गण्डकीमा ८८ प्रतिशतलाई खोप

अभिषेक अधिकारी २०७८ पुष ८ गते ११:५६

पोखरा ।
पछिल्लो २४ घण्टामा १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा कास्कीमा १४ र तनहँुमा २ जना छन् । पछिल्लो ५ दिनमा संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।


प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशभर पछिल्लो २४ घण्टामा नै १७ जना संक्रमण मुक्त भएका छन् । १ सय ६३ जना सक्रिय संक्रमित रहेको निर्देशालयको विज्ञप्तिमा उल्लेख छ । योसँगै प्रदेशभर संक्रमित संख्या ८८ हजार ३ सय ३२ पुगेको छ । हालसम्म मृत्यु संख्या १ हजार ४ सय २५ छ ।


प्रदेशभर कोभिड विरुद्धको दुवै मात्रा खोप लिनेको संख्या ११ लाख १२ हजार रहेको र १४ लाख ७२ हजार जनाले खोप लिएको निर्देशनालयले जनाएको छ । नेपालमा हालसम्म ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप आयात भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप नेपालले प्राप्त गरेको छ ।

Advertisement


नेपालमा आएको खोपमध्ये हालसम्म २ करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा खोप लगाई सकिएको छ । जसमध्ये कम्तीमा १ मात्रा खोप प्राप्त गर्नेको संख्या १ करोड २४ लाख ४५ हजार ९ सय ३० जना छन् । त्यसैगरी पूर्ण खोप प्राप्त गर्नेको संख्या ९७ लाख ८२ हजार २ सय ४७ पुगेको छ ।


गत वर्षदेखि हालसम्म आएका खोप मध्येमा ९३ लाख १७ हजार २ सय ९९ डोज खोप भण्डारणमा छन् । केन्द्रीय, प्रदेशसहित ९३ लाख बढी डोज भण्डारणमा छ । हाल ५७ जिल्लामा भने मोडर्ना खोपको पहिलो मात्रा चलिरहेको छ ।

Advertisement


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. खिमबहादुर खड्काका अनुसार सबै ११ जिल्लाका ८८ प्रतिशतले पहिलो डोज खोप पाइसकेका छन् ।

हिमाली जिल्ला मुस्ताङ र मनाङ पूर्ण खोपयुक्त भएका छन् । त्यहाँ लक्ष्यको १ सय ७५ प्रतिशतमा खोप पुगेको निर्देशनालयको तथ्यांक छ । ती जिल्लामा जनसंख्या अति न्यून छ । मुस्ताङमा १३ हजार ५ सय ९१ जनाले दुवै डोज खोप लगाइसकेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा खड्का जिल्लामा माग अनुसार खोप आपूर्ति भइरहेको बताउँछन् । भन्छन्, ‘खोपको कुनै अभाव छैन, दिनदिनैजसो लगाइरहेका छौं, बालबालिकालाई खोप लगाउन सुरु गरिसकिएको छ ।’ स्याङ्जा, पर्वत, मुस्ताङ, बागलुङ, म्याग्दी लगायतमा बालबालिकाका लागि पनि खोप सुरु भएको खड्काले जनाए ।


यता, नेपालमा तेस्रो व्यक्तिमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । ९८ वर्षीया वृद्धामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको हो । संक्रमित वृद्धा होमआइसोलेसनमा छिन् भने उनीसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक ट्रेसिङ भइरहेको छ ।

तपाईको प्रतिक्रिया