धनवाद विराेधी धनराज

पोखरा ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा स्याङ्जाबाट उम्मेदवारका आकांक्षी थिए धनराज गुरुङ । तर, पार्टी सभापति शेरबहादुर देउवा र उनीनिकट गोपालमान श्रेष्ठले नपत्याउँदा टिकटै पाएनन् । त्यति बेला धनवाद र डनवाद पार्टीमा हाबी हुँदा आफूजस्ता धेरैले टिकट नपाएको धनराजको प्रतिक्रिया थियो । तर उनी पार्टीमा सुधार र परिवर्तनको मुद्दा उठाउँदै सधै सक्रिय भइरहे । त्यसकै फलस्वरुप गुरुङ १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको उपसभापति निर्वाचित भएका छन् ।
शेखर कोइराला समूहबाट निर्वाचनमा होमिएका गुरुङले सभापति शेरबहादुर देउवा समूहका विजयकुमार गच्छदारभन्दा २ मतमात्रै बढी प्राप्त गरेर उपसभापति बन्न सफल भए । गच्छदार यसअघि पार्टी उपसभापति थिए । गुरुङले भने केन्द्रीय सदस्यबाट उपसभापतिमा छलाङ मारेका हुन् ।
गुरुङले अरु ५ प्रतिस्पर्धीलाई पराजित गरे । उनीसँगै देउवानिकट पूर्णबहादुर खड्का पनि उपसभापति निर्वाचित भएका छन् । कांग्रेसमा यसअघि उपसभापति निर्वाचित हुने व्यवस्था थिएन । मनोनीत हुन्थे । २ उपसभापति नै निर्वाचित हुनुपर्ने विधान बनेपछि धनराज नयाँ व्यवस्था अनुसार प्रतिस्पर्धामा थिए ।
१२ औं र १३ औं महाधिवेशनबाट धनराज केन्द्रीय सदस्य निर्वाचित भएका थिए । यसअघि आदिवासी जनजातितर्फ आरक्षण कोटामा केन्द्रीय सदस्य भएका थिए, तर यसपालि खुला प्रतिस्पर्धा हुने जिम्मेवारीमा उनले बाजी मारेका छन् ।
गुरुङले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका हुन् । ०३६ सालको विद्यार्थी आन्दोलन उनको राजनीतिक सुरुआती बिन्दु थियो । त्यसपछि नेविसंघमा लागेका गुरुङ संघको जिल्ला सचिव हुँदै केन्द्रीय उपसभापति र केन्द्रीय सभापतिसमेत भएका थिए । पछि उनी तरुण दलको महामन्त्रीसमेत भए । ५३ सालका नेविसंघ सभापति उनी ५४ सालमा तरुण दल महामन्त्री भएका हुन् । २०४४ सालमा धनराज पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका तर्फबाट उम्मेदवार थिए । हाला कि त्यो चुनाव उनले जितेनन् ।
आमनिर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बनेर चुनाव लडेको अनुभव र इतिहास भने धनराजसँग छैन । तर उनी पहिलो र दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद भएका थिए । २०७४ सालको आमनिर्वाचनमा भने उनी उम्मेदवार सूचीमा पर्न वञ्चित भए ।
धनराज निष्ठा र नैतिकताको राजनीतिको वकालत गर्छन् । सभापतिमा आफ्नो समूहका नेता शेखरले हारे पनि आफूहरुको विचारले जितिसकेको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर ५६ वर्षका धनराजलाई अब स्याङ्जाबाट प्रतिनिधि सभाको उम्मेदवारका रुपमा हेरिएको छ । उनको गाउँ अर्जुनचौपारी क्षेत्र नम्बर १ मा पर्छ । २ नम्बर क्षेत्रबाटै भए पनि २०७४ सालको निर्वाचन लड्न चाहेका उनका लागि शेरबहादुर देउवानिकट नेता गोपालमान श्रेष्ठ बाधक बने । यद्यपि श्रेष्ठले पनि नेकपा एमालेकी पद्मा अर्यालसँग चुनाव हारे ।
यता, पद्मा पनि एमालेको सचिव बनेर फड्को मारेकी छन् । स्याङ्जाको राजनीतिमा फेरि पनि धनराजका लागि पार्टीभित्र जिल्ला सभापति राजु थापा, उदीयमान युवा नेता भागवतप्रकाश मल्लसँग शक्ति सन्तुलन गर्दै अघि बढ्नुपर्ने चुनौती छ भने बाहिर एमालेमा केन्द्रीय नेताको रुपमा उदाएकी पद्मा अर्यालको सामना गर्नुपर्ने देखिएको छ ।
तपाईको प्रतिक्रिया