म्याद सकिन लाग्यो, ठेकेदार हराए

राकेश शर्मा २०७८ पुष ८ गते ११:३८

Advertisement

म्याग्दी ।
म्याग्दीका ३ पालिका जोड्ने बेनी–दरबाङ सडक आयोजनाको पहिलो खण्डको बेनी तातोपानी खण्ड कालोपत्र हुँदै छ । तर तेस्रो खण्डको काम भने आधामात्र सकेर निर्माण व्यवसायी सम्पर्क विहीन छन् ।


निर्माण व्यवसायीले समयमा नै काम नगरेपछि सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । मंगला, मालिका र धवलागिरी गाउँपालिकाको केन्द्र जोड्ने २४ किलोमिटरको बेनी दरबाङ सडक खण्ड अन्तर्गत मंगलाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटरमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । यो खण्ड बनाउन बिरुवा क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २०७६ जेठ ३१ मा २२ करोड ५७ लाख ९ सय ३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

Advertisement


गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । सडक समयमा नसकिएकोमा स्थानीय आक्रोशित छन् । निर्माण कम्पनीका कामदारले समेत त्यहाँ खाँदाबस्दाको रकम तिरेका छैनन् । मजदुरलाई खाना खुवाएको ५ लाख रकम बाँकी रहेको स्थानीयबासी दुर्गा सुवेदीले बताइन् । उनले भनिन्, ‘असार मसान्तमा दिन्छौं भने । रासन लिएको ठाउँमा ऋण खोजेर तिरें तर कहिले दिन्छन् खै ?’


घाम लाग्दा धूलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले उनी आजित छिन् । समयमा नै काम गर्न धेरै पटक दबाब दिए पनि सुनुवाइ नभएको प्रकाश गुरुङ दाबी गर्छन् । उनले भने, ‘खोलामा ठेक्कामार्फत् ढुंगा, बालुवा निकाल्दा बस्ती नै जोखिममा परेको छ । हामीले बस्ती जोखिममा हुँदा पनि सडक निर्माण गर्न दिएका थियौं । तर काम नै अलपत्र पारेर ठेकेदार सम्पर्क विहीन भएका छन् ।’


सडकमा बर्खामा खसेको पहिरो नहटाउँदा बाटो साँघुरो भएको छ । सडक निर्माणको काम पछिल्लो ८ महिनायता ठप्प छ । बलौटेमा म्याग्दी नदीले कटान गरी जोखिम बढाएको छ । सवारी चालक पदम भण्डारी गाडी चलाउने निकै सकस हुने सुनाउँछन् । भन्छन्, ‘गाडी पूरै ठोकिन्छ, बर्खाको समयमा निकै गाह्रो हुन्छ, हिउँदको समयमा धुलोले हिडी नसक्नु हुन्छ ।’ उनले सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको जनाए ।


यो सडक पूर्वाधार विकास कार्यालयले ३ प्याकेजमा स्तरोन्नति गरिरहेको छ । २०७८ जेठमा सकिनुपर्ने लाम्पाटा दरबाङ खण्डमा हालसम्म ५० प्रतिशतमात्र भौतिक प्रगति भएको छ । थप गरिएको सम्झौता पनि चैतसम्म मात्र छ । अहिलेसम्म निर्माण व्यवसायी पटक पटक ताकेता गर्दासमेत कार्यक्षेत्रमा फर्केका छैनन् ।


पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बेनी तातोपानी र लाम्पाटा दरबाङ खण्डको सम्झौता चैतमा सकिने जानकारी दिए । उनले भने, ‘काम सम्पन्न गर्न चुनौती देखिएको छ । बेनी तातोपानी खण्डको काम यही गतिमा हुने हो भने चैतसम्म सकिने देखिन्छ ।’ लाम्पाटादरबाङ खण्डका निर्माण व्यवसायीले एक हप्तामा काममा फर्कने प्रतिवद्धता गरेको उनले सुनाए । बीचको खण्डको पनि छिट्टै काम सुरु गरिने उनले दाबी गरे । यता, समानान्तर–लामा जेभीले जिम्मा लिएको तातोपानी खण्डको कालोपत्र अन्तिम चरण पुगेको छ ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया