिएको उक्त कार्यक्रम कर्णाली प्रदेशमा पनि हृति फाउन्डेसनसँगको सहकार्यमा सुरु भएको छ । कार्यक्रममा पोखरा रिसर्च सेन्टरका तर्फबाट सौरभ वाग्लेले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया