‘युवा मिलौं, समृद्धिको खाका कोरौं’

समाधान संवाददाता २०७८ पुष २ गते १०:४१

पोखरा ।
नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशन बिहीबारदेखि पोखरामा सुरु भयो । पोखरा जेसीजको आतिथ्यतामा ४ गतेसम्म पोखराको नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा चल्ने महाधिवेशनमा नेपालभरीका १ सय ६१ शाखाका अध्यक्ष, प्रतिनिधि तथा पर्यवेक्षक गरी १ हजार ५ सय जना सहभागी छन् ।

Advertisement


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशन उद्घाटन गरे । कार्यक्रममा विभिन्न १० विधाका १० उत्कृष्ट युवालाई नेपाल जेसीज पुरस्कार प्रदान गरियो । जेसीआइ शाखाका सिफारिसमा नेपाल जेसीजले उनीहरुलाई सम्मान गरेको हो । सो पुरस्कारबाट गायक प्रकाश सपुत, डा नवल पञ्जियार, पत्रकार दुर्गालाल केसी र पर्यटन व्यवसायी राजु कार्कीलाई सम्मान गरिएको छ ।


सामाजिक न्याय र समानताका गीत गाउने गायक सपुतलाई जेसीआई बागलुङले सिफारिस गरेको हो । स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल डा पञ्जियारलाई जेसीआई जनकपुरले सिफारिस गरेको छ । सूचना तथा सञ्चारको क्षेत्रबाट सम्मानित पत्रकार केसीलाई जेसीआई त्रिभुवन नगरले प्रस्ताव गरेको हो । पत्रकारले केसीले जाजरकोटको झाडा पखाला, सशस्त्र द्वन्द्वका पीडितको सवालमा उत्कृष्ट रिपोटिङ गरेका थिए । जेसीआई पर्वतको प्रस्तावमा पुरस्कृत पर्यटन व्यवसायी कार्की बन्जी जम्प सञ्चालक हुन ।


कृषि तथा पशुपालन क्षेत्रका सुदीप गौतम, साहासिक पर्यटन क्षेत्रबाट सगरमाथा आरोही प्रकाशराज पाण्डे, खेलकुदको क्षेत्रबाट भलिबल खेलाडी कमला पुनलाई सम्मान गरिएको छ । गौतमलाई जेसीआइ दमकले प्रस्ताव गरेको हो । पाटन लेडी जेसीजले सिफारिस गरेका पाण्डे कोभिड १९ को प्रकोपमा शव व्यवस्थापनदेखि साहासिक पर्यटन क्षेत्रमा सक्रिय छन् ।


राष्ट्रिय भलिबल खेलाडी पुनलाई जेसीआई म्याग्दीले प्रस्ताव गरेको हो । विज्ञान र प्रविधि क्षेत्रबाट डा जितेन्द्र उपाध्याय, सूचना प्रविधि तथा शिक्षा क्षेत्रबाट राजन लम्साल र देशको प्रतिष्ठा बढाउने काम गरेका अर्जुन रानाभाटलाई नेपाल जेसीज युवा पुरस्कारबाट सम्मान गरिएको छ । जेसीआई टीकापुरले प्रस्ताव गरेका डा उपाध्यायले जंगली च्याउ खाँदा हुन सक्ने जोखिमका बारेमा सचेतनामुलक कार्यक्रम चलाएका छन् । जेसीआई बुढानीलकण्ठले लम्साललाई र जेसीआई कालिकाले रानाभाटलाई सिफारिस गरेका छन् ।

Advertisement


नेपाल जेसीजको मानार्थ सदस्यता विजयराज सिग्देलाई प्रदान गरियो । जेसीआई सिनेटर सुदीपसिंह अधिकारी समारोहमा सम्मानित भए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले युवा बेरोजगारी मुख्य समस्या भएको औंल्याए । उनले युवाको नेतृत्व तथा व्यक्तित्व विकासका अलवा उद्यमशीलताका लागि प्रोत्साहित गरी स्वरोजगार बनाउन आग्रह गरे । ‘धेरै युवा सीप तथा दक्षता अभाव र राज्यको सहयोग नपाउँदा उद्यमी बन्न सकेका छैनन,’ मुख्यमन्त्री पोखरेलले भने, ‘युवा लक्षित कार्यक्रममा जेसीजले राज्यसँग सहकार्य गरे धेरै प्रभावकारी हुन्छ ।’
सांसद जगतबहादुर विश्वकर्माले राजनीतिक स्थिरता विना विकास र समृद्धि सम्भव नभएको बताए । उनले सबै क्षेत्रलाई विधि र मर्म अनुसार चलाउन जेसीज जस्ता संस्थाको सकारात्मक हस्तक्षेप आवश्यक भएको तर्क गरे ।


नेपाल जेसीज अध्यक्ष अरुणेश्वर खनालले महाधिवेशन लगायत सबै जेसीजका कार्यक्रम सिकाइका अध्याय भएको जनाए । वर्षभरीका कार्यक्रम समीक्षा गर्दै आगामी दिनका कार्यक्रम तय गर्ने उल्लेख गर्दै खनालले महाधिवेशनबाट धेरै विषयवस्तु सिक्न सहभागीलाई आग्रह गरे । उनले युवाको सहभागितामा विकास र समृद्धिका आधार तयार हुने दाबी गरे । युवा सक्षम भए परिवार, समाज र राष्ट्र सक्षम हुने चर्चा गर्दै उनले जेसीज तालिमको विश्वविद्यालय भएको तर्क गरे ।


कार्यक्रममा नेपाल जेसीज कार्यकारी उपाध्यक्ष भोजराज चापागार्इं, महासचिव विकास मानन्धर, महाधिवेशन निर्देशक ईश्वरप्रसाद कर्माचार्य, पोखरा जेसीज अध्यक्ष किरण केसी, निवर्तमान अध्यक्ष शिव सापकोटा, महासचिव भाइराजा राना, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेपाल जेसीज उत्कृष्ट युवा पुरस्कार छनोट समिति संयोजक मोहनलाल डांगी लगायतले बोलेका थिए ।


महाधिवेशनमा सहभागी तथा प्रतिनिधिलाई पोखराका पर्यटकीय स्थल घुमाउने, तालिम फेलोसिप लगायतका कार्यक्रम हुँदै छन् । महाधिवेशनबाट तेस्रो वार्षिक साधारण सभाबाट ५० औं राष्ट्रिय सम्मेलनको आतिथ्यता शाखाको निर्धारण लगायतका महत्वपुर्ण निर्णय गरिनेछ । चौथो वार्षिक साधारणसभामार्फत सन २०२२ का लागि नेपाल जेसीजको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।


अन्तिम दिन निर्वाचित नयाँ बोर्ड र निवर्तमान बोर्डको संयुक्त बैठक र नेपाल जेसीजको विधान अनुसार सन २०२२ का लागि राष्ट्रिय अध्यक्ष १, राष्ट्रिय कार्यकारी उपाध्यक्ष ४, राष्ट्रिय उपाध्यक्ष १२ निर्वाचित हुने छन् । नवनिर्वाचित अध्यक्षले अन्य पदाधिकारी मनोनित गर्ने प्रावधान छ । अन्तिममा ४८ औं राष्ट्रिय महाधिवेशनको घोषणापत्र जारी हुनेछ ।

तपाईको प्रतिक्रिया