समाधान संवाद

अर्काे महाधिवेशनमा योभन्दा माथि आँट गर्ने हो

सञ्जय रानाभाट २०७८ पुष ६ गते १५:४७


नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्रीमा जिेतपछिको अनुभूति सुनाउनुस् न !


पहिलो कुरा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली कांग्रेस पार्टीले समावेशी बनाउने नीति पास गरिसकेको थियो । २ वर्ष पहिल नै विधानमा दलित समुदायबाट पनि एउटा सहमहामन्त्री हुने कुरा पक्का भएको थियो । मैले मानसिक रुपमा पनि पहिलेबाट के कुरा तयार पारेको थिएँ भने सहमहामन्त्री पदमा मेरो विचार समूहले मलाई टिकट दिन्छ र मैले चुनावमा प्रतिस्पर्धा गर्ने हो । सो बमोजिम मैले टिकट पनि पाएँ । प्रतिस्पर्धामा भाग पनि लिएँ । मेरो दिमागमा चुनावमा भइसकेपछि हार या जीत हुनसक्छ भन्ने कुरा स्वाभाविक रुपमा अनुमान गर्नुपर्छ भन्ने थियो । म निर्वाचन जित्छु भन्ने कुरामा विश्वस्तचाहिँ थिएँ ।

निर्वाचन जित्ने आधार के थिए ?

Advertisement

मैले निर्वाचन जित्छु भन्ने विभिन्न आधारहरु थिए । विगत १०÷११ वर्षदेखि नेपाली कांग्रेसको विभिन्न प्रशिक्षण कार्यक्रमहरुमा म पुगेको थिएँ र प्रत्यक्ष रुपमा मतदाताहरुसँग टचमा रहेको थिएँ । अहिले कस्तो रैछ भने विभिन्न प्रतिनिधिहरु भोटरले डाइरेक्ट परिचय भएका मान्छेलाई अझै बढी मन पराउने देखियो । जसरी हाम्रो महामन्त्रीमा गगन थापा विश्वप्रकाश शर्मा एउटा मिडिया फ्रेन्ड्ली पनि हुनुहन्छ । उहाँहरु बढी टचमा पनि हुनुहुन्छ । योग्यहरु पनि देखिनुभएको भएको छ युवाहरुको सर्कलमा यस कारण पनि मलाई के विश्वास थियो भने म पनि अधिवेशन प्रतिनिधिहरुसँग टचमा छु । यस कारण पनि चुनाव जित्छु होला भन्ने मलाई पूर्ण विश्वास थियो । तथापि मसँग चुनावी प्रतिस्पर्धामा आदरणीय नेता पूर्वमन्त्री तथा सिनिएर नेता हुनुहुन्थ्यो, मानवहादुर विश्वकर्मालाई पनि मैले कम आँकलन गरेको थिइनँ । उहाँसँगको प्रतिस्पर्धा कडा हुन्छ भन्ने मेरो अनुमान थियो । नभन्दै कडा प्रतिस्पर्धामा ३७ मतले म विजय भएँ ।


नेपाली कांग्रेसको पदाधिकारीमा ६४ वर्षपछि दलितको उपस्थिति भयो । बिपी कोइराले पहिल्यै धनमानसिंह परियारलाई महामन्त्री बनाउनुभएको थियो । त्यति बेला वैधानिक बाध्यता थिएन । तर अहिले विधानमा व्यवस्था नभएको भए त्यो सम्भव नहुने रहेछ । तपाईं एउटा योग्य युवा नेता हुँदा हुँदै दलित कोटाबाट लड्नुपर्‍यो बाध्यतालाई कसरी हेर्नुभएको छ ।

Advertisement


एउटा कुरा सहमहामन्त्री पदमा उम्मेदवारी दिन्छुभन्दा पनि अर्को ठाउँ नै थिएन । सहमहामन्त्रीमा खुला भन्ने विकल्प छैन । खुला भएको भए म खुलामा जान पनि सक्ने थिएँ । सहमहामन्त्री पद हामीहरुले यसरी संरचना बनायौं कि निश्चित कोटामा बाहेक उम्मेदवारी हाल्ने ठाउँ छैन । एउटा बाध्यकारी व्यवस्था भएको कारणले मैले सहमहामन्त्रीमा उम्मेदवारी दिएँ । दोस्रो कुरा के हो भने केन्द्रीय सदस्य २ पटक भइसकेको हुँदा त्योभन्दा माथि जाने हो भने सहमहामन्त्री नै थियो । यस कारण पनि स्वाभाविक रुपमा मेरो उम्मेदवारी सहमहामन्त्रीमा रह्यो ।


दुईपटक केन्दीय सदस्य भइसकेको भए पनि तपाईंले छिट्टो छलाङ मारेको भनेर टिप्पणी गरेको पनि सुनिन्छ नि !


यस्तो छ । मान्छेले मेराबारे धेरै जानकार नभएका कारणले पनि यस्तो भनेका होला न जीवन परियार पार्टीको केन्द्रीय सदस्य २ पटक भयो कतिलाई थाहा नै नहोला पनि । म त ६७ सालको १२ औं महाधिवेशनबाट इलेक्टेड भएर केन्द्रीय सदस्य भएँ । कसैले नोमिनेट गरेर गएको पनि होइन । त्यति बेला सुशील कोइराला सभापति हुनुहुन्थ्यो । १३ औं महाधिवेशनमा पनि निर्वाचन जितेर देउवाको कार्यकालमा पनि काम गरेँ । दुईवटा जोड्दा ११ वर्ष नेपाली कांग्रेस केन्द्रीय समितिमा रहेर काम गरेँ । एउटा अनुभव छ । त्योभन्दा माथिल्लो पदमा उम्मेदवारी दिने भनेको सहमहामन्त्रीभन्दा बाहिर थिएन । तर सहमहामन्त्री खुला भन्ने विकल्प विधानमा व्यवस्थै छैन । त्यो सहमहामन्त्री कि महिला कोटा थियो, कि खसआर्य थियो, मधेसी थियो, थारु थियो र पिछाडिएको क्षेत्र थियो । त्यो अरु ठाउँमा त मैले हाल्न सक्ने ठाउँ थिएन । बाध्यकारी व्यवस्था भयो । यसैले मैले दलित कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएँ ।


महाधिवेशनको नतिजा हेर्दा नयाँ पुस्तालाई कार्यकर्ताले मन पराएको देखिन्छ । यति हुँदा हुँदै पनि मूल नेतृत्व परिवर्तन गर्न सक्नुभएन । किन होला ?


एउटा कुरा नेपाली कांग्रेसको महाधिवेशनको सन्दर्भमा वडादेखि क्षेत्रीय प्रतिनिधि चयन गर्ने हाम्रो विधानमा व्यवस्था छ । वडाबाट आएको क्षेत्रीय प्रतिनिधिले संघीय निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट गर्न पाउने व्यवस्था छ । यसरी १६५ निर्वाचन क्षेत्र लगायतबाट महाधिवेशन प्रतिनिधिहरु आउनुभयो । प्रतिनिधिहरुको सबै संख्या जोड्दा हेर्दा अलि ठूलो संख्याले सभापतिमा फेरि देउवालाई रोज्नुभयो । दोस्रो कुरा, सभापतिको उम्मेदवार ५ जना हुनुहुन्थ्यो । ५ जनामध्ये पहिलो र दोस्रोको पुन निर्वाचन भयो । तेस्रो चौथौं र पाँचौं हुने व्यक्तिले पहिलोलाई छनोट गर्नुभयो । यस्तो हुँदा स्वाभाविक रुपमा देउवाले जित्नुभयो । दोस्रो हुने पार्टी सभापतिको उम्मेदवार डाक्टर शेखर कोइराला निर्वाचित हुने अवस्था रहेन ।


नयाँ टिम हुँदा हुँदा तपाईंहरुले एउटा साझा उम्मेदवार खडा गर्न नसक्नु नै पराजयको कारण देखिन्छ । यसमा तपाईंको टिमले कसरी समीक्षा गरेको छ ?


१३ औं महाधिवेशनबाट निर्वाचित सभापतिबाट इतरमा रहेका जति पनि नेताहरु हुनुहुथ्यो, सबैलाई एकै ठाउँमा राख्न हामीहरुले पनि सकेनौं । एउटा कमजोरी त्यो बन्यो । वर्तमान सभापतिलाई विस्थापित गराउने हो भने सबैजना एक ढिक्का भएर लाग्नुपर्ने थियो । यो पनि हुन सकेन । यसैले गर्दा हामीहरुले त्यो विधि प्रक्रियामा अगाडि बढेर एउटा अभ्यासमा आइपुगेपछि शेरबहादुर देउवा नै सभापति निर्वाचित हुनुभयो । यस कारण उहाँका बारेमा थप टीकाटिप्पणी गर्नु त्यति उचित हुन्छ जस्तो मलाई लाग्दैन ।


पदाधिकारीमा तपाईंहरुको उपस्थिति केही त भयो, तर टोटलमा संस्थापन पक्ष नै हावी भयो । अब पार्टी रुपान्तरणको एजेन्डा पूरा गर्न कस्तो खालको चुनौती देख्नुहन्छ ?


१३ औं महाधिवेशनबाट १४ औं महाधिवेशनमा आइपुग्दा धेरै किसिमका हाम्रो समस्याहरु देखिएका छन् । ती समस्याहरुको चाहिँ हामीले एकपटक समीक्षा गर्नु जरुरी छ । हामीले विगतमा केके काम गर्न सक्यौं । के के ग¥यौं । के के गर्नुपर्ने थियो । कसरी अगाडि बढ्नुपर्ने थियो । यसका एजेन्डाहरु हामीले केलायौं भने १४ औं महाधिवेसनपछि १५ महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्न सजिलो होला । यो अधिवेशनमा नीतिगत र वैचारिक कुनै बहस गर्न सकेनौं । कुनै दस्तावेजहरु हामीले पारित गर्न सकेनौं । ४ वर्षको कार्यकाल हो । यो ४ वर्षभित्र नेपाली कांग्रेसको कार्यकाल भित्र कस्तो खालको नीति अख्तियार गर्ने कसरी अगाडि बढने ? यी विषयमा नेपाली कांग्रेस केन्द्रीय समितिले एउटा नीतिगत अवधारणा बनाएर महाधिवेशबाट या महासमितिबाट पारित गरेर त्यो नीतिमा कांग्रेस पार्टी अगाडि बढ्नुपर्छ ।


पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढ्ने स्वभावका हुनुहुन्छ । त्यसले तपाईंहरुको अवधारणा र एजेन्डा स्थापित गर्न कत्तिको चुनौती होला ?


पार्टी सभापति हिजोकै परिस्थितिमा हुनुहुन्न । उहाँ हिजोको जस्तो कम्फर्टेबल अवस्थामा देखिनुहुन्न । अथवा हिजो उहाँले देखे पनि नगरे पनि हुने भयो होला अथवा नजिकका साथीहरुले यही खालको सल्लाह पनि दिनुहुन्थ्यो होला । तर त्यो सुविधा अब पार्टी सभापतिलाई छैन जस्तो लाग्छ मलाई । यसको मतलब कांग्रेस पार्टी बलियो बनाउने कुरा राम्रो काम गर्ने कुरा कांग्रेस पार्टीले राम्रो काम गर्ने कुरामा सभापति बाधक बन्नुहुन्छ जस्तो मलाई लाग्दैन । उहाँ व्यक्तिगत रुपमा असल हुनुहुन्छ । तथापि उहाँको विचमा जुन गतिविधि देखियो । केही कमजोरी आएकै कारणले एउटा समूहले परिवर्तन गर्नुपर्छ भनेर एजेन्डा उठाएको हो । सभापतिले विगतका कमी कमजोरीलाई आत्मसात गरेर अगाडि बढ्नुभयो भयो भने, मलाई लाग्दैन कि हामीहरु जति नयाँ अनुहारको पदाधिकारी आएको छौं । हामी पुरै समय सभापतिलाई सहयोग पु¥याउने नीति निर्देशनलाई कार्यान्वयन गर्ने दिशातिर जान्छौं । एक ढिक्का भएर लाग्छौं ।


वर्तमान सरकारमा कांग्रेसभित्र दुईवटा धार देखिन्छ । गठबन्धन चाहिँ चुनावसम्म जानुपर्छ र चुनावपछि सम्म जानुपर्छ भन्ने छ । गठबन्धनलाई अगाडि नबढाउने एउटा धार पनि देखिन्छ । तपाईंको व्यक्ति बिचार के छ ?


वास्तवमा मैले मेरो व्यक्तिगत कुरा गर्छु । कुनै निर्णय नभएकाले मैले बोल्न मिल्दैन । जीवन्त राजनीतिक पार्टीले विचार र दर्शनलाई लिएर जनतासँग जाने हो । निर्वाचन भनेको कुरा के हो त भने कुनै पनि राजनीतिक दलको एउटा विचार दर्शन हुन्छ । एजेन्डा हुन्छ । एजेन्डा दिए भने राज्य सत्तामा जाने हो । दिएनन् भने प्रतिपक्षमा बस्ने हो या पछाडि जाने हो । यस कारले गर्दा टेक्निकल रुपमा केही दलसँग सहकार्य गर्ने मिलेर जाने गठबन्धन गर्ने एउटा दक्षिण एसियामा नै प्राक्टिसमा छ । यस कारणले पनि हाम्रो पार्टीले पनि विगत स्थानीय तहदेखि अन्य निर्वाचनहरुमा गठबन्धनहरुमा गरेको छ । अहिले पनि केही राजनीतिक दलहरुले गठबन्धन गरेर जानुपर्छ भन्नुभएको छ । यसैले गर्दा निर्वाचनको सम्मुखमा आइसकेपछि दलबीचमा कुन खालको सहमति गर्ने या नगर्ने विषयमा त्यति बेला छलफल गर्दा ठिक होला ।


तपाईं माओवादी द्वन्द्वकै कारण शिक्षण छाडेर राजनीतिमा सक्रिय भन्ने पनि सुनिन्छ । २०७४ सालमा प्रदेश सभाको निर्वाचनमा कास्की १ (क)मा तपाईं माओवादी उम्मेदवारसँग पराजित हुनुभयो । यस कारण पनि तपाईंको विचार फरक छ कि ?


म राजनीतिमा माओवादीको कारण होइन । म माओवादी पार्टी नजन्मिदै नेपाल विद्यार्थी संघको राजनीतिमा थिएँ । होला मलाई मओवादी द्वन्द्वका बेलामा केही अप्ठेरो भयो होला । कतिपय घरायसी अवस्था पनि । शिक्षण पेसा बाध्यता पनि थियो । मेरै गाउँको कालिका माविमा मैले डेढ वर्ष शिक्षण पनि गरेँ । शिक्षण पेसा माओवादीका कारणले छोड्नुपर्ने थियो पनि थिएन भन्ने कुरामा मलाई जबरजस्ती छुटाइएको होइन । मैले रिजाइन दिएर हिँडेको हो । मेरा लागि अन्य अवसरका बाटाहरु पनि थिए । यस कारले गर्दा मओवादी द्वन्द्वका कारणले छोडेको भनेर माओवादी पार्टीलाई आरोपित गर्न चाहन्न । कतिपयले शिक्षण पेशामै लागेको भए यो पद प्राप्ति पनि हुन्थेन होला भन्छन् । तर, मान्छेको जीवनमा करिअर बनाउने कुरामा चाहिँ अगाडि बढाउने कुरा विविध कुराहरु हुन्छ । मेरो व्यक्तिगत कुरा भन्ने हो भने मओवादीसँग कुनै दुश्मनी पनि थिएन । एउटा विचार र दृष्टिकोणबाट चलेर विचार राख्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता थियो । यसमा विमति थिए होलान । त्यति भयो होला ।


प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव अर्काे वर्ष होला । अबको तपाईंको आकांक्षा के हो ।


एउटा कुरा मैले मात्रै पदमा आंकाक्षा राखेर हुँदैैन । यसका लागि पार्टीले पनि मूल्यांकन गर्छ होला । साथीभाइको मूल्यांकन पनि हुन पर्‍यो । पार्टीले जे निर्णय गर्छ । जे आवश्यकता ठान्छ त्यसरी नै अगाडि बढ्छु । लड्छु या लड्दिन भन्ने कुरामा मेरा कुनै धारणा छैन ।


तपाईंको यसपछिको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ ?


यति छिटो मैले ४ वर्षपछिको भविष्यका बारेमा अनुमान गरेँ भने त्यति राम्रो हुँदैन । तथापि म मेरो करिअरलाई राजनीतिक क्षेत्रमै अगाडि बढाउने हो । अहिले भइरहेकोभन्दा माथि आँट गर्ने हो । यस कारणले पनि गर्दा ती ठाउँमा आफ्नो पहुँच बढाएर देश र जनताका लागि केही गर्छु भनेर विचार बोकेर हिँडेको व्यक्तिले अहिले सहमहामन्त्री पदमा ४ वर्ष काम गर्न पाउँछु । त्योभन्दा माथिल्लो पदमा गएर पनि आफ्नो पार्टीमा जिम्मेवार पदमा पुगेर देश र जनताका लागि काम गर्ने हो । जहिले पनि म अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया